काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ५५ जना कोरोना भाइरसलाई जित्न सफल हुनु भएको छ । आजको यो संख्यासहित कोरोना उपचारपछि घर फर्कनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ । यो भनेको कुल संक्रमितमध्ये ७३.४ प्रतिशतलाई कोरोना निको भएको हो ।
देशभर शुक्रबार १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी गराउनु भएको हो ।
नेपालमा आजसम्म ९ लाख ६८ हजार १ सय ८५ जनाको पीसीआर परीक्षण गरिसकिएको छ । हाल विभिन्न जिल्लामा १८ हजार २ सय ८९ जना सक्रिय संक्रमित छन् ।
यस्तै आइसोलेसनमा ८ हजार २ सय २७ जना छन् भने होम आइसोलेसनमा १० हजार ५२ जना रहनु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनु भयो ।
यस्तैगरी मुलुकमा विभिन्न जिल्लामा आजसम्म ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा रहनु भएको छ । यस्तै विभिन्न अस्पतालहरुमा २२७ जनालाई आईसीयुमा राखेर उपचार गराइरहेको छ भने ३९ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ ।
आज पनि कोरोना भाइरसका कारण देशभर ३ महिला र ३ पुरुष गरी ६ जनाको दुखद निधन भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ जना पुगेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
