• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

न्यूयोर्कबाट ताप्लेजुङतिर फर्किँदा


  • इन्दिरा चोङबाङ
  • सोमवार, कार्तिक ३, २०७७
  • 33.1K
    SHARES

स्वदेशमा जब जब दशैं, तिहारजस्ता चाडपर्व आउँछन् तब विदेशी मनमा त्यही बिगतका बालापनको सम्झना र रमाइला पलहरु मनभरि ताजा भएर आइपुग्छ।

जहाँ रंगी बिरंगी फूलहरुको वर्षा हुन्थ्यो, घरघरमा नयाँ लुगा लगाउने रहर, घरलाई झिलिमिली सिँगारेको त्यो पल, नयाँ लुगा लगाउँदै पिङ खेल्न दौडिएको त्यो समय । आहा अब त केबल सम्झनाबाहेक के पो रहर्यो र ।

जब नेपालमा आमालाई फोन गर्छु, आमा भन्नुहुन्छ, यहाँ त दशैं आयो नानी, तिमीहरु कसरी मनाउँछौ, छुट्टी मिल्छ कि मिल्दैन् होला, कहिले घर आउने आदि आदि । हामी पनि यहाँ मनाउँछौ नि आमा, छुट्टी भएको समय मिलाएर भेटघाट गर्छौ, चिन्ता नलिनु है । यस्तै हुन्छ मेरो जवाफ ।

यहाँ दशैं, तिहार जेजस्तो आए पनि नेपालको जस्तो छुट्टी कहाँ हुन्छ ? त्यति धेरै साथीहरु अनि आफन्तहरुसँग भेट्ने अवसर कहाँ पाउनु ? हुनत साथीहरु अनि आफन्त सँगको भेटघाट त जहाँ गए पनि भइरहन्छ, तर खोइ र कहाँ छन् नेपालको जस्तो ती रमाइला वातावरण ? कहाँ हुन्छ घरलाई बेहुलीजस्तै सिगार्ने त्यो जाँगर अनि त्यो घर, कहाँ छ दाजुभाइहरुको दसैं है, आयो लौ झिलिमिली भन्ने नाचगान ? खोइ त झिलीमिली झिल्का, तातो रोटी मिल्का भन्दै घरघरमा आउने देउसी भैलीका लावा लस्करहरु ? छ त केबल मात्र सम्झना ।

गाउँ घरका केटाकेटीलाई दशैं–तिहार जतिको रमाइलो पल सायदै अरु छन् । मेरो सम्झनामा स्कुलको १५ दिनको बिदा, घरलाई सबैजना मिलेर सिंगारेर रमाइलो गरेको त्यो पल, आँगनभरि फुलै फूलले हराभरा भएको त्यो सुगन्धित वातावरण, घरको वरिपरि खेतमा धान पाकेर खेतबारी नै सुनौलो भएको त्यो क्षण, त्यसैको सुगन्धमा प्रफुल्ल रमिरहेको मेरो गाउँ ।

अहिले यो दशैं भन्ने शब्द सुन्ने बित्तिकै कुटुक्क मन दुख्छ मेरो । फेरि त्यो ठाउँ कहिले पुगियला । पहिलेका जस्तै ती रमाइला पलहरुलाई कहिले अंकमाल गरुँला, यस्तै अनगिन्ती प्रश्नहरु खडा हुन्छन् आफैभित्र ।

म सानो छँदा मेरो एकजना साथी थिइन् साइनोमा भदैनी, मीना । उनी र म छ महिनाको फरकमा जन्मिएको अरे, हामी दशैंको टीकाको दिन आ–आफ्नो घरमा टीका लगाई सकेपछि नजिकको आफन्तकहाँ टीकाका लागि सँगै जान्थेऔं । त्यसपछि गाउँभरि आ–आफ्नो ठूलाबडा कहाँ । हामी यति आत्मीय थियौं कि प्रायः हरेक ठाउँ सँगसँगै जानु पर्ने, सँगसँगै खेल्नु पर्ने नत्र त दिन नै खल्लो हुने । हरेक दशैंमा हामी टीकाको दिन दिउँसोभरि सँगै गाउँघरमा टीका लगाउन साथीहरुसँग जान्थेऔं । सबैले टीका लगाइदिँदै दक्षिणा दिन्थे । घरमा आएपछि कसको पैसा कति भयो भन्ने हिसाब किताब हुन्थ्यो । ती क्षणहरु सम्झिँदा साह्रै रमाइलो लाग्छ अनि त्यो बालापनको निर्दोषमनहरु सम्झिँदा हाँसो पनि उठ्छ ।

टीकाको दिन विशेष दिन हुन्थ्यो । हामी दिदीबहिनीलाई कोसेली बोकाएर आमाले नजिकका ठूलाबडाकहाँ टीका लगाउनु पठाउनु हुन्थ्यो । त्यसैगरी अरु आफन्तहरु पनि हाम्रो घरमा टीका लगाउन आउने । टीकाको दिनदेखि पूर्णिमाको दिनसम्म त प्रायः घरमा निरन्तर आफन्तहरुको आवतजावत भइरहन्थ्यो। केटाकेटीलाई कसले कुन कोसेली ल्याइदिए खाने, रमाउने, खेल्नेभन्दा अरु खास काम हुँदैनथ्यो । तर सम्झनामा आमालाई चाहिँ निक्कै ब्यस्त देख्थे, हामी सबै परिवार, आउने जानेका लागि खाना कोसेली आदि इत्यादिको तयारीमा । तैपनि आमाको मुखबाट कहिल्यै थकित शब्द सुनिन । हामीलाई के खाने भन्ने कुराले खुसी बनाउँछ त्यही सोचमा आमा मन्त्रमुग्ध भएर लाग्नु हुन्थ्यो । हामी खुसी भएसँगै आमा पनि कति खुसी हुनुहुन्थ्यो ।

हाम्रो गाउँमा लुगा सिलाउने जम्मा दुर्इ परिवारमात्र थिए । दशैंताका सबैको घरमा पालैपालो लुगा सिलाउने दिन हुन्थ्यो । कहिले बाबा सदरमुकाम गएर हामीलाई रेडिमेड लुगा ल्याइदिनुहुन्थ्यो, तर प्रायःजसो एकजनालाई बोकाएर कपडाको थान नै घर आइपुग्थ्यो । रेडिमेड कपडा सुटुक्क बाबाको ब्यागबाट निस्किँदा हामीलाई सर्प्राइज हुने । बाबाले मलाई अलि झिलिमिली भएको लुगा ल्याइदिनुहुन्थ्यो, सायद दिदीलाई भन्दा मलाई अलि कलरफुल कपडा मन पर्थ्यो होला । मेरो सम्झनामा मलाई धेरै बुट्टा भएको अनि अरुभन्दा अलग डिजाइन भएको लुगा मन पर्ने ।

हाम्रो लागि लुगा बनाइदिनुहुने दाइले मलाई धेरै माया गर्नुहुन्थ्यो । म घरकी कान्छी छोरी भएकीले मलाई कसरी खुसी पार्नुपर्छ उहाँलाई राम्रो थाहा थियो । मलाई कस्तो प्रकारको डिजाइन मन पर्छ भन्नेमा पनि उहाँ जानकार हुनुहुन्थ्यो । त्यसैले अरुको भन्दा फरक धेरै मेहनत गरेर मलाई लुगा बनाइदिनु हुन्थ्यो । भोलि फूलपातीभन्दा आज चाहिँ सबै सिलाई सक्नु पर्ने किन भने फूलपातीको दिनदेखि भने नयाँ लुगा लगाएर पिङ खेल्न हतार हुन्थ्यो ।

हाम्रो घरमुनि एउटा ठूलो बरको रुख थियो । त्यही रुखमा एकताका दशैंमा ठूलो पिङ्ग बनेको थियो । त्यो ठाउँमा बजार जस्तै हुन्थ्यो किनकि गाउँघरका मान्छेदेखि टाढा गाउँका मान्छे पनि त्यहाँ पिङ खेल्न आउँथे । जो पहिले आयो त्यहीअनुसार सबैले पालो पर्खिनु पर्ने । म र मेरो साथी सानै थियौँ । त्यसैले आफ्नो पालो कुर्दा कुर्दा नपाएपछि आफूभन्दा ठूलो दिदी दाजुहरुले सहयोग गर्नु हुन्थ्यो ।

आफू नखेले पनि अरु खेलेको देख्दा रमाइलो लाग्थ्यो । तर अहिले आएर भने कहाली लागेर आउँछ, त्यो बरको बोटमुनि ठूलो खोल्सा छ, अनि चट्टान नै चट्टान भरिएको ठाउँ । कहीँ कोही पिङ माथि पुगेको बेला झरेको भए ? ओहो अहिले पो सिरिङ्ग हुन्छु । धन्न त्यो समयमा कसैलाई केही भएन । सबै जना रमाए । कोही कोही त कसले माथि पुर्याउने भनेर बाजी पनि खेल्थे । आफू भने त्यो समयमा अलि हिम्मत थिएन, पालो आएपछि सुइय हुर्रिने, आकाशमा पुगेको रमाइलो महसुस गर्ने अनि अन्य समय अरु मच्चिएको हेरेर रमाइलो गर्ने बाहेक ।

तिहारको रमाइलो बेग्लै हुन्थ्यो । कुकुर तिहारदेखि घरमा माला बनाउनु सुरु गर्नु पर्ने । घरमा भएको सबै भाँडा कुँडाका लागि पनि माला बनाउनुपर्ने। गार्इ, गोरु, मान्छेदेखि लिएर सबै झ्याल, ढोकाको सबैका लागि थरीथरीको माला बनाउँदा कम्ती मज्जा आउँदैन थियो । आफ्नो गाँउघरदेखि लिएर टाढा टाढा गाउँघरबाट पनि देउसी भैलोको नाचगान घर घरमा झिलिमिली बत्ती बालेर आउँथे, रमाइला गीत संगीतको धुनमा नाचगान गर्थे । अन्तिममा नाग्लोमा सेलरोटी, पैसा अनि अरु केही सिदा राखेपछि आशीर्बाद दिन्थे । कम्ता रमाइलो हुन्न थियो ती आशीर्बादको गीतहरु सुन्न ।

नाचगानको रमाइलो त बेग्लै थियो, देउसी आउनेको रमाइलो अर्कै । हाम्रो गाउँमा एकजना गीताराम भन्ने दाइ देउसी खेल्ने समयमा साह्रै राम्रो कथा भन्नु हुन्थ्यो । अहिलेसम्म मेरो दिमागमा त्यो ताजै छ, त्यो देउसी गीतको तालमा गाएको गीतिकथा घरको कौसीमा बसेर सुनेको पल अहिले पनि मेरो कानमा गुन्जिरहेको छ । आफ्नो घरमा सकिएपछि फेरि अर्को घरमा पनि गएर सुनुजस्तै लागेको थियो । मैले आमालाई भनेकी पनि थिएँ, फेरि उहाँहरुलाई हाम्रो घरमा बोलाउन मिल्दैन आमा भनेर । आमाले अब अर्को साल भन्नु भएको थियो म सधैं अर्को तिहार पर्खिरहन्थे तर एकदिन उहाँहरु सधैंका लागि गाउँ छाडेर शहर पस्नु भयो।

हाम्रो घरकै छेउमा हाटबजार लाग्थ्यो । अरु समय दिनमा मात्र हुने त्यो हाट तिहारको समयमा दुर्इ–तीन रात जस्तै लाग्थ्यो । रातमा भैली खेल्ने, बजार जाने, अनि दाजु भाइका लागि भनेर रंगीचंगी माला रातभर बनाएको त्यो क्षण अहिले केबल सम्झनामा मात्र सीमित छ । एक सालको तिहारमा मेरो बाबा कतै टाढा जानु भएको थियो, हाम्रो गाउँमा एकजना दिदी हुनुहुन्थ्यो मैले नामचाहिँ बिर्सिएँ, ती दिदीले कर गरेर आमाले एक रात हामी तीन जना छोराछोरी लिएर राति बजार जानु भएको थियो ।

ती दिदीचाहिँ गीत गाउनु र भैलिनी खेल्नुमा साह्र अब्बल, मेरी आमा पनि अलि अलि सहयोग गर्नु हुन्थ्यो । हामी सबै केटाकेटी सुनेर मक्ख । सुनेर रमाइलो हुँदै थियो तर राति म कतिखेर निदाएँ थाहा भएन । बिहान बिउझिदा आफ्नै ओछ्यानमा सुतिरहेको थिएँ। समय यस्तै रमाइलो, उकाली ओराली हुन्थ्यो तर दशैं र तिहारको समयमा रमाइला पलबाहेक अरु कुनै अप्रिय घटनाको सम्झना छैन ।

अलि ठूली भएपछि पढ्नका लागि शहर पसियो । त्यो गाउँघरको रमाइलो पलहरु सम्झनामै सीमित रह्यो। जतिसुकै रमाइलो भए पनि अहिले ती समयहरु धेरै टाढा भइसकेका छन् । मात्र छ सम्झनाहरु । अहिले सम्झिँदा त्यो समयमा पनि गरिब र दुखीलाई अति नै दुःख परेको रहेछ। त्यतिमात्र होइन, राज्यको शासकहरुले जबजस्र्ती दशैं मनाउन पनि लगाएका रहेछन् । देशलाई हिन्दु देशको एकल देश बनाएर अन्य धर्मावलम्बीमाथि अत्याचार भएको रहेछ । मार हानेर सबैको घरमा रगतको छाप हुनु पर्ने नत्र त्यो परम्परा अस्वीकार गर्नेलाई त्यो समयको सरकारले कारबाही गर्ने प्रचलन रहेछ भन्नेसमेत सुनियो । यो बुझेपछि केटाकेटीपनमा भएको खुसीमा तुषारापात छायो ।

आफ्नै देशमा पनि एक जातीय र एक धर्मको अरुमाथि गर्ने दमन र षडयन्त्रपूर्ण ब्यबहारले मन कटक्क पोल्छ । त्यतिमात्र होइन चाडबाड मनाउने नाममा अरु निर्दोष प्राणीको हत्या गरेर, धर्मको नाममा मार हान्ने परम्परा पनि अत्यन्त नाजायज लाग्छ । आफू खुसी हुनुका लागि निर्दोष प्राणीको हत्या गर्नुपर्ने, अरुको ज्यान लिएर आफू खुसी हुनुपर्ने यी प्रवृत्तिले चाहिँ साह्रै मन दुख्छ ।

चाड मनाउनु, सुखी हुनु र रमाउनका लागि हत्या हिंसा गरेरमात्र होइन, तडकभडक गरेरमात्र, महंगा सामग्रीको प्रयोग गरेरमात्र होइन । सामान्य रुपमा आफूसँग जे छ त्यसैमा रमाउन पनि सकिन्छ । चाडको नाममा आफूसँग नभए पनि ठूलो हुनुपर्ने, देखाउनुपर्ने, राम्रै लाउनुपर्ने, खानुपर्नेजस्ता देखासिकी प्रवृत्तिले कतिपयलाई हुनसम्मको पीडा छ।

त्यसैले म त भन्छु, घाँटी हेरेर हाड निलौँ । दशैं भन्दै दशा निम्तो नगरौं । आफूसँग जे छ, जस्तो छ त्यसैमा रम्न सिकौँ । आफू पनि रमाउँ, अरुलाई पनि रम्न देऔँ ।

परदेशमा रहे पनि स्वदेशको सम्झना लिंदै हामी दशैं मनाउदैछौँ यहाँ। फेसबुकमा देखाएजस्तो जीवनमात्र छैन यहाँ, धेरै संघर्षका कथा पनि छन् । यद्यपि आफ्नो जन्मभूमिलाई सदैब माया, सम्झना रहिरहेको छ । परदेशबाटै सबैमा शुभकामना छ ।

– साँघु, ताप्लेजुंगकी लेखक हाल कर्मथलो न्यूयोर्क, अमेरिकामा हुनुहुन्छ ।

प्रतिक्रिया