काठमाडौं । विश्व नै कोभिड–१९ को महामारीमा परेको छ । यो महामारीले पछिल्लो समय राजधानी काठमाडौंमा व्यापकता लिएको छ । दैनिक डेढ सयभन्दा बढी उपत्यकामा कोरोना संक्रमित भेटिएका छन् । कोरोना संक्रमणबाट जोगिन र जोगिने उपायहरु विभिन्न माध्यमबाट आइरहेका छन् । तर त्यसलाई जनमानसबाट बेवास्ता हुने काम भइरहेको छ ।
यही बेला काठमाडौं प्रवेशको मुख्य नाका चन्द्रागिरि नगरपालिकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड नमान्नेलाई एक हजार रुपैयाँसम्म जरिवना गर्ने निर्णय गरेको छ ।
नगरपालिकाकोे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगरपालिकाभित्रका ६ वटै विषयगत समितिका प्रमुखसहितको बैठकले बढ्दो कोरोना सङ्क्रमणलाई ध्यान दिई स्वास्थ्य मापदण्ड नमान्नेलाई जरिवनै गराउने निर्णय गरेको हो ।
नगरपालिकाले नेपाल सरकारले गरेको निर्णयबमोजिम तीजलगायत आउँदै गरेका चाडपर्व आफ्नै घरभित्र रही जनस्वास्थ्य मापदण्ड पालना गरेर आ–आफ्नो परिवारका सदस्यमात्र मनाउने निर्णय गरेको छ । सो निर्णय नमान्नेलाई जरिवना गराउने जनाएको छ ।
नगरपालिकाका प्रमुख घनश्याम गिरिले चन्द्रागिरिमा विदेश वा अन्य जिल्लाबाट आउने व्यक्तिले अनिवार्य रुपमा पीसीआर परीक्षण आफ्नै खर्चमा गर्नुपर्ने र २१ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने बताउनुभयो । “मास्क नलगाई निषेधित क्षेत्र, सार्वजनिक स्थलमा प्रवेश गर्ने व्यक्तिलाई सय रुपैयाँ जरिवना गरी दुईवटा मास्क उपलब्ध गराउने निर्णय भएको छ,” उहाँले भन्नुभयो ।
चन्द्रागिरिभित्र सञ्चालित अत्यावश्यक सामाग्रीका पसलले आफ्नो पसल अगाडि डोरी लगाउनुपर्ने, मास्क, पञ्जालगायत स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, भौतिक दूरीका लागि मार्किङ गरेको हुनुपर्ने अन्यथा एक हजारसम्म जरिवना गर्ने नगरपालिकाले निर्णय गरेको छ ।
अनाधिकृत रुपमा पार्किङ गर्ने गाडी र सडकमा सामग्री राखी व्यापार गर्ने पसललाई नगरपालिकाको आर्थिक ऐन, २०७७ बमोजिम जरिवना गर्ने र सुरक्षा निकायबाट कार्यान्वयन गराउने पनि सोही बैठकले निर्णय गरेको छ ।
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाका बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त निर्णय गरेको जानकारी दिनुभयो । यस्तै, चन्द्रागिरिले जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशअनुसार भदौ १५ गतेसम्मका लागि जात्रा महोत्सव, खुला स्थानमा भेला हुनसमेत निषेध गरेको छ ।
उक्त आदेशमा शैक्षिक संस्था सञ्चालन गर्न, होटल रेष्टुराँ, चिया पसल बन्द गर्न, सटर, ढोका अगाडि सामान राखेर बिक्रीवितरण गर्न, स्वास्थ्य मापदण्ड विपरित श्रमिक कामदार ओसारपसार गर्न, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, व्यूटीपार्लरलगायत सञ्चालन गर्न निषेध गरेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
