काठमाडौं (एजेन्सीहरु) । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या विश्वमा १२ लाख ८१० पुगेको छ । केही साताअघिसम्म कोरोना संक्रमण र मृत्युदर निकै कम भएको अमेरिका, युरोपमा पछिल्लो साता वृद्धिदर अत्यधिक भएसँग मृतकको संख्या पनि बढेको हो ।
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या पनि आइतबार मध्याह्न्नसम्म ४ करोड ६४ लाख २५ हजार ७० भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको वेभपेजमा उल्लेख भएअनुसार सोही समयसम्म विश्वका ३ करोड ३५ लाख ३ हजार ६०८ जनाले कोरोना युद्धमा विजय प्राप्त गर्नुभएको छ ।
कोरोना भाइरस संक्रमितमध्ये अहिले पनि १ करोड १७ लाख २० हजारभन्दा बढी सक्रिय संक्रमित छन् । त्यसमध्ये विश्वमा ८४ हजार २५० जनाको आईसीयु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको सो पेजमा उल्लेख गरिएको छ ।
विश्वमा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा त्यहाँको राष्ट्रपतीय निर्वाचतको चहलपहल बढेसँगै कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टाभित्र अमेरिकामा ८६ हजार २९३ जना नयां संक्रमित थपिएका छन् । योसहित अमेरिकामा संक्रमितको संख्या ९४ लाख २ हजार ५९० पुगेको छ ।
संक्रमित बढेसँगै अमेरिकामा मृतकको संख्या पनि बढेको छ । २४ घन्टाभित्र यहाँ ९१४ जनाको कोरोनाका कारण मृत्यु भएको हो । यो संख्यासहित अमेरिकामा कोरोनाबाट २ लाख ३६ हजार ७२ जनाले ज्यान गुमाइसकेका छन् ।
यसैगरी कोरोना संक्रमणबाट अति प्रभावित देशको दोस्रो स्थानमा रहेको भारतमा पनि पछिल्लो २४ घन्टामा ४६ हजार ७१५ नयाँ संक्रमित थपिएका छन् । भारतमा अब कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८१ लाख ८२ हजार ८८१ पुगेको छ ।
यहाँ पछिल्लो समय ४६८ जनाले ज्यान गुमाएका छन् । योसहित कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २२ हजार १४९ भएको छ ।
त्यस्तै तेस्रो अति प्रभावित मुलुक ब्राजिलमा भने पछिल्लो समय १६ हजार ७७ जनामा भाइरसको संक्रमण देखिएको छ । ब्राजिलमा संक्रमितको संख्या अब ५५ लाख ३५ हजार ६०५ पुगेको छ ।
ब्राजिलमा पछिल्लो समय मृत्यु दर पनि निकै कम भएको छ । पछिल्लो २४ घन्टाभित्र यहाँ ३४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । अब यहाँ मृतकको संख्या १ लाख ५९ हजार ९०२ पुगेको छ ।
पछिल्लो समय कोरोना संक्रमण वृद्धिदर उच्च रहेको फ्रान्समा पनि हिजोमात्रै ३५ हजार ६४१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा २२३ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा पनि संक्रमितको कुल संख्या १३ लाख ६७ हजार ६२५ रहेको छ । यहाँ मृतकको संख्या भने ३६ हजार ७८८ पुगेको एजेन्सीहरुले जनाएका छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
