• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

बाँझो जग्गामा खेती गरेका ९७ किसानले पाए १० लाख बढी अनुदान


  • खुला नेपाल
  • शनिबार, मंसिर २७, २०७७
  • 5.7K
    SHARES

पर्वत । फलेवास नगरपालिकाले जग्गा बाँझो नछाडी खेती गरेको भन्दै प्रोत्साहन स्वरूप ९७ जना कृषकहरूलाई १० लाख ५१ हजार रुपैयाँ अनुदान दिएको छ ।

नगरप्रमुख पदमपाणी शर्माका अनुसार बाँझिएको जमिनलाई सदुपयोग गरी खेतीपाती गरेका कृषकहरूलाई प्रतिरोपनी दुई हजार रुपैयाँका दरले क्षेत्रफलका आधारमा अनुदान दिएको हो। नगरले कृषकमैत्री कार्यक्रम गरेको र बाँझो  जमिनलाई हराभरा बनाइ आयातलाई प्रतिस्थापन गर्ने सोचका साथ कार्यक्रम अगाडि बढाएको उहाँकाे भनाई छ।

‘बाँझो रहेको जग्गामा खेतीपाती गरेर जमिनलाई हरियाली बनाउने तथा स्थानीय उत्पादनले आयातलाई प्रतिस्थापन गर्ने सोचका साथ हामीले कृषकमैत्री कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘श्रमिक कल्याणकारी कोष, कृषि ऋणमा व्याज अनुदान जस्ता कार्यक्रम सञ्चालन गरिएको छ । उत्पादनमा जोड दिन कृषकहरूलाई प्रोत्साहन र सम्मानका कार्यक्रमहरू राखिएको छ।’

नगरपालिकाको कृषि शाखाका प्रमुख सन्तोष सुवेदीले नगरपालिकाका सबै वडामा गरी कुल ५ सय २५ रोपनी क्षेत्रफल दुई वर्ष पहिलेदेखि बाँझो रहेको खेतबारीमा गरिएको खेतीपातीबाट ८५ मेट्रिक टन धान र ५ मेट्रिक टन कोदो उत्पादन भएको छ। जसमा वडा-१ कार्की नेटाको ११ रोपनी, वडा-२ थापाठानाको १३ रोपनी, वडा-३ शंकरपोखरीको २ सय ५० रोपनी, वडा -४ मुडिकुवाको ४८ रोपनी, वडा-५ खानीगाउँको ५५ रोपनी, वडा-६ देवीस्थानको  ३ रोपनी, वडा-७ लिमिठाना को३६ रोपनी, वडा -८ ठानामौलाको १७ रोपनी, वडा -९ भँगराको ११.५ रोपनी, वडा -१० कुर्घाको ५० रोपनी र वडा -११ पाङराङको ३१ रोपनी गरी ५ सय २५.५ रोपनी जमिन रहेको छ।

कोरोना भाइरस (कोभिड-१९) विश्वव्यापी रूपमा फैलिरहेको अवस्थामा हुन सक्ने सम्भावित खाद्य सङ्कट लाई मध्यनजर गरी फलेवास नगरपालिका नगरकार्यपालिकाले खाद्य सुरक्षाका लागि बाँझो जमिनमा खाद्यान्न उत्पादनका लागि प्रोत्साहन कार्यक्रम तयार गरेको थियो।

गैरीखेत टारी, टारीखेत बारी अनि बारी खरबारी र झाडी बन्दै गरेको अवस्थामा बाँझो जमिनलाई हराभरा बनाउन नगरपालिकामा विगत २ वर्ष पहिले देखि बाझो रहेको जमिनमा खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ गत जेठमा सूचना प्रकाशन गरी नगरका कृषकहरूलाई जानकारी गराएको बताउनुभयो ।

फलेवास नगरपालिकाको कार्यालयबाट गरिएको बाली कटानी सर्वेक्षणमा प्रतिहेक्टर २.७ मेट्रिक टन देखि ४.८ मेट्रिकसम्म उत्पादन भएको पाइएको छ। बाँझो जमिनमा गरिएको खेतीमा अन्य भन्दा १८ प्रतिशतले बढी पाइएको छ। सिचाईकन राम्रो सुविधा भएको, उन्नत बिउ, मल जल राम्रो भएको र क्लिनर फलेवास ग्रिन फलेवास महाअभियान अनुसार अनुत्पादक रुख काटछाटँ गरेको स्थानमा राम्रो उत्पादन भएको पाइएको छ भने अझै ओसेपिलो र अनुत्पादक रुख काटछाटँ नगरिएको स्थानमा उत्पादन कम पाइएको छ।

मौसमी अनुकूलता, अनुत्पादक रुख काटछाटँ गरी खेती  गर्नाले नगरपालिकाको समग्र धान उत्पादन १२ प्रतिशत र उत्पादकत्व ९.८५ प्रतिशतले बढेको हो। गत आर्थिक वर्ष  ०७६-०७७ मा कुल एक हजार नौ सय १३ हेक्टर क्षेत्रफलमा पाँच हजार चार सय ३३ मेट्रिक टन धान उत्पादन र उत्पादकत्व २.८४ थियो।

चालु आर्थिक वर्ष ०७७-०७८ मा एक हजार नौ सय ५५ हेक्टरमा छ हजार ९६ मेट्रिक टन धान उत्पादन र उत्पादकत्व ३.१२ मेट्रिक टन रहेको सुवेदीको भनाई छ। यस्तै चालु आर्थिक वर्ष २०७७-०७८ मा एक हजार सात सय ७८ हेक्टरमा दुई हजार चार सय मेट्रिक टन कोदो उपादन भएको छ।

खेतबारी २ वर्ष पहिले देखि बाँझो रहेको भनी कृषकहरूले सम्बन्धित टोलबाट प्रमाणित गरी नागरिकताको प्रतिलिपि, खेती गरिएको जग्गाको लालपुर्जा वा यदि भाडामा लिएको हकमा करार सम्झौता पत्र सहित वडा कार्यालयमा निवेदन दिएको र रितपूर्वक दर्ता भएका निवेदनको वडा कार्यालयबाट जनप्रतिनिधि, वडा सचिव र वडामा कार्यरत प्राविधिकबाट अनुगमन गरी नगरपालिकामा पेस गरिएको थियो । नगरपालिकामा पेस गरिएको निवेदनको नगरपालिका कृषि विकास शाखाबाट पुन अनुगमन तथा बाली कटानी सर्वेक्षण गरिएको थियो।

प्रतिक्रिया