बुटवल । रूपन्देहीको बुटवलमा क्यान्सरबाट पीडित एक बिरामी महिलाको मृत्युपछि मलामी गएका सबैमा कोरोना संक्रमण देखिएको छ । गाउँभरि संक्रमण देखिँदा स्थानीयवासी त्रासित बनेका छन् । परिवारका सदस्यदेखि अन्तिम संस्कारमा संलगन पण्डितसम्म संक्रमित भएको स्थानीयले बताए ।
प्रहरीका अनुसार साउन १८ गते बुटवल उपमहानगरपालिका ११ कालिकानगरकी ४९ वर्षीया महिलाको चितवन भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो। क्यान्सर उपचारमा अस्पताल भर्ना भएकी ती महिलाको त्यही मृत्यु भएको थियो । मृत्युपछि परिवारले कोरोना परीक्षण गर्न पर्छ कि भनेर अस्पताललाई सोधेका थिए। केमोथेरापीका क्रममा हृदयाघातबाट मृत्यु भएकाले स्वाब संकलनतर्फ लागिएन ।
अस्पतालले आत्मविश्वासका साथ शव दिएपछि परिवारले आफ्नो चलनअनुसार अन्तिम संस्कार गर्यो । सामान्य मृत्यु ठानेर छिमेकी, नातागोता र गाउँले मलामी गए । त्यसको केही दिनमै मृतकका देवरलाई कोभिड–१९ को लक्षण देखियो। रुघा लाग्ने, ज्वरो आउने र पखाला लाग्ने हुन थालेपछि शंका लागेर उनको परीक्षण गर्दा साउन २२ गते रिपोर्टमा कोरोना पुष्टि भयो ।
त्यसपछि भने दाहसंस्कारमा गएका अरुमा पनि त्रास फैलियो । सबैको होसहवासै गयो । बुटबल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीका अनुसार परीक्षण गराउँदा उनीहरुमा पनि पोजेटिभ देखियो । ‘उक्त दिन करिब ४५ जना मलामीको कन्ट्याक्ट ट्रेसिङबाट पाइएको छ, बुटवल उपमहानगरपालिकाको परीक्षणमा मात्र १५ जनाको रिपोर्ट पोजेटिभ आयो, अन्य केहीले निजीमा गराउँदा पनि पोजेटिभ आएको छ,’ प्रमुख सुवेदीले भन्नुभयो ।
सुरुमा नगरले नमुना परीक्षण गर्दा देवरमा पोजेटिभ आयो अनि परिवारलाई अन्तिम संस्कारमै सजग हुन भनिएकाले समुदायमा फैलिएर व्यापक हुनसक्ने अवस्थाबाट बँचेको उहाँको भनाइ छ । मृतकका देवर स्थानीय नेता भएकाले उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पार्टी कार्यालय सिल गरिएको थियो । ‘मृतक महिलामा कोरोना भएका कारण अरूमा सर्यो कि उनका देवरबाट अरूलाई संक्रमण फैलियो भन्ने यकिन भइसकेको छैन । सुवेदीका अनुसार यसको खोजी भइरहेको छ । त्यसो त मलामी गएर काठमाडौ पुगेका एक जनामा पनि कोरोना स.क्रमण भेटिएको छ ।
वुटवलमा अहिले १ सय ४४ जना संक्रमित रहेका छन् । यीमध्ये ३० जना ती महिलाको मलामी गएका व्यक्तिहरु नै हुन । ती महिलाको अन्तिम संस्कारमा सहभागी पण्डितसम्म सक्रमण देखिएको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
मृतकका परिवार सबैमा संक्रमण देखिएको छ, ७८ वर्षकी सासुमा समेत पोजेटिभ देखिएको छ । त्यसैगरी मृतकका श्रीमान, छोरा, ज्वाइँ, आमा तथा छोरीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै देवरतर्फ चार जनामा संक्रमण पुष्टि भएका छन् । एक जना ज्वाइँलाई समेत कोरोना पुष्टि भएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
