भनिन्छ– मूलाले आफ्नो डोब आफैं खन्छ ।
हुन पनि मूलाको बेर्ना रोपिदिएपछि बाँकी गहिराइ अरुले बनाइरहनुपर्दैन । तर, सप्रिन त्यसलाई आवश्यक मलजल भने हुनुपर्छ । ठीक यस्तै बुबा सुरेन्द्रप्रसाद (भोला) उप्रेतीको सहयोगले नै निर्मला उप्रेतीले अहिले आफ्नो चिनारी आफैं बनाउनुभएको छ ।
विक्रम सम्वत् २०५० मंसिर ३ गते सिन्धुपाल्चोक जिल्लाको लिशंखूमा जन्मनुभएकी निर्मलाले राष्ट्रिय पहिचान त बनाउनुभयो नै– भारतमा समेत छुट्टै छाप छोड्न सफल हुनुभएको छ, त्यो पनि एउटा क्षेत्रमात्रै नभएर बहुविधामा । उहाँ नृत्याङ्गना, मोडल, गायिका तथा नायिकाको रुपमा परिचित हुनुहुन्छ । नेपालमा नृत्य, मोडलिङ र गायनमा सफल भइसकेपछि उहाँ भारतको कोलकत्तामा ‘इण्डियन क्लासिकल सिङ्गिन’ को प्रशिक्षण लिएसँगै हाल कुशल नायिका बन्ने दौडमा हुनुहुन्छ ।
उसो त निर्मलाले यसअघि नै ‘फूलै फूले’, ‘मौसम’ र ‘नौलो नौलो’ म्युजिक एल्बम बजारमा ल्याइसक्नुभएको छ– जसले नेपालमा निकै ख्याति कमाए । जसरी उहाँ नेपाली, हिन्दी, बंगाली र अँग्रेजीमा बोल्नुहुन्छ– त्यसैगरी चारै भाषामा मिठास ढंगले गाउन पनि सक्नुहुन्छ ।
भारतमा थप विधामा पोख्त भएपछि उहाँ नेपाल आएर आफ्नो कला पस्कने सोचमा हुनुहुन्छ । भन्नुहुन्छ– ‘मेरो जग र उर्भर भूमि आफ्नै देश नेपाल हो– जहाँबाट म टाढिन वा बाहिरिन सक्दिनँ । मलाई माया गर्ने मेरा श्रोता–दर्शक नै मेरा सम्पत्ति हुन् ।’
- प्रस्तुतिः अस्मिता क्षेत्री
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य





