काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । देशभरका ४५ प्रयोगशालामा ११ हजार १ सय २९ जनाको पीसीआर गर्दा उक्त संख्याका संक्रमित भेटिएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४ सय ६० जना पुगेको छ । जसअनुसार आजसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पीसीआर परीक्षण भइसकेको छ ।
देशभर हाल विभिन्न जिल्लामा १७ हजार ८ सय २२ जना सक्रिय संक्रमित छन् । यस्तै क्वारेन्टाइनहरुमा ७ हजार ३ सय ३७ जना रहेका छन् । यस्तै आइसोलेसनमा १० हजार ७ सय १ जना छन् भने होमआइसोलेसनमा ७ हजार १ सय २१ जना रहनु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी गराउनु भएको हो । त्यस्तैगरी सोमबार १७ जनाको भेन्टिलेटरमा राखेर कोरोनाको उपचार भइरहेको छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्ने क्रम सोमबार कायम रह्यो । काठमाडौं उपत्यकामा आज २ सय ९८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौं जिल्लामा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाउनु भयो ।
उहाँका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ८८ जना कोरोना उपचारपछि घर फर्कन सफल हुनु भएको छ । योसँगै नेपाल कोरोना संक्रमणपछि सफल उपचार गरेर घर फर्कनेको संख्या २१ हजार ४ सय १० जना पुगेको छ । यो भनेको कुल संक्रमितको ५४ प्रतिशतलाई निको भएको हो ।
यसैगरी आज पनि ७ जनाको दुखद निधन भएको छ । उहाँहरुमा ३ जना महिला हुनुहुन्छ भने ४ जना पुरुष हुनुहन्छ । योसहित आजसम्मको मृतकहरुको संख्या २२८ पुगेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
