एजेन्सी । सीमा विवादलाई लिएर संघर्षरत अजरबैजान र आर्मिनिया अस्थायी रुपमा युद्धविराम गर्न सहमत भएका छन् ।
विवादित क्षेत्र नागोर्नो–काराबाखलाई लिएर दशकौँदेखि संघर्षरत दुई देशबीच अस्थायी रुपमा युद्धविराम गर्ने सहमति भएको रुसी विदेशमन्त्री सर्गेई लाभरोभले दिनुभयो ।
रुसको मध्यस्थतामा मस्कोमा भएको दश घण्टा लामो वार्तापछि दुई देशले शनिबारदेखि युद्धविराम लागू गर्ने सहमति जनाएका हुन् । युद्धविरामको समयमा दुवै देशले लडाईंका क्रममा मृत्यु भएका आफ्ना शैनिकको शव लैजाने छन् । साथै, युद्धबन्दी बनेकाहरुको आदानप्रदान हुने बीबीसीले जनाएको छ ।
रुसी विदेशमन्त्री लाभरोभले यसका साथै दुवै देशबीच शान्ति बहालका लागि वार्ताको प्रक्रिया अगाडि बढाइने बताउनु भएको छ ।

नागोर्नो–काराबाख क्षेत्रलाई लिएर दुई देशबीच दुई हप्ता अगाडि सुरु भएको युद्धपछि पहिलो पटक मस्कोमा अजरबैजान र आर्मिनियाबीच प्रत्यक्ष रुपमा वार्ता भएको हो ।
गत सेप्टेम्बर २७ देखि सुरु भएको संघर्षमा परी हालसम्म तीन सय जनाको मृत्यु भएको छ । साथै, हजारौँ मानिस उक्त क्षेत्रबाट विस्थापित भएका छन् ।
पहाडी भूभाग रहेको उक्त क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको हिस्सा भनेर मान्यता दिइएको छ तर त्यहाँ आर्मीनीयाका जातीय पृथक्तावादी समूहले कब्जा गरेका छन्।
दुवै देशले उक्त क्षेत्रमा सन् १९८० को दशकको अन्त्यदेखि सन् १९९० को सुरुसम्म रक्तपातपूर्ण युद्ध गरेका थिए। उक्त युद्धका क्रममा दशौँ हजार मानिसको ज्यान गएको थियो भने करिब १० लाख मानिस विस्थापित भएका थिए।
उनीहरूले युद्धविरामको घोषणा गरे पनि कहिल्यै शान्ति सम्झौतामा सहमति जनाएनन् । बेलाबेला तनाव देखा पर्दै आएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
