काठमाण्डौं । सर्वाेच्च अदालत बार एशोसिएशनको कार्यसमितिका लागि पुस ४ मा हुने चुनावको सरगर्मी बढेको छ ।
कोरोना भाइरसको असरका कारण असार मसान्तमा हुन नसकेको चुनाव ६ महिनापछि हुने तय भएको हो । कार्यसमितिले यसअघि नै निर्वाचन समिति समेत गठन गरी पुस ४ को लागि निर्वाचनको मिति तय गरिसकेको छ ।
सर्वाेच्च अदालत बार एशोसिएशनको अध्यक्षका लागि बरिष्ठ अधिवक्ताहरु रविनारायण खनाल, शिव रिजाल वा तुल्सी भट्टको नेतृत्वमा चुनावी मैदानमा जाने रणनीति सत्तारुढ नेकपा समर्थक प्रगतिशिल कानुन व्यवसायी संगठनले (एनएलए) नेतृत्व गरिरहेको छ ।
उता प्रमूख प्रतिपक्षी नेपाली कांग्रेस समर्थक डेमोक्र्याटिक लयर्स एशोसिएशनले भने बरिष्ठ अधिवक्ताहरु पूर्णमान शाक्य वा तीर्थराज बसौला वा अन्य कुनै एक बरिष्ठ अधिवक्तालाई चुनावमा अघि सार्नसक्ने डेमोक्र्याटिक एशोसिएशन सम्बद्ध कानुन व्यवसायीहरुबीच छलफल भइरहेको छ ।
६ सयभन्दा बढी सर्वाेच्च अदालतमा अभ्यासरत कानुन व्यवसायीहरु सदस्य रहेको र न्यायालयको काममा समेत चासो र खबरदारी गर्ने बार युनिट भएकोले पनि सर्वाेच्च बारको नेतृत्व चयनलाई महत्वका साथ हेर्ने गरिएको छ ।
इच्छुकहरुको नामावली संकलन भइरहेकोले केहीदिनमै विषय र सन्दर्भको विश्लेषण गरी निर्णयमा पुगिने प्रगतिशिल कानुन व्यवसायी संगठन (एनएलए) का अध्यक्ष अधिवक्ता रुद्र नेपालले खुलानेपाललाई बताउनुभयो । उहाँको विचारमा प्रतिस्पर्धी उम्मेदवारको समेत अवस्था मुल्यांकन गरी आफ्ना उम्मेदवारहरु खडा गरिनेछन् ।
नेतृत्वको चयन पछि अन्य पदाधिकारी र सदस्यहरु चयन हुनेछन् ।
डमोक्र्याटिक लयर्स एशोसिएशनका केन्द्रिय सदस्य समेत रहेका अधिवक्ता किर्तिनाथ शर्माका विचारमा भने न्यायपालिकाको समग्र अवस्था र सत्ताको कार्यशैलीलाई समेत विचार गरेर डिएलए नेतृत्वले चुनावी टीम चयन हुनेछ ।
प्रगतिशिल कानुन व्यवसायीलाई नै प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका बरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारीको उत्तराधिकारीको रुपमा सर्वाेच्च अदालत बारमा को आउला भन्ने चासो कानुन वृत्तमा बढ्दै गएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
