• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

चन्द्रागिरीमा मिनी रेलसहित साकुरा पार्क (फोटो फिचर)


  • खुला नेपाल
  • शनिबार, कार्तिक ८, २०७७
  • 54.9K
    SHARES

चन्द्रागिरी तीनथानास्थित बन्दै गरेको पार्क अवलोकनका क्रममा राधिका शाक्य । तस्वीरहरु- खुलानेपाल

काठमाण्डौ । पार्कभित्रै मिनी रेल, जिपलाइन र रक क्लाइम्बिंग । अनेकौं थरी फूलबारीको बगैंचा ।

मनोरञ्जन र खेलकूदको संगम । साँच्चै नमुना काम भइरहेको छ चन्द्रागिरी नगरपालिका १५ को तीनथानामा ।
अर्को रोचक कुरा । यति ठूलो काम एउटा वडाको सक्रियतामा भइरहेको छ ।

दशैंकै बीच यहाँ बन्दै गरेको पूर्वाधार अवलोकनका लागि हामी शनिवार दिउँसो पुग्दा पार्क घुम्न आउनेहरु उत्तिकै रमाइरहेका देखिन्थे ।
कलंकीबाट नैकाप नपुग्दै हाइवेबाट देव्रे गल्ली छिरेपछि ५ मिनेटकै दूरीमा छ ‘भिराडिल खाइके साकुरा’ पार्क ।

गाउँ र सहर दुवैतिरको मिश्रणजस्तो लाग्ने यस्तो रमणीय ठाउँ कीर्तिपुर र चन्द्रागिरी नगरपालिकाको सिमानामा छ । यो ठाउँलाई अझ आकर्षक बनाउन चन्द्रागिरी नगरपालिकाले पार्क निर्माणलगायतका काम गरिरहेको छ । र, यो कामको नेतृत्व एउटा वडाध्यक्षले गर्नुभएको छ ।

भीरको डिलमा बनाइएकोले यो पार्कको नाम यस्तो राखिएको चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष उत्तमबहादुर राउतले जानकारी दिनुभयो । डरलाग्दो भीर भए पनि त्यसमा विकासको खाका बनाई मनमोहक बनाइएको छ । पारी हरियाली जंगल छ । जंगलबीच वरपर वन, वनमा चराचुरुङ्गीका चिरबिर आवाज ।

तल खोल्सामा खोलाको आवाजले वातावरणलाई मोहक बनाएको छ ।

‘मलाई बच्चा हुँदा हुर्किएको स्थानको याद आयो । काठमाडौं नजिक अहिले यस्तो ठाउँ कहाँ पाउनु ?’, अवलोकनकै क्रममा पुग्नुभएकी प्रधानमन्त्री केपी शर्मा ओली पत्नी (फष्ट लेडी) राधिका शाक्यले खुलानेपालसँग भन्नुभयो ।

उहाँले नमुना ढंगले भइरहेको उक्त ठाउँको प्रगति विवरण लिनुहुँदै जनतालाई सुखी बनाउन यस्ता कामलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

पार्कको नाममा जोडिएको साकुरा जापानको राष्ट्रिय फूलको नाम हो । नेपालमा यसलाई पयूँ फूल भनेर चिनिन्छ । छैठौं शताब्दीमा बुद्ध धर्मसँगै पयूँ फूलसमेत जापान पुगेको र त्यहाँको वातावरणमा साकुरा बनेको दावी गर्ने अध्येताहरु पनि छन् । त्यही भएर पार्कको वरिपरी साकुरा लगाइएको छ ।

खाइकेचाहिँ जापानीज एक शहर हो । उक्त शहरका केही सहयोगी मनहरुले यो पार्कमा प्रविधिसहित सहयोग गरेको पार्क निर्माण समितिका अध्यक्ष लोकनाथ सिलवालले सुनाउनुभयो ।

मिनी रेल रेल १२ देखि १५ सिटको हुनेछ । एउटा सिटमा २ जना बस्न मिल्छ । रेल बिजुली बत्तीबाट चल्नेछ । रेल बनाउनुको कारण इतिहाससँग जोडिएको छ । उक्त ठाउँमा पहिले नै रेल कुदेको थियो ।

विसं १९८८ सालमा मकवानपुरको भीमफेदीबाट काठमाण्डौको मातातीर्थसम्म रोपवे चल्थ्यो । रोपवेबाट ल्याइएको सामान मातातीर्थबाट टेकुसम्म रेलमार्फत पुर्याइने गरिएको स्थानीय अगुवा कृष्णबहादुर कार्कीले सुनाउनुभयो ।

भारतबाट अमलेखगञ्जसम्म रेलमा ल्याइएको सामान भीमफेदीसम्म ट्रकमा राखेर ल्याइन्थ्यो । अनि त्यहाँबाट रोपवेले मातातीर्थ पुर्याउथ्यो । त्यसपछि टेकुसम्म लैजानको लागि रेलको प्रयोग हुने गथ्र्यो ।

त्यो रेल चल्ने मुख्य भाग पनि पार्कमा पर्ने हुनाले मिनी रेल चलाउने योजना बनाइएको वडाध्यक्ष राउतले सुनाउनुभयो ।

‘मान्छेले चाह्यो भने असम्भव केही छैन भन्ने तपाईहरुको कामले देखाएको छ । यस्तो भीर पहरामा समेत यति राम्रो काम भएको छ । ४० प्रतिशत काम हुँदा त यति राम्रो देखिन्छ । पुरै काम गर्दा कस्तो होला ?, त्यसक्रममा शाक्यले वडा र समितिका पदाधिकारीलाई प्रोत्साहन दिँदै भन्नुभयो ।

उहाँले स्थानीय तहले विभिन्न ठाउँमा राम्रो काम गरेको, कोरोना महामारीमै पनि जनतालाई जोगाउन मेहनत साथ काम गरेको भनी प्रशँसा समेत गर्नुभयो ।

जेसुम अभियानका संयोजक, समाजसेवी अनिता लामाले राम्रा कामलाई प्रोत्साहन गर्दै सकरात्मकताको भावना विकास गर्नुपर्ने बताउनुभयो ।

जेसुम अभियानले यसअघि उक्त ठाउँमा साहित्यिक कार्यक्रम राखेको भन्दै पार्क योजनाको काम सबैले सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
जेसुम अभियानकै  साहित्यकार स्नेह सायमी, फूलमान बल,  पत्रकार पुकार तिमिल्सिनासहित अवलोकन टोलीमा हुनुहुन्थ्यो ।

वडाध्यक्ष राउतले उक्त पार्कसहितको विकास गुरुयोजना कुल ८ करोडको रहेको, त्यसमा ४ करोड वडावासीको शेयर सहभागितामा काम हुने जानकारी दिनुभयो ।

‘जनतालाई सहभागी गराएर यहाँबाट भएको आम्दानी वडावासीको घर घरमा पुर्याउने लक्ष्य हो । प्रधानमन्त्रीले लिनुभएको समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई हाम्रो तहबाट सघाउन यो कामले अवश्य सघाउनेछ, राउतले दृढता राख्नुभयो ।

प्रतिक्रिया