काठमाडौँ । चीनका रक्षामन्त्री वेई फेङ्हे नेपालको एकदिने भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । नेपाल–चीनको ६५ औं कूटनीतिक सम्बन्ध वर्षगाँठको अवसर पारेर चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हे आउन लाग्नु भएको हो ।
परराष्ट्र मन्त्रालयले शनिबार बिहान विज्ञप्ति जारी गर्दै रक्षामन्त्री वेईले नेपालको एकदिने संक्षिप्त भ्रमण गर्ने सार्वजनिक गरेको थियो । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको एक वर्षपछि चीनबाट नेपालमा अर्को उच्चस्तरीय भ्रमण हुन लागेको हो ।
चिनियाँ राष्ट्रपति सीले सन् २०१९ अक्टोबर (१२–१३) मा नेपाल भ्रमण गरेयता अन्य कुनै पनि उच्च चिनियाँ अधिकारीको नेपाल भ्रमण हुन सकेको थिएन । सीको भ्रमणलगत्तै कोभिड–१९ संक्रमण सुरु भएपछि अन्य मुलुकसँग जस्तै नेपाल र चीनबीचको उच्चस्तरीय भ्रमण, द्विपक्षीय कूटनीतिक वार्ता तथा दुईपक्षीय संयन्त्रहरूबीच प्रभावकारी रूपमा काम हुन सकेको छैन । आर्थिक, वाणिज्य–व्यापार, डिफेन्स सहकार्य र सहायता, उच्च तहमा भ्रमणको आदानप्रदान आदि सम्पूर्ण काम रोकिएको थियो ।
भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँ आजै बेलुका नै स्वदेश फर्कनुहुनेछ ।
भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएलगत्तै चिनियाँ रक्षामन्त्री वेइ फेङ्हो नेपाल आउन लाग्नुभएको हो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
