काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय २३ जनाले कोरोना भाइरस संक्रमण जित्न सफल हुनु भएको छ । आजको सहित कोरोना उपचार गरेर घर फर्कनेको संख्या ४८ हजार ६१ जना पुगेको छ । यो भनेको कुल संक्रमितको ७२.१३ प्रतिशतलाई निको भएको हो ।
आज देशभर ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा १३ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय २३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी गराउनु भएको हो ।
नेपालमा आजसम्म ९ लाख ३४ हजार ९ सय ७७ जनाको पीसीआर परीक्षण गरिसकिएको छ । हाल विभिन्न जिल्लामा १८ हजार १ सय ४२ जना सक्रिय संक्रमित छन् ।
यस्तै आइसोलेसनमा ९ हजार १ सय ९३ जना छन् भने होम आइसोलेसनमा ८ हजार ९ सय ४९ जना रहनु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनु भयो ।
यस्तैगरी मुलुकमा विभिन्न जिल्लामा आजसम्म ७ हजार १ सय ७१ जना क्वारेन्टाइनमा रहनु भएको छ । आईसीयूमा भने १ सय ९६ जनाले उपचार भइरहेको छ । यस्तै ३१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
आज पनि कोरोना भाइरसका कारण देशभर २ जनाको दुखद निधन भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ जना पुगेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
