• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

पुरस्कार


  • इन्दिरा दाहाल
  • शुक्रबार, कार्तिक १४, २०७७
  • 27.9K
    SHARES

इन्दिरा दाहाल

फेसबुकको पेजमा क्लिक गर्दा एउटा सुन्दर तस्विरमा पुगेर टक्क नजर अडियो । लगभग ७०० लाइक र त्यत्तिकै कमेन्ट ।

यो मुस्कान कतातिर हो ?
रिप्लाई– हो नि कता कता…. हे हे
– खास मेरो लागि भइदिए….
– अँ हुँम्….
– तिमी साँच्चै व्युटिफुल डियर…
– थ्याङ्क यु….

तस्विर मेरो विद्यार्थीको थियो । कमेन्ट लेख्ने मेरै सहकर्मी । संयोगवश ऊ मेरै माइती गाउँको भाइ थियो । जसलाई मैले धुलो खेल्दादेखि नै चिनेकी थिएँ । तर म सहकर्मी भएर त्यो कलेजमा पुग्दा उसले मलाई चिनेको जस्तो नै गरेन । मैले चिनाउने कोसिस गरेँ, तर ऊ अनभिज्ञ बन्यो । मैले पनि फेरि कोट्याउन खोजिन ।

टीका सर ! टीका सर ! विद्यार्थीहरू उसको वरिपरि झुम्मिएका थिए । लाग्यो, राम्रै छवि बनाएछ केटोले । एकदिन प्रिन्सिपलले भनेको पनि सुनेकी थिएँ–

तपाइँजस्तो जोसिलो युवाको खाँचो छ यो कलेजलाई टीका सर । प्रत्युत्तरमा नाकको पोरा फुलाउँदै मुस्काएको थियो ऊ ।

दैनिक कलेजमा भेट हुँदा मैले गुड मर्निङ्ग नभनी ऊ बोल्नै खोज्दैन थियो । भाइ भए पनि ऊ मभन्दा एक वर्ष पुरानो स्टाफ थियो त्यो कलेजको, त्यसैले सिनियर भइटोपल्थ्यो ।

कर्सरलाई घुमाउँदै अलिक तल ल्याएँ । अर्की विद्यार्थीको कमेन्ट थियो– अँ हम् के हो टीका सर ? कक्षामा पनि हामीलाई बाल नदिने, फेसबुकमा पनि हामीलाई कमेन्ट नगर्ने, यसलाई चाहिँ कक्षा र फेसबुक दुवैतिर ? जे होस् सबुको दुवै हातमा लड्डु । लक्की छेस् यार तँ त ।

भर्खर ११ पढ्दै गरेकी १५–१६ को कुर्कुरे बैँसमा पाइलो हालेकी सबुलाई आफ्नो मायामा फसाउन थालेको रहेछ टीकाले । शिक्षक भएर आफ्नै विद्यार्थीलाई …? हैन के पढाउँछ यसले कक्षामा ? मलाई नजानिँदो तरिकाले उसको कक्षा हेर्ने भूतले झक्झक्यायो र एक दिन उसले थाहा नपाउने गरी कक्षा बाहिरैबाट उसको कक्षा शिक्षणमा नजर पुर्‍याउन भ्याएँ ।

तिमीहरूको फ्युचर प्लानको बारेमा ३०० शब्दमा नबढाई एउटा एस्से लेख । यो तिमीहरूको क्लासवर्क हो । लु छिटो सुरु गरिहाल । उसले आफ्ना विद्यार्थीलाई निर्देशन दियो । सबुले लाडे पारामा भनी– सर मलाई त लेख्नै आउँदैन । प्लिज सिकाइदिनु न ।

टीका सर एकै बातमा सबुको छेउमा गयो । उसको गाला चिमोट्यो अनि निक्कैबेर सुम्सुम्याइरह्यो । कक्षाका अरू विद्यार्थीले आ–आफ्ना जोडी साथीलाई त्यसै गरे । जोडी नहुनेहरू यसो लेखेजस्तै गरेर टीका र सबुको जोडीलाई नियाल्न व्यस्त भए । म अवाक भएँ, एकोहोरो उसको क्रियाकलापलाई हेरिरहेँ ।

घन्टी लाग्यो, ऊ कक्षाबाट बाहिरियो । कक्षामा हललल हाँसो गुञ्जियो । सबु तँ त लक्की छेस् यार ! टीका सरले पढाएर पैसा कमाइहाल्छन्, तैँले बसी बसी मोज गर्ने भइस् । अरू साथीले जिस्क्याए सबुलाई । ऊ मख्ख पर्दै हाँसिरही ।

म कक्षामा गएँ । सबुको गालामा गुलाफी रङ्ग अझै बाँकी थियो । अँगालोमा बाँधिएका जोडी नछुट्टिन पाए हुन्थ्यो जस्तो गरी करले बाहुपासबाट छुट्टिए । पाठ सुरु गर्नुभन्दा पहिले मैले समूहमा प्रश्न गरेँ– टीका सरले कस्तो पढाउनु हुन्छ ? राम्रो, राम्रो, एकदमै राम्रो । हाम्रो कलेजका सबै शिक्षकले टीका सरको जस्तै पढाइदिए क्या रमाइलो हुन्थ्यो, प्रश्न खस्न नपाई सुदीपले एकै सासमा उत्तर दियो ।

मैले आफू पढेको क्याम्पस सम्झिएँ, कडा अनुशासनमा पढाउने गुरुहरू सम्झिएँ । कति फरक छ त्यो समय र यो समय । अहिलेका केटाकेटीलाई पढाइभन्दा बढी रमाइलो उत्ताउलोपन हुँदोरहेछ । यौवनावस्थाका केटाकेटीलाई सही मार्गनिर्देशन गर्नुको सट्टा उनीहरूको भावनामाथि खेलबाड गरिरहेको टीका सरप्रति साँच्चै घृणा लागेर आयो । घर फर्किएपछि पनि मन अमिलो भइरह्यो ।

बेलुका म्यासेन्जरमा एउटा विद्यार्थीले लेख्यो, म्याम म दुर्गम गाउँबाट पढ्न आएको तर टीका सरको कक्षामा बस्दा सिनेमा हेरेजस्तै लाग्छ । मैले मेरा बाआमाको सपना पूरा गर्नु छ । म सरलाई पनि भन्न सक्दिन, प्रिन्सिपल सरलाई उजुरी गर्न सक्दिन, साथीहरूको कुरा त म जान्दिन तर मेरो लागि तपाइँले बोलिदिनु पर्यो म्याम । म झन् अन्योलमा परेँ । टीका सरलाई केही भनूँ भने माया गर्न नपाउनू ? भन्ने होला, सबुलाई सम्झाउँदा मेरो अधिकार भन्ने होली । केही नभनूँ भने जेहेन्दार विद्यार्थीले ममाथि सुम्पिएको समस्या सधैँका लागि समस्या नै भएर रहिरहला ।

म र ऊ एकै कलेजका शिक्षक । एउटा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने, अर्को भविष्य बनाउन सधैँ चिन्तित हुने । मैले प्रिन्सिपललाई टीका सरको बारेमा जानकारी गराउने प्रयास पनि गरेँ । समयक्रमसँगै कलेजको वार्षिकोत्सव पनि आयो । कलेजले बेस्ट टिचर अवार्ड उसैलाई प्रदान गर्दा दुर्गमबाट पढ्न आएको विद्यार्थी अचम्म मान्दै मलाई हेरिरहेको थियो ।

प्रतिक्रिया