• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

दीपाको चमक


  • खुला नेपाल
  • बिहिबार, अशोज २२, २०७७
  • 54.2K
    SHARES

 

नेपाली नृत्य आकाशमा उदाएसँगै चम्किन थाल्नुभएकी चर्चित नृत्य निर्देशक, नृत्याङ्गना, मोडल तथा नायिका हुनुहुन्छ– दीपा थापा ।
काठमाडौंको सीतापाइलामा जन्मिनुभएकी दीपा बोली फुटेसँगै आफ्नो भविष्यको गन्तव्य पहिल्याउन थाल्नुभएको हो । र त विद्यालय–कलेजबाटै सक्रिय उहाँले क्षेत्रीय, जिल्ला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न नृत्य प्रतियोगितामा भाग लिएर आफ्नो कला प्रदर्शन गर्दै उल्लेख्य पुरस्कार हात पार्नुभयो ।

आफ्नो लक्ष्य र सपनालाई मूर्त रूप दिन दीपाले करिब तीन वर्ष राजधानीको पुतलीसडकस्थित साधना कला केन्द्रमा मोर्डन, क्लासिकल, लोकलगायतका नृत्य प्रशिक्षण लिनुभयो ।


करिब १५ वर्ष अघिबाट नृत्यलाई नै आफ्नो पेशागत विधा बनाउनुभएकी उहाँले केही अघि भने एकछत्र राज नै चलाउनुभयो । त्यस्तै सीतापाइलामा ‘दीपाज् डाजलिङ स्टार गु्रप’ नामक कार्यालय खोलेर क्षेत्रपाटीमा प्रशिक्षण केन्द्र सञ्चालन गर्नुभयो उहाँले । देशभित्रमात्रै होइन– विदेशका विभिन्न कार्यक्रममा समेत मागअनुसार आफू र आफ्नो टोलीको क्षमता देखाएर निकै ख्याति कमाउनुभएको छ । उपत्यकामा सञ्चालित सबैजसो क्यासिनोमा उहाँकै समूहले दैनिक नृत्यकला प्रस्तुत गरेका हुन् ।

‘भारतका विभिन्न सहर, सिंगापुर, मलेसिया, दुबई, बंगलादेशलगायतमा भएका दर्जनौं कार्यक्रममा म र मेरो गु्रप लगेर हाइहाइ भएँ’ दीपा गर्वका साथ भन्नुहुन्छ– ‘विशेषतः युरोपेली मुलुकमा मेरो कलाको निकै माग भएको छ ।’

त्यसो त व्यापक अनुरोध भएपछि उहाँले नेपालीमा ‘द रेन्ज’, ‘लूट कम्पनी’, ‘यो कथा हो तिम्रो मेरो’ लगायत र केही भोजपुरी चलचित्रमा पनि नृत्य निर्देशनको अतिरिक्त मोडलिङ एवं अभिनयको राम्रो भूमिका निभाउनुभएको छ भने उहाँकै ‘मेरो देश’ नामक नेपाली चलचित्र केही समयअगाडि प्रर्दशन भयो ।

प्रस्तुतिः अस्मिता क्षेत्री

प्रतिक्रिया