काठमाडौं । पछिल्लो २४ घन्टामा १५ सय जना कोरोना भाइरस संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणको सफल उपचारपछि डिस्चार्ज हुनेको संख्या २ लाख ३५ हजार ७३१ जना पुगेको छ ।
हाल मुलुकमा कोरोना संक्रमणपछि निको हुनेको दर ९४.९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा जानकारी दिनु भयो ।
कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टाभित्र नेपालमा थप ९ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १६ सय ९८ जना पुगेको छ । यो संख्या भनेको कुल संक्रमितमध्ये ०.५ प्रतिशतभन्दा बढी हो ।
आज पनि मुलुकभर ८३० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । मुलुकका विभिन्न ७९ प्रयोगशालामा ५१८१ जनामा गरिएको पीसीआर नमुना परीक्षणका क्रममा उक्त संख्यामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमले जनाउनुभयो ।
आजको संक्रमित संख्यासहित नेपालमा कोरोना भाइरसको संक्रमण २ लाख ४८ हजार ४२३ जनामा पुष्टि भइसकेको छ ।
हालसम्म नेपालभर १८ लाख ३१ हजार ४१ जनाको कोरोना परीक्षण गरिसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी नेपालमा आजसम्म सक्रिय संक्रमित संख्या १० हजार ९९४ रहेको छ । सो संख्यामध्ये हाल ४ हजार ७६२ जना संस्थागत आइसोलेसनमा रहेर उपचार गराइरहनु भएको छ । यस्तै ६ हजार २३२ जना भने आ–आफ्नै घरमा बसेर कोरोनासित लडिरहनु भएको छ । विभिन्न जिल्लामा आज पनि ५ सय १६ जना क्वारेन्टाइनमा रहनु भएको छ ।
एक साताअघि सम्म कोरोना हटस्पटका रुपमा देखिएको काठमाडौं उपत्यकामा पछिल्ला केही दिनमा संक्रमित संख्यामा कमी देखिएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ३४८ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ भएको छ ।
संक्रमितमध्ये काठमाडौं जिल्लाका मात्रै २५८ जना हुनुहुन्छ । यस्तै उपत्यकाकै ललितपुरमा ६५ र भक्तपुरमा २५ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको डा. गौतमले बताउनु भयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
