• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

अरूलाई जान्नु अघि आफूलाई जानौं


  • डा. नम्रता पाण्डे
  • शनिबार, अशोज १७, २०७७
  • 25.7K
    SHARES

 

 

कतै पढेका थियौं आफैंलाई खोज, सर्च गर, आफैं भित्र ब्राउज गर, बाँकी संसारको कुरा त जे चाहन्छौ त्यो गुगलमा पनि भेटिन्छ । गुगलमा भेटिने कुराले हाम्रो स्वभावको पहिचान दिन सक्दैन । त्यसको लागि स्वयंमा खोज्नु जरुरी छ। हामीले मन्दिर गएर, तीर्थब्रत, काशी काबा गएर, सत्सङ्ग गएर र कुनै आश्रममा गएर चाहेको कुरा पाए झैं ठान्ने गरेका छौं ।

हामीले जे चाहेका थियौं, हामी भित्रै त्यो चिज छिपेको थियो । मन्दिर, कावा, सत्संग सबै माध्यमहरुले आँखा खोल्ने काम गरे होलान्, मार्ग देखाउने काम गरे होलान् तर भेटिएको आफैं भित्र हो । सुख, दुःख, आनन्द, ध्यान, प्रेम, गुनासो, करुणा, इर्ष्या सबै हामी भित्रै छन् । कहिं कसैसँग छ, कसैको कारणले भएको छ भन्ने ठानेका छौं भने त्यो भ्रम बाहेक अरु केहि होइन । आफ्नो स्वभावलाई पहिचान गर्न बिर्सनुको परिणाम हो बाहिर अरुलाई दोषी ठान्नु ।

आगोको स्वभाव ताप दिनु, पानीको स्वभाव शीतलता प्रदान गर्नु, हावाको स्वभाव स्वास(प्रश्वासमा सघाउनु हो भने हामी मनुष्यको स्वभाव के होला त ? घरबाट बाहिर निस्केको व्यक्ति घरभित्र छिर्न पनि त बिर्सनु भएन । बाहिरको बाहिरै भइयो भने के मज्जा ? बाहिरको दौडधूप पछि घरभित्रको विश्राम अति नै मूल्यवान हुन्छ । त्यस्तै संसारको भागदौड पछि स्वयंमा डुब्ने र विश्राम लिने कला पनि त जान्नु पर्यो ।

हिंड्न नसकिन्जेल बाआमाले ताते गराएर हिंड्न सिकाएको र हामी पाइला चाल्न सकेको देखेर उहाँहरुमा आएको खुशी कल्पना गरौँ त । जब पाइला चाल्यौं कुद्न थाल्यौं त्यतिले मात्र भएन आकाशमै उडान भर्न सिक्यौं तर फर्केर आउन जान्यौं कि जानेनौं गहन तर सजिलो प्रश्न हामी सबैले आफैंलाई गरौँ त ? अवश्य हामी सबैलाई जानकारी छ(होशपूर्ण हुनु, प्रेमपूर्ण हुनु र बुद्द स्वभावमा अर्थात करुणावान, अहिम्श्रक जस्ता गुणले निपूण हुनु, काम, क्रोध, लोभ, मोह, इर्ष्या, द्वेष जस्ता रिपुहरुबाट परै रहनु र स्वयंमा जागृत रहनु । यसलाई सजिलै स्विकार्नु जति सजिलो छ ब्यबहारिक रुपमा सधैं लागू गर्न अवश्य कठिन छ । अन्यथा हामी सबै धेरै अगाडी नै यी रिपुहरुबाट मुक्त भैसकेका हुन्थ्यौं ।

हिजो व्यापारमा नाफा भयो हामी दंग, खुसी आनन्दित थियौं । आज व्यापार भने जस्तो भएन लाग्छ संसारै बित्यो । छोराले भनेजस्तो कलेजमा भर्ना पायो, छात्रवृत्ति पनि पायो खुसी, दङ्ग, आनन्दमा छौं । आफूले चाहेको कलेजमा भर्ना पाएन संसार डुब्यो जस्तो । श्रीमानको जागिरमा बढुवा भयो या चाहेको ठाँउमा सरुवा भयो यो भन्दा खुशीको क्षण के हुन्छ ? समयावधि सकिएपछि दुर्गममा सरुवा हुन्छ फेरि दुस्ख शुरु भयो जस्तो लाग्छ । कुनै विन्दुमा गएर पूर्णता नमिल्ने र गुनासोको अन्त्य नहुने हाम्रा घटनाहरु जीवन पर्यन्त चलिरहन्छन् । के जीवन पर्यन्त हामी क्षणमै खुसी, क्षणमै दुस्खी बनिरहने ? अब जागृत बनौं, साक्षी भएर घटना र परिस्थितिलाई हेरौं र जानौं संसारमा जे चिज, जस्ता परिस्थिति घटिरहन्छन् ति स्वभाविकै छन् यसलाई स्वीकार गर्ने बानीको विकास हुनुपर्यो। तर भित्रको खुसी र सतत्, सहज आनन्दमा डुब्नको लागि अन्तर्मुखी भएर हेर्ने कला जान्नै पर्दछ ।

एक समयको कुरा हो एक युवक मुल्ला नसरूद्दीनलाई भेट्न आए । उनले भने कयौं ज्ञानी गुरुहरुलाई भेटें तर आत्मज्ञान पाईन । तपाईंको बारेमा धेरै सुनें र भेट्न आएको छु । मलाई रित्तो हात फर्केर जानु नपरोस् । तपाईंले मद्दत गर्नुपर्यो । मुल्ला नसरूद्दीनले भने केहि छैन, तिमीले चाहेको कुरा भेट्नेछौ तर त्यसको लागि एउटा मात्र सर्त आवश्यक छ तिमी चुप रहनुपर्छ, मैले जे भन्छु त्यहि गर्नुपर्छ । ति युवकले भने- म केहि प्राप्तिको लागि आएको छु भने तपाईंले भनेको सुनेर चुप लाग्नमा मलाई कुनै आपत्ति छैन । मुल्ला नसरुद्दीनले युवकलाई लिएर एक पोखरीको छेउ पुगे । त्यहाँ एउटा पिंध नभएको गाग्री थियो । मुल्ला नसरुद्दीनले भने मैले यो गाग्री नभरुन्जेल तिमी चुप रहनु । उनले एउटा सानो अंखोराले पानी उभाउँदै त्यो गाग्रीमा हाल्न थाले । युवक अचम्म परे- यो पागलपनको पनि हद हुन्छ नि । पिंध नभएको गाग्रीमा पानी खन्याउदै छ, अनि नभरुन्जेल चुप पनि बस्नुपर्ने । ति युवकको धैर्यता टुट्यो । उनले यो मेरो परीक्षा हो र मैले बोल्नु हुन्न भन्ने कुरापनि बिर्से । उनी बिचैमा बोले- के गर्दै हुनुहुन्छ तपाईं ? यो पागलपन १ पिंध नभएको यो गाग्रीमा जीवनभर पानी उभाएर भरे पनि भरिन्न । यो पनि तरिका हो ? मुल्ला नसरुद्दीनले युवकलाई भने – बस् तिम्रो परीक्षा सकियो । तिमी अनुत्तीर्ण भयौ । जाऊ फर्केर र फेरि म कहाँ नआऊ । युवक फर्केर गए, तर रातभर उनलाई निद्रा लागेन । मुल्लाले मलाई चुप रहन त भनेका थिए । पिंध नभएको गाग्रीमा उनैले पानी भर्दै थिए त मलाई के थियो ? श्रम खेर गईरहेको थियो त उनकै खेर गईरहेको थियो । मलाई चुप रहन भनेका थिए । म किन बोलें ? उनले चुप रहन भन्नुको पछाडी कुनै कारण थियो होला । ति युवक भोलिपल्ट बिहानै उठेर फेरि मुल्ला नसरुद्दीनकहाँ पुगे । मुल्लाले भने (किन आयौ ? मैले नआउनु भनेको थिएँ, तिमीले आफ्नो चुप रहने बाचा त पूरा गर्न सकेनौ, अरु के गर्न सक्छौ ? के सिक्न सक्छौ ?

युवकले भने मलाई माफ गर्नुस् बताईदिनुस् कि तपाईंको त्यो पिंध नभएको गाग्रीमा पानी भर्ने प्रयास गर्नुको आशय के थियो ? मुल्लाले हाँस्दै भने- हेर युवक जुन समझदारी तिमीले मेरो पिंध नभएको गाग्रीमा अपनाउन खोज्यौ त्यो तिमीले आफ्नो जीवनमा अपनाउन सकेको भए ? तिमीलाई थाहा छ कति वासनारुपी, चाहनारुपी, कहिल्यै नभरिने सपनारुपी पिंध नभएका गाग्रीहरु लिएर तिमी भर्ने र पूर्णता लिने कोशिस गरेका छौ ? मेरो स्वभाव के छ, के हुनुपर्थ्यो र के को लागि भौतारीरहेको छु भन्ने मार्मिक वोध यो कथाले प्रस्तुत गर्न खोजेको छ ।

एउटा बैज्ञानिकले फूलमा के रसायन छ, कुन जातको हो, यसलाई कुन प्रक्रिया द्वारा उन्नत जातको फूलमा परिणत गर्ने भन्नेमा उसले ध्यान दिन्छ । फूलको सुन्दरतासंग उसलाई कुनै महत्व नरहन सक्छ । एउटा कविलाई त्यही फूलको सुन्दरताले काव्यको सृजना हुन सक्दछ । एउटा मालीलाई फूलको वरिपरिको झार उखेल्नु, गोडमेल गर्नु र पुरानो भएको बोट उखेलेर नयाँ विरुवा रोप्नुसंग उसको सरोकार रहन्छ । आफ्नो बुद्द्त्वको पहिचान गर्नु भन्नुको अर्थ जतिबेला पनि आँखा चिम्लेर ध्यान गर्नु र आफ्नो कर्म अनि घर परिवार छोड्नु भन्ने अवश्य होइन । संसारको कोलाहल, भागदौड र कर्मका बीच पनि एक्लो भएर स्वयं भित्र डुब्नु बुद्द स्वभाव हो । संसारका अन्धविश्वास र पूर्वाग्रहलाई अलग राखेर होशमा रहनु नै बुद्द स्वभावमा जिउनु हो । मेरो लागि के उचित छ र के अनुचित छ ,के सही र के गलत छ छुट्टयाउन सक्नु नै आफ्नो स्वभावको पहिचान गर्न सक्नु हो । तथाकथित भोगी र त्यागी स्वभाव पनि हाम्रो स्वभाव होइन । अतिबादी नभई, समझदारी अपनाएर जीवनलाई सन्तुलनमा जिउनु हाम्रो स्वभाव हो । जबसम्म हामीमा गुनासो, लोभलालच, तिरष्कार, इर्ष्या, बेहोसी र द्वेष जस्ता मनोबिकार बाँकी रहन्छन् तबसम्म हामी हाम्रो स्वभावबाट पर हुनेछौं । हाम्रो अमृत स्वरूप आत्मा, हामी भित्रको प्रेम, ध्यान, करुणा, स्वीकार भाव र जागरण नै हाम्रा स्वभाव हुन् । जीवनलाई एउटा साधनाको रुपमा लिएर, जीवनका विविध आयामलाई जानेर सन्तुलनको जीवन जिउनु हाम्रो स्वभाव हो । आफूलाई जान्नु हो ।

शारीरिक, मानसिक, हृदयको तल र आध्यात्मिक तलबाट आफ्नो जीवनशैली हेर्यौं भने पूर्ण मनुष्य हुन र प्रेमपूर्ण जीवन जिउनको लागि हामीले अपनाएका मापदण्डहरु ठीक छन् या छैनन् थाहा लाग्दछ । आफ्नो स्वभावलाई जान्न र त्यसलाई ब्यबहारमा उतार्नको लागि केहि महत्वपूर्ण आयामहरू बारे जानकारी राख्नु सान्दर्भिक हुनेछ । आफ्नो स्वभावको पहिचान कायम राख्न आवश्यक कुरा मध्य हाम्रो शरीरको कत्तिको देखभाल गर्दछौं त्यो महत्वपूर्ण हुन आउँदछ । हामीले आर्जन गर्ने धन मध्येको एक हो शारिरीक धन । शारीरीक र मानसिक रुपमा स्वस्थ, मस्त र आनन्दित रहन सक्नु नै शारीरीक धन प्राप्त गरेको ठहरिन्छ । शारीरीक र मानसिक रुपमा हामी स्वस्थ छैनौँ भने जति नै अर्थ आर्जन गरे पनि त्यसको महत्व रहदैन । हाम्रो शरीरिक धनको ब्यालेन्स कस्तो छ त्यो कायम राख्न या बढाउन हाम्रो खानपान, विचार र ब्यायाम जस्ता कुराले महत्व राख्दछन् । हाम्रो खानपान र जीवनशैलीमा आयुर्वेदको शैली अपनाउन सक्ने हो भने यसको असर सकारात्मक र दिर्घकालिन हुनेछ । हाम्रा पुर्खाहरु ८०,९० वर्ष सम्मपनि स्वस्थ र बलियो रहनुको कारण त्यही अयुर्वेदीय विधिहरुको प्रयोग थियो । आयु.जीवनंवेद.विज्ञान.आयुर्वेद, अर्थात जीवनको विज्ञान भएकै कारण आयुर्वेदले जीवनशैलीसंग सम्बन्धित सरल र प्राकृतिक पद्दति अपनाएको छ । आयुर्वेदले सिधै औषधीको ब्यबस्था गर्दैन, रोग कहाँ र किन लाग्यो जराबाट खोज्छ । जब उपचार शुरुहुन्छ जरैबाट रोग निको हुन्छ ति शारीरिक, मानसिक, भौतिक जुनसुकै रोग र मनोबिकारले ग्रस्त भएका बिरामीहरु भएपनि ।

हाम्रो शरीरलाई आवश्यक चिज मध्ये भोजन हो । तर कति भोजन लिने, कस्तो भोजन लिने, कतिपटक लिने र किन लिने अनि सम्यक भोजन कसरी लिने त्यो सन्तुलनको कला जानिएन भने शरीरमाथि अन्याय हुन जान्छ । हाम्रो शरीर कुनै भण्डारण गृह होइन, ताकि हामी भएका सबै चिज खाएर पेटमा भण्डारण गरौँ । न त काम सकाउनको निम्ती खाने गरौँ । हतार छ खाएर हिँडीहालौं अर्थात काम सकी हालौं भन्ने स्थिती धेरैको छ ।

त्यसैले त आयुर्बेद भन्छ(-सन्तुलित भोजनको प्रयोग बिना औषधीको काम नै छैन भने सन्तुलित भोजनको प्रयोग पछि औषधी नै आवश्यक पर्दैन । प्रकृतिले खान हुनेगरी उपलब्ध गराएका सबै खाना हाम्रो लागि उपयुक्त छन् तर व्यक्तिपिच्छे शरीरको प्रकृति फरक हुने हुँदा पनि आफ्नो शरीरको प्रकृति हेरी भोजन लिनुपर्दछ । हामीले ग्रहण गर्ने भोजनले हाम्रो शरीरलाई स्वस्थ राखोस् र उर्जारशक्ति प्रदान गर्ने खालको होस् भन्ने कुरामा हामी सधैं सचेत हुनुपर्दछ । जरुरत भन्दा ज्यादा र जरुरत भन्दा कम भोजन पनि सम्यक भोजन हुँदैन । हाम्रा भोजनका परिकारहरु तामसी, राजसी र सात्विक प्रकारका हुन्छन् तर शरीरलाई उर्जा प्रदान गर्ने भोजन भने सात्विक भोजन नै हो । त्यसैले त आयुर्बेदले भनेको छ -‘आहार शुद्धौ सत्व शुद्धि’ । शुद्द, सफा र सन्तुलित भोजनको परिणाम नै सद्बिबेक र अनुशासन हो । किनकी जसमा सद्बिबेक र अनुशासन कायम रहन्छ उसमा सदाचारको गुण फलित हुन्छ र उसकै जीवनमा सुख, शान्ती र प्रेम फलित हुन्छ ।

प्रतिक्रिया