काठमाडौ । स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठकबारे अध्यक्षद्वय सहमतिमा आउन बाँकी नै छ ।
यसपछि स्थायी समिति बैठक बसेर निर्णयमा पार्टी जाला–नजाला ।
अध्यक्षद्वयबीच देखिएको विमति र विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृृत्वमा ६ सदस्यीय कार्यदल बनेको छ । कार्यदलको सिफारिसअनुसार पार्टीमा सहमतिका लागि शीर्ष नेताहरुबीच छलफल हुनै बाँकी छ ।
तर यतिखेर यिनै कार्यदलमा भएका सदस्यहरु नयाँ मन्त्रिमण्डलमा पर्ने खबरहरु पनि सुनिएका छन् ।
यसपटक मन्त्रिमण्डलमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भूसाल, जनार्दन शर्मा पनि समावेश हुने खबर आएपछि नेकपाका अन्य थुप्रै हेभिवेट सांसदहरु अलमलमा परेका छन् ।
यसपटक मन्त्रिमण्डलमा परिने आशामा रहेका मध्ये अग्रपँक्तिमा छन्, पाँच पटक सांसद भएका मकवानपुरका हेभिवेट नेता विरोध खतिवडा ।
सांसद खतिवडा विद्यार्थी राजनीतिदेखि नै लोकप्रिय नेता हुन् ।
नेपाल ल क्याम्पसमा स्ववियु सचिव हुँदै कानुन व्यवसायी रहँदा २०४८ को आमनिर्वाचनमा मकवानपुरबाट निर्वाचित सांसद हुन् । तत्कालील संसदमा दमननाथ ढुंगाना, विरोध खतिवडा, जेपी भेट्वाल (हाल दिवंगत) र हृदयश त्रिपाठीको चर्चै बेग्लै हुन्थ्यो ।
सार्वजनिक लेखा समितिमा रहेर कार्य गरिसकेका खतिवडा २०५१, २०५६ मा पनि मकवानपुरबाट निर्वाचित सांसद हुन् । यस्तै, २०६३ मा प्रतिनिधि सभा पुनःस्थापना हुँदा पनि परेका सांसद हुन् ।
२०६४ र २०७० को निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि राष्ट्रिय सभा जाने र अन्य नियुक्ति खाने रहर पनि नगरी पार्टी काममा क्रियाशील खतिवडा नेकपा केन्द्रीय सदस्य र मकवानपुर पार्टी इञ्चार्ज हुन् ।
परिवारै राजनीतिमा होमिएका उनका पिता बद्रीप्रसाद खतिवडाको नेपाली राजनीतिक र शैक्षिक आन्दोलनमा बेग्लै नाम छ । श्रीमती मुनु सिग्देल हाल पार्टी जिल्ला अध्यक्ष हुन् ।
२०७४ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित सांसद खतिवडा संसदमा पाँचपटक रहेका नेकपाका एक्ला सांसद हुन् । लगातार सांसद भए पनि आफूभन्दा कनिष्ठहरु मन्त्री हुँदा खतिवडाको पालो आएन मात्र होइन, पालो पाउँ भन्दै कतै घुमेनन् पनि ।
सभामुखबाट कृष्णबहादुर महराको बहिर्गमनपछि बनेको मन्त्रिमण्डल हेरफेरमा विरोध खतिवडा मन्त्री बन्ने अनुमान गरिएको थियो । तर अरुको नाम परे ।
यसपटक फेरि प्रधानमन्त्री मन्त्रिमण्डल विस्तारको तयारीमा रहँदा मकवानपुरले मन्त्री पाउने अपेक्षा गरिएको छ ।
राष्ट्रिय सभा सदस्य रामनारायण विडारी भन्छन् ‘२०३८ सालदेखि २०७४ सम्म मकवानपुरमा वामपन्थीहरुले जिते तर कहिले पनि मन्त्री पाइएन, यसपटक मकवानपुरलाई मौका दिनुपर्छ, पार्टी नेतृत्वले बुुझ्नुपर्छ ।’
२०३८ मा रुपचन्द्र विष्ट, २०४८ मा विरोध खतिवडा, २०६४ मा नेकपा माओवादीका तर्फबाट चार सांसद विजित बने । २०७० पनि चार निर्वाचन क्षेत्रमध्ये ३ निर्वाचन क्षेत्र नेकपा एमालेले जितेको थियो । २०७४ मा मकवानपुरको दुवै निर्वाचन क्षेत्रमा साविकको एमालेबाट कृष्णप्रसाद दाहाल र विरोध खतिवडा निर्वाचित भए । दाहाल अर्थ समितिमा सभापति छन् ।
अरु पार्टीबाट जित्ने जस्तै राप्रपा अध्यक्ष कमल थापा पटकौं मन्त्री र उपप्रधानमन्त्री, कांग्रेसका इन्द्र बानियाँ, डिला उपाध्यायसमेत मन्त्रिमण्डलमा परेका अनुहार हुन् ।
केहीदिन अघि मकवानपुरमा भएको भेटघाटमा पत्रकारहरुले सोधे, विरोध खतिवडालाई- ‘तपाईं मन्त्री बन्ने कहिले ?’
खतिवडाको सपाट जवाफ थियो, ‘पार्टी विधिविधानमा हिँड्छ भन्ने विश्वास गर्ने व्यक्ति हुँ, एक दिन मेरो पनि पालो आउला ।’
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसहित पार्टी शीर्ष नेताले खतिवडालाई नजिकैबाट नचिनेको होइन । जेलमा ओलीसँगै मोदनाथ प्रश्रित, खतिवडालगायतसँगै रहेको र निकै निकटको व्यवहार पनि भएको नेताहरु बताउँछन् ।
प्रश्रितको पुस्तकमा विरोध खतिवडाको पनि कविता छ ।
तत्कालीन एमालेको नवौँ महाधिवेशनमा खतिवडा माधवकुमार नेपालको पक्षबाट केन्द्रीय सदस्य उठे, जिते पनि ।
पार्टीभित्र कुनै एउटा कित्तामा उभिनु अन्यथा होइन । त्यसमा पनि खतिवडा पार्टी बलियो हुनुपर्छ भनी वकालत गर्ने र नेतृत्वलाई खबरदारी गर्दै साथ दिने काममा तल्लीन रहे ।
पछिल्लो समय नेकपाभित्र भइरहेको खिचलोमा पार्टीका खेमा नेताले शीर्ष नेतृत्वलाई खुइल्याउन तथ्यहीन र अपमानजनक शब्द बोलिरहँदा खतिवडा भने पार्टीलाई कमजोर पार्न हुँदैन, फुटतिर लाग्नुहुँदैन भनिरहे । नेतृत्व खुइल्याउने प्रवृत्तिको विरोध गरिनै रहे ।
यस्ता अब्बल नेता अब अन्यायमा पर्नुहुन्न ।
यतिखेर विरोध खतिवडालाई मन्त्री दिनुपर्छ भनेर अरुले भनिरहनै पर्दैन । तीन शीर्ष नेता प्रधानमन्त्री ओली, पुष्पकमल दाहाल र नेपाल खतिवडाबारे जानकार छन् ।
राष्ट्रिय सभा सदस्य विडारी थप्छन्, ‘जिल्ला सधैँ कम्युनिष्टले जित्ने तर मकवानपुरले मन्त्री नपाउने अवस्था यसपटक तोडियोस् ।’
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
