मेरा पिता र माता संग
डिग्री गरेका
प्रमाणपत्र छैनन।
तर
केही छैन ।
उहाँहरू संग
कलेज बङ्क गरेको
अनुभव छैन ।
ब्याक लाग्दा सुँक्क सुँक्क
गरेको दृष्टान्त छैन ।
प्रमाण पत्रसङ्ग अङ्कमाल गर्दा
कन्दनी खुस्किएको लज्जाबोध छैन ।
थेसीस गर्दिने
दाई भेट्दाको विस्मृति छैन ।
थेसीस डिफेन्स गर्दा
एक्स्टर्नल अघिल्तिर
कान तानेको लज्जा बोध छैन ।
तर,
मलाई थाहा छ
मेरो पिता र माता संग
जीवन दर्शनको पुन्ज छ ।
उहाहरूले नै अबोध म
आगो तिर लम्किदा
आत्था भन्दिनु भयो
जल्नबाट जोगिए ।
पिढीबाट बलेसीतिर ओइरिदा
डुङ्ग हुन्छ भन्दिनु भयो
लड्नबाट जोगिए ।
झरी पर्दा आच्छु
भन्दिनु भयो
चिसो र सर्दीबाट जोगिए ।
आची खेलाउदा
छी छी भन्दिनु भयो
फोहोरबाट जोगिए ।
खानेकुरा देखाएर
हाम्म भन्दिनु भयो
खान सिके ।
खुर्सानी देखाएर
हा आ आ आ गर्दिनु भयो
जलन बाट
जोगिए ।
दौरा देखाएर
चाची भन्नू भयो
आङ न्यानो भयो ।
कोक्रो देखाएर नुनु भन्नू भयो
निद्रा पुग्यो ।
किरा देखाएर बुजि
भन्नू भयो
सतर्क भए ।
म बामे सर्दा
घिस्रीनु भयो ।
म उभिदा
थिगीरी गर्नु भयो ।
पाइलो सार्दा
ताते गराउनु भयो ।
चम्चा भरी
घ्यू खुवाउनु भयो
कचौरा भरी
दुध खुवाउनु भयो ।
घरमा जीवन बुझे
उता क ख रा सिके
तातो फुक्न
नमिठो थुक्न
वासना सुघ्न
डराउदा लुक्न
होचोमा निहुरिन
खाडलमा फड्किन
बोक्रा ताछ्न
गुदि खान
हाड फाल्न
जित्नलाई दौडिन
तर्नलाई पौडिन
टिप्नलाई लम्किन
आमाको काखमा
बुबाको काधमा जानेको हुँ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
