बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत दुईजना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा नवलपरासी र बुटवलका एक महिला र एक पुरुषको मृत्यु भएको हो ।
नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो । दुवैमा ज्वरो र श्वास प्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा. गौतमले बताउनुभयो ।
योसँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । बुटवल उपमहानगरका मात्रै ६ जनाको ज्यान गएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
