सबैले फालेको फोहोर बटुल्ने
खाते भन्छन् मलाई ।
त्यही फोहोर पनि नपाए
भोको राख्छु पापी पेटलाई ।
गर्मी/जाड़ो बिलाउँछ
फोहोरको पहाडमा ।
रमाउने मैदान मेरो
यही फोहोरको थुप्रोमा ।
प्रतिस्पर्धा हुन्छ यहाँ पनि
कठै ! खाली बोरा मेरो ।
ख़ुसी हुन्छु तब मात्र आहा !
जब भरिन्छ बोरा मेरो ।
गरिबको कोखमा
जन्मिएँ यही मेरो गल्ती भो ।
आँखाबाट आँसु झर्दा
एक्लै रूनु पर्ने भो ।
माया दया कसको नाम हो
मलाई थाहा भएन ।
गाली, कुटाई, आधा पेटबाहेक
अरू थाहा पाएन ।
कापी, कलम, किताबले भरेको
झोला बोक्ने रहर ।
टोलाई बस्छु म जस्तै बालक
विद्यालय गएको प्रहर ।
हेरि बस्छु टोलाएर
नाक थुन्नेहरूलाई ।
सबैले फालेको फोहोर बटुल्ने
खाते भन्छन् मलाई ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य

