काठमाडौं । पार्टीमा उत्पन्न विवाद समाधानको लागि छलफल गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।
पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने नहुने निश्चित छैन । यद्यपि, प्रधानमन्त्री ओली निकट नेताका अनुसार आजको बैठकमा उहाँ सहभागी हुने बुझिएको छ । यसअघि मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुनु भएको थियो । मंसिर २१ गते केहीबेर बसेर २८ गते (आज) बस्ने गरी टंगिएको थियो ।
२१ गते बसेको बैठकमा प्रधानमन्त्री ओलीले बैठकमा पत्र पठाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने बताउनुभएको थियो ।
प्रचण्ड–नेपाल पक्षले भने प्रधानमन्त्री ओली बैठकमा सहभागी नभए पनि बैठक अघि बढाउने तयारी गरेका छन् । आज बस्ने बैठकमा यसअघि प्रस्तुत भएका दुवै अध्यक्षका प्रतिवेदनमाथि सदस्यहरुले बोल्ने क्रम सुरु हुने बताइएको छ । यद्यपी बैठकमा कुनै एजेण्डा तय नभएको स्थायी कमिटी सदस्यहरुले जनाएका छन् ।
नेकपाको विधानमा दुवै अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाउने र एजेण्डा तय गर्नुपर्ने उल्लेख छ । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको समस्या स्थायी कमिटीबाट समाधान हुने जनाउनु भएको छ ।
एक हप्ता स्थगित भएको स्थायी कमिटी बैठकको बीचमा प्रधानमन्त्री ओली समूह र प्रचण्ड–नेपाल समूहले गुटको भेलासमेत गरेका छन् ।
यसैबीच, ओली पक्षधर नेताहरुले स्थायी कमिटीको पूर्वसन्ध्यामा प्रचण्डसँग भेटवार्ता गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलले हिजो साँझ प्रचण्डसँग भेटवार्ता गर्नु भएको हो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
