काठमाडौं । एसिड (तेजाव) आक्रमण गर्नेविरुद्ध कडा सजायसहितको कानुन ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन पूरा भएको छ ।
प्रधानमन्त्री ओलीले १५ दिनभित्र यससम्बन्धी अध्यादेश तयार गर्न सम्बद्ध मन्त्रालय र निकायलाई भदौ २५ गते बिहीवार निर्देशन दिनुभएको थियो ।
सोही अनुसार बिहीवारको मन्त्रिपरिषद बैठकले यससम्बन्धी अध्यादेश पारित गरेको हो ।
बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो । एसिड आक्रमणका दोषीलाई कडा कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध कानुनी रुपमा व्यवस्था गर्न अध्यादेश ल्याएको हो ।
राष्ट्रपतिबाट यो अध्यादेश प्रमाणीकरण भएपछि कानूनका रुपमा कार्यान्वयनमा आउनेछ ।
एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय हुने व्यवस्था हालकै मुलुकी अपराध संहितामा छ । अध्यादेशले मुलुकी अपराध संहितामा एसिडसम्बन्धी अन्य कारबाहीलाई परिमार्जन गरी दोषीलाई थप सजाय हुने व्यवस्था गरेको छ ।
देशैभरबाट एसिड आक्रमणमा परेका १२ जना पीडितहरू सहभागी कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कानुन तयार गर्न निर्देशन दिनुभएको थियो ।
पारित अध्यादेशमा एसिड प्रहार भई आँखा, कान, नाक, मुख, अनुहार महिला भए स्तन र यौनाङ्गमा भएको क्षतिअनुसार १० देखि २० वा २० वर्षको कैद सजाय तोकिएको छ भने एसिड आक्रमण गर्दा सम्वन्धित व्यक्तिलाई नलागेमा ‘तेजाब आक्रमण गरी अंगभंग गर्ने उद्योग’मा मुद्दा चलाइनेछ र कसुर प्रमाणित भएमा १० वर्षसम्म कैद सजाय हुनसक्छ ।
एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि उद्योग गरेको मानिनेछ र १० वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुनेछ ।
अध्यादेशले एसिड आक्रमणमा परेकाहरुको निःशुल्क उपचार सुनिश्चित गरेको छ । साथै पीडितहरुका नाममा सहयोग उठाउन समेत रोक लगाएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
