• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

किन आउँछ यस्ता विज्ञापन ?


  • डा.मीनाक्षी दाहाल
  • शुक्रबार, कार्तिक १४, २०७७
  • 53.4K
    SHARES

म प्रायः पत्रपत्रिकामा छापिने सबै प्रकारका विज्ञापन हेर्न र पढ्न मन पराउँदछु ।

साथै पत्रिकामा आउने (दक्ष) कर्मचारी आवश्यकताको कोलम पनि छुटाउन मन लाग्दैन । यो मेरो सामान किन्नको लागि वा जागिर खानको लागि हेर्ने बानी लागेको भने पक्कै पनि होइन ।
धेरै वर्ष अगाडि मेरो अग्रज गुरुआमाले भनेको याद छ, “तिमीहरु यस संस्थामा काम गर्ने भएता पनि बाहिरको आवश्यकताहरु हेर्दै गर्नु । यसबाट बजारमा कस्ता प्रकारका मानिसको आवश्यकता परेको छ भन्ने थाहा हुन्छ ।”
हो, यो वाक्यले मलाई अझैसम्म पनि प्रभाव पारिरहेको छ र म सँधैं नै यस्ता विज्ञापन हेरेर बजारको आवश्यकता, दक्ष मानव स्रोतको आँकलन वा विश्लेषण गर्ने गर्दछु ।
हामी सबैले स्मरण गर्र्यौ भने भुकम्प अगाडि, भुकम्पताका र भुकम्प पछाडिका आवश्यकताहरुले एउटा चित्र देखाउँदछ । अझ भनौं राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले छाप्ने कर्मचारी आवश्यकता र अन्य व्यवसायहरुबाट माग हुने दक्ष जनशक्तिको परिभाषामा पनि हामी फरक देख्न र अनुभव गर्न सक्दछौं ।
यसैगरी त्यस समयमा माग भएका (दक्ष) कर्मचारी र अहिलेको माग हेरेमा यो विषयमा थप छर्लङ्ग हुन्छ । तर यस लेखमा कर्मचारी आवश्यकताको भन्दा पनि ब्यापारीक सामग्रीकोे विज्ञापनको चर्चा गर्न खोजिएको हो ।

बजार व्यवसायका विज्ञापनमा त मेरो असाध्य नै रुची छ । हाल अनलाइन बजारले यस्तो विज्ञापनको पहुँचमा थप सहजता प्रदान गरेको छ । नत्र पहिले घरमा आउने सीमित पत्रिकाका विज्ञापन मात्र हेर्ने अवसर हुन्थ्यो । टेलिभिजन खासै हेर्न नरुचाउने म टिभीमा आउने विज्ञापनहरुका बारेमा अनभिज्ञ जस्तै नै थिएँ र छु पनि । तर अहिले सबै खाले बजार होडबाजी गर्दै मेरो फोन र ल्यापटपमा हाजीर हुन्छन् ।

अझ रमाइलो त के छ भने कुनै एउटा सामानको विज्ञापन खोल्न मात्र पर्छ त्यस्ता वितरकहरुको लाइन लाग्दछ र एक पछि अर्को विज्ञापनहरु देखिन थाल्दछन् । यसले गर्दा मलाई बजारमा अहिले कस्ता लुगा, गहना देखि फर्निचर, पर्दासम्म, विद्यालय कलेजदेखि भाँडावर्तनसम्म, सौन्दर्य प्रशाधनदेखि घर सरसफाइका सामग्रीसम्म सबै मेरो हातमा आइपुगेको छ ।
अझ अहिले त कौशी खेती र बारी बगैंचा, घर भित्र र बाहिर राख्ने फूल गमलाहरु अनि गमला राख्ने अनेक थरीका आकर्षक स्ट्याण्डहरु देख्दा बजार बिस्तारेै घरभित्र फैलँदै गएको भनुँ कि साँघुरिएको भनुँ यस्तै असमञ्जसमा पनि म रमाइलो अनुभव गर्दछु ।

यस्तै विज्ञापन नियाल्ने क्रममा मैले दशैं सुरु हुनेताका एउटा गज्जबको विज्ञापन देखें । जसले मलाई निकै नै असर ग¥यो र गरिरहेको पनि छ । यो लेख यसै विज्ञापनको प्रेरणा हो ।

करीब ६–७ वर्ष पहिले म प्लान नेपालको एउटा कामको सिलसिलामा नेपालगन्ज, बाँकेबाट गुलरिया, बर्दिया जाँदै थिए । गाडीमा स्थानीय एफएम रेडियो बजीरहेको थियो । एकाएक एउटा विज्ञापनले हामी सबैको ध्यान खिच्यो । अझ भनौं यो विज्ञापनको असर हामीले त्यति लामो बाटो काटेको पत्तो नै पाएनौं । विज्ञापन हुबहु नसम्झे पनि त्यसको सन्देश यस्तो थियो, “ …के तपाँईंलाई भ¥याङमा उफ्रन मन लाग्छ ? रुखमा चढेर मच्चिन मन लाग्छ ? झ्यालबाट हामफाल्न मन लाग्छ ? …….त्यसो भए हामीसँग यसको समाधान छ …….मोटरसाइकल ……।”
यो एउटा मोटरसाइकलको विज्ञापन थियो जसले जोशीला युवाहरुलाई अझ जोश बढाएर मोटरसाइकल किन्न प्रेरित गर्दथ्यो । विज्ञापनको शैली र विषयवस्तुमा हामीले निकै बेर गहन छलफल ग¥यौं । यसका सम्भावित ग्राहकहरु को होलान् ? भर्खर ११–१२ कक्षामा पढ्न थालेका मोटरसाइकल हुईंक्याउने रहर पलाउँदै गरेका केटाकेटीहरुलाई यो विज्ञापनले कस्तो प्रभाव पार्छ होला ? जुनसुकै माध्यमबाट भए पनि प्रशारण हुने यस्ता सामग्रीहरुको अझ भनौं विज्ञापनको सामाजिक दायित्व हुन्छ कि हुँदैन वा हुनु पर्छ कि पर्दैन ? यस्ता विज्ञापन कुन मनोविज्ञानबाट तयार हुन्छन् ? के सामान बिक्री गर्नुमात्र यस्ता व्यवसायको उद्देश्य हो कि अरु पनि व्यवसायिक उत्तरदायित्व रहन्छन् ?

अचानक दशैं ताकाको विज्ञापनले मलाई यिनै कुरा सोच्न बाध्य बनायो ।
यसपटकको दशैँलाई लक्षित गरी बनाइएको टीका सामग्री सम्बन्धी विज्ञापन थियो । चाँदीको जलप लगाएका, चाँदीका जस्तै देखिने विभिन्न टीका राख्ने थाली देखि अन्य थुप्रै भाँडाहरु राखी अनलाइनमा प्रशारित यस विज्ञापनमा लेखिएका वाक्यहरु हेर्दा पुनः मेरो मनमा हामी कस्तो उपभोक्ता बन्दैछौं वा तयार गर्दैछौं भन्ने विभिन्न प्रश्नहरु आउन थाले ।
विज्ञापनमा लेखिएको थियो, चाँदी जस्तै देखिने, रंग नजाने, खिया नलाग्ने आदि आदि …पछिका २ लाइन निकै महत्वपूर्ण रहेको छ ।
“……यस सामग्रीको फोटो खिचेर सामाजिक सञ्जालमा राख्दा सुन्दर देखिने छ । समाजमा तपाँईंको स्तर बढ्नेछ…..”।
म झसंग भएँ । सामाजिक सञ्जालमा नक्कली चाँदीको सामानको फोटो राखेर समाजमा स्तर बढाउन प्रेरित गर्ने यो विज्ञापनले हामीलाई कस्तो समाजिक शिक्षा दिदैछ ? यसको असर वा प्रभाव आम मानिसमा कस्तो पर्ला ? के यस्ता सामान हाम्रा आवश्यकता हुन् अथवा समाजमा देखाउनका लागि मात्र भए पनि किन्नु पर्ने, फोटो खिच्नुपर्ने र सार्वजनिक गर्नुपर्ने हाम्रो वाध्यता ?

हामीले सोचेको वा कल्पना गरेको वा चाहेको वा भोगेको समाजको स्तर के हो ? समाजको स्तर कसरी निर्धारण हुन्छ वा गरिन्छ ? “स्तर” जस्तो अमूर्त विषयलाई कसरी यस्ता विज्ञापनले व्यापार बनाइदिन्छन् वा बनिदिन्छ ?

मैले केही बेर मास्लोको आवश्यकताको सिंढी सम्झिएं अनि यो विज्ञापन । हामी सबैको राम्रो देखिने र राम्रो देखाउने चाहना के के र कस्ता कस्ता कुराहरुबाट प्रभावित हुन्छन् भनेर आफैलाई प्रश्न गरें । के सबैलाई एउटै रंग, एउटै वस्तु वा एउटै आकारप्रकार राम्रो लाग्छ ? अवश्य पनि लाग्दैन । त्यसो हुँदो हो त यो विविधता किन चाहिन्थ्यो होला । मैले भनेको, गरेको वा देखाएको कुरा अरु सबैले राम्रो मानी दिनुपर्ने सोच हामीले कसरी सिक्यौं । कहाँबाट यस्तो शिक्षा पायौं ?

यि त केही प्रतिनिधि विज्ञापनहरु मात्र हुन । हुन त यस्ता अवैज्ञानिक र अत्यन्तै अनुत्तरदायी विज्ञापनहरु हामी प्रशस्त देख्न सक्छौं ।
अन्य व्यापारिक प्रयोजनका सामग्रीका मात्र होइन कतिपय विद्यालय तथा कलेजका विज्ञापन हे¥यौं भने पनि हामीलाई सोच्न बाध्य बनाउने खालका हुन्छन् । यस्ता विज्ञापनमा प्रयोग गरिने केही विशेषणहरु “सफल विद्यार्थी”, “स्तरीय शिक्षक”, “स्तरीय पढाई” का साथै भौतिक पूर्वाधार तथा अन्य बाहिरी आकर्षणलाई दिएको महत्वबाट केही अड्कल गर्न सकिन्छ होला ।

यस्ता विद्यालयबाट प्राप्त गरिने सामाजिक शिक्षा तथा जीवनउपयोगी शिक्षाले हामीलाई हाम्रो आफ्नो पहिचान, क्षमता र विशेषतालाई संरक्षण र प्रवद्र्धन गर्न कस्तो भूमिका खेल्दछ होला ? स्तरीय पढाइको स्तर र अघि विज्ञापनमा लेखिएको ÷भनिएको स्तरमा के फरक होला ? विविधतामा एकता अनि विविधतामा सुन्दरता खोज्ने हामीलाई यस्ता विभिन्न तहमा स्व–स्तरीयकरण गरिएका विद्यालयहरुले कस्ता नागरिक उत्पादन गर्ने होला ?
अनि माथिका जस्ता विज्ञापन पढ्ने र त्यसै अनुसार सामान खरिद गरी सामाजिक सञ्जालमा भ्याइनभ्याइ ‘सुन्दर तस्वीर’ राख्ने हामी कस्तो स्तरको पढाई हुने विद्यालयका विद्यार्थी ?

र, अन्त्यमा सामाजिक सञ्जालमा आफ्नो नितान्त निजी पारिवारिक विषयहरु नराख्ने वा सार्वजनिक नगर्नेहरु चाहिँ कुन स्तरमा रहने होला ?

लेखक काठमाडौँ विश्वविद्यालयको भिजिटिङ् फ्याकल्टी हुनुहुन्छ ।

 

 

प्रतिक्रिया