• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

किन दिउँ श्रद्धाञ्जली ?


  • यमुना पराजुली अधिकारी
  • बुधबार, अशोज ७, २०७७
  • 18.4K
    SHARES

 

सपनाहरु देख्न थालि नसकेका
आफ्ना सन्तानका आँखामा
तप्प आँशुको ढिक्को छोडेर
जाने आमालाई
म श्रद्धाञ्जली भन्न सक्तिन !!

ताते ताते गरि डोहोर्याइरहेका हात छोडेर
धरमरधरमर !
आफ्ना नाबालक छोडेर अलप हुने बाबालाई
म श्रद्धाञ्जली भन्न सक्तिन !!

समाज बदल्छु भन्दै कलम चलाउने उनी
आज पासो लागिन !
फेसबुक रोयो, अनलाइनमा शब्द कोरिए
तर अहँ मैले उनलाई श्रद्धाञ्जली दिन सकिन !!

मन रोयो मेरो तर उनको लागि होइन,
उनका सन्तती सम्झेर
सुने उनको बगैंचामा दुई फुल फुलिरहेका छन रे
ती फुल अलपत्र पारेर जाने मालीलाई
म किन श्रद्धाञ्जली भनौ ??
उनको लागि किन म स्वर्गको कामना गरौ ?

पहिलो मासिकश्राव हुँदा चाहिने आमाको साथ
अब उनकी छोरीले पाउलिन ?
आफ्नो सन्तानको खुसी भन्दा ठूलो
दुख देख्ने एउटी आमालाई
म किन श्रद्धाञ्जली दिउँ ?
किन स्वर्गको कामना गरौं ?

सन्तानलाई पिठ्युँमा बोकेर,
टाउकोमा इट्टा बोकिरहेकी आमा
सामाजिक संजालमा भाइरल छिन्
हेर्छु अझै पनि
एउटा हात उनको आफ्नो बच्चामै छ
त्यो दृश्य हेर्छु र तिमीलाई सम्झन्छु
यति सारै दुखी तिमी थिइनौ !!
अनि किन दिउँ तिमिलाई म श्रद्धाञ्जली ?
किन गरौं स्वर्गको कामना ??

तिम्रा हरेक सिर्जनाका शब्द शब्द केलाउन पुग्छु ।
के ती सबै मिथ्या थिए ?
यदि मिथ्या थिए भने किन भनौं तिमीलाई श्रद्धाञ्जली ?
किन गरौ स्वर्गको कामना ?
पासो लाग्दा आमा १ भन्दै छोरीले समाउने हात
तिमीले कि सम्झिन सकिनौ ?
डोरी किन्दै गर्दा छोराले
आमा ललिपप, ललिपप भनेको किन भुल्यौ ?
अनि म तिमीलाई दिन सकौंला श्रद्धाञ्जली ?
गर्न सकौंला स्वर्गको कामना ?

आफ्ना सन्तानलाई अगाडि लगाउन नपरोस
प्रत्येक बुवाआमाको कामना हुन्छ रे !
अनि तिनै आमाबाबुको आँशुमा बगेर तिमी
बैतर्णी तर्न खोज्यौ
अनि म तिमीलाई किन श्रद्धाञ्जली भन्छु ?
किन स्वर्गको कामना गर्छु ?

माफ गर साथी तिम्रो लागि
मेरो अन्तर हृदयबाट यी शब्द आएनन् !
मैले भन्न सकिन श्रद्धाञ्जली
गर्न सकिन स्वर्गको कामना !!

  • धनकुटा, हाल पेप्सीकोला, काठमाडौं

 

 

प्रतिक्रिया