काभ्रे । सस्तो मूल्यमा अमेरिकी डलर दिने भन्दै ठगी गर्ने गिरोह पक्राउ परेको छ । उक्त समूहले १७ हजार अमेरिकी डलर भेटाएको र सस्तोमा दिने भनी कागजको बिटो देखाई १० लाख ठगी गरेको थियो ।
जिल्ला प्रहरी काभ्रेका सूचना अधिकृत तथा प्रहरी नयव उपरीक्षक कुमारविक्रम थापाका अनुसार साविक सिन्धुपाल्चोकगढी गाविस ४ हालको बाह्रबिसे नगरपालिका ५ का ३८ वर्षीय श्रीखण्ड तामाङ, सोही ठाउँ स्थायी घर भई हाल काठमाडौं बूढानीलकण्ठ नगगरपालिका २ मा डेरा गरी बस्ने हर्क तामाङलाई पक्राउ गरिएको हो । त्यसैगरी बाह्रबिसे ५ कै अन्दाजी ४७ वर्षीय चैते भन्ने बुद्धिबहादुर तामाङ र अन्दाजी ६० वर्षीय गोविन्द तामाङलाई पनि डलर ठगीमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
थापाका अनुसार श्रीखण्डलाई हिजो आइतबार काभ्रेको बनेपा नगरपालिका ८ बाट नियन्त्रणमा लिएको हो । अर्का आरोपी हर्कलाई सोही दिन काठमाडौं बूढानीलकण्ठबाट, बुद्धि र गोविन्दलाई आज सोमबार सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थापाका अनुसार उक्त समूहले नुवाकोट दुप्चेश्वर गाउँपालिका २ को कुटुमसाङ बस्ने पेन्जोम शेर्पालाई अपरिचित व्यक्तिले फोन सम्पर्क गरी अमेरिकी डलर १७ हजार भेटाएको र सस्तो मूल्यमा दिने भनी पटकपटक फोन सम्पर्क गरी विभिन्न किसिमको प्रलोभन देखाई मोलमोलाई गरेका थिए । पीडित साउन १२ गते काभ्रेको पाँचखाल नगरपालिका ४ स्थित लामीडाँडामा नुवाकोटबाट बोलाई भेट गरी तत्काल १० लाख लिई बाँकी रकम पछि दिने सर्तमा अमेरिकी डलर भनिएको पोको थमाइएको थियो ।
पीडकले उनलाई पोको नखोल्नु अरुले देख्यो वा प्रहरीले थाहा पाए हामी सबैलाई अप्ठ्यारो पर्छ भन्दै पठाएको पीडितको उजुरीमा उल्लेख गरिएको छ । केही समयपछि डलर भनी दिएको रुमालको पोको खोल्दा त्यसभित्र काटिएको कागजको बिटामात्र देखेपछि पीडितले जिल्ला प्रहरी काभ्रेमा उनीहरुविरुद्ध ठगीको उजुरी दिएका थिए ।
ठगी गर्ने समूहलाई मुलुकी अपराध संहिता ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काभ्रेमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उक्त समूहबाट विभिन्न जिल्लामा यस किसिमका धेरै ठगीका घटना घटाएको प्रहरीको भनाई छ । तर ठग समूह भने भागी भागी हिँडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी काभ्रेले ठगी आरोपमा नियन्त्रणमा लिएको क्रमशः हर्क तामाङ, श्रीखण्ड तामाङ, बुद्धिबहादुर तामाङ र गोविन्द तामाङ । तस्बिर : जिप्रका, काभ्रे
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
