• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

आजदेखि सदर चिडियाखाना खुल्दै, बालबालिकालाई खेलाउन नपाइने


  • खुला नेपाल
  • बिहिबार, मंसिर २५, २०७७
  • 10.1K
    SHARES

काठमाडौं । नेपालको एक मात्रै चिडियाखाना सदर चिडियाखाना आजदेखि खुल्ने भएको छ । कोरोना संक्रमण देखिएसँगै गत चैत ७ गतेदेखि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखा बन्द भएको थियो ।

नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी विहीबारदेखि चिडियाखाना खुल्न लागेको हो ।

चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेलका अनुसार यसअघि झैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ । तर, एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने र बालबालिकालाई खेलाउन नपाइने नियम छ ।

भीडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा सात सयदेखि आठ सय जनालाई मात्र चिडियाखाना प्रवेश गर्न दिइने छ । त्यसपछि अवलोकनकर्ताको संख्या धेरै भएमा जति व्यक्ति अवलोकनपछि बाहिरिन्छन् त्यति नै संख्यामा मात्र नयाँ प्रवेश गर्न दिने व्यवस्था मिलाइएको छ ।

चिडियाखाना प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ । अवलोकनकर्ता सबैले मास्क अनिवार्य लगाउनुपर्ने छ । यसैगरी चिडियाखानाभित्र बसेर खान, वन्यजन्तुलाई खुवाउन र छुन पाइने छैन ।

हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु छन् । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले विक्रम संवत् १९८९ मा निजीरुपमा स्थापना गरेको सदर चिडियाखाना २०११ सालदेखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो । चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया