• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

यतीको सिमरा उडान सुरु

१२ वर्षपछि यती जहाज सिमरा विमानस्थलमा ओल्र्यो


  • खुला नेपाल
  • बिहिबार, अशोज २२, २०७७
  • 10.7K
    SHARES

काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एअरलाइन्सले बिहीबारबाट राजधानी काठमाडौं नजिकको सिमरा गन्तव्यमा उडान सुरु गरेको छ ।

कम्पनीले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान सुरु गरेको हो । यो यतीको ९ औं र प्रदेश २ मा दोस्रो गन्तव्य हो ।

एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सतर्कता अपनाएर बिहीबारबाट सिमरा उडान सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन नाइन एन एएलएच कल साइनको जेटइस्ट्रिम–४१ विमानमार्फत विहान ९.१० बजे पहिलो उडान भरेको हो ।

दोस्रो उडान साँझ ४.४५ बजे हुनेछ । “अब सिमरा नियमित रुपले दैनिक २ उडान हुनेछन् र यात्रुहरुको माग बढेमा उडान संख्या थप गर्न सकिनेछ । उच्च सतर्कता अपनाएर उडान गरेकाले यात्रुहरुले ढुक्क भएर यात्रा गर्नु भए हुन्छ,” प्रवक्ता बर्तौलाले भन्नुभयो ।

आज पहिलो दिन काठमाडौँ–सिमरा–काठमाडौँ उडान गर्ने यात्रुमध्ये गोला प्रथाबाट १ जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराइनेसमेत उहाँले बताउनु भयो ।

यतीले हालको लागि प्रमोशनल भाडा काठमाडौँ–सिमरा–काठमाडौँको एकतर्फी एक हजार ९ सय ९९ तोकेको छ । यी गन्तव्यको टिकटहरु एअरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिनेछ ।

केही दिनअघि आन्तरिक पर्यटन प्रबद्र्धनका लागि भन्दै विभिन्न गन्तव्यहरुको लागि न्यूनतम मूल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले हाल ट्राभल एजेन्सीहरु र मोबाइल एप्समार्फत टिकट खरिद गर्दा आकर्षक उपहार प्राप्त गर्न सकिने योजनासमेत अघि सारेको छ ।

विसं २०५५ देखि सेवा प्रारम्भ गरेको यतीले हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ जहाज सञ्चालनमा रहेका छन् । यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।

प्रतिक्रिया