काठमाडौं । चन्द्रागिरि ५ स्थित एसफोडेल फिटनेस क्लबले शनिबार आयोजना गरेको वृहद रक्तदान कार्यक्रममा ७८ पिन्ट रगत संकलन भएको छ । स्थानीय चनपा ५ स्थित किपुल्चा डबली किसिपिडीमा आयोजित उक्त कार्यक्रममा १६ जना महिला र ६२ जना पुरुषले आफ्नो अमूल्य रगत दान गर्नु भएको हो ।
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका बेला अस्पतालहरुमा रगत अभावले बिरामीको उपचारमै समस्या परिरहेको बेला क्लबले सोही अभाव पूर्तिमा सहयोग गर्न कार्यक्रम राखेको जनाएको छ । रक्तदान कार्यक्रमको सुरुवात रक्तदातालाई ‘ब्लड व्याग’ बाग्मती प्रदेश सांसद तथा संसदीय समिति उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति रमा आले मगरले हस्तान्तरण गरेर गराउनु भएको थियो ।
कार्यक्रमको प्रमुख अथिति सांसद आलेले कोरोना कहरको बेला क्लबले रक्तदान कार्यक्रम राखेर निकै उदाहरणीय र मानवीय कार्य गरेकामा धन्यवाद दिनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले कोरोना भन्दै घरमा लुकेर नबसी स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्दै आफ्ना क्रियाकलापहरुलाई अघि बढाउन आह्वान गर्नुभयो । रगत अभावले बिरामीहरु छटपटाइरहेको बेलामा युवाहरुको यस्ता पहल सराहनीय भएको समेत बताउनु भयो ।
कार्यक्रमको उद्घटानका क्रममा क्लबका पूर्व अध्यक्ष बुद्धरत्न नकर्मीले करिब २ दशकअघि युवाहरुलाई फिटनेस गराउने उद्देश्यले स्थापित क्लब समुदायस्तरमा पनि पहिचान बनाउँदै आएको जानकारी दिनु भयो । तर पछिल्लो समय क्लबका गतिविधिमा केही शिथिलता देखिए पनि पछिल्लो कार्यसमितिको सक्रियतालाई उहाँले सराहना गर्नुभयो ।
सोही अवसरमा सांसद आलेले क्लबका पूर्व अध्यक्षहरु धर्म महर्जन, बुद्द रत्न नकर्मी र गोविन्द महर्जनलाई सम्मानपत्र र खादा ओढाइ सम्मान गर्नु भएको थियो । क्लबका सचिव तथा रक्तदान कार्यक्रमका संयोजक अमिर श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष वसन्त महर्जनले गर्नु भएको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य



