काठमाडौं । प्रतिनिधिसभाको सार्वनिजक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानविन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा भएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको हो ।
बैठकका निर्णय सुनाउँदै समिति सचिव डा. रोजनाथ पाण्डेले को–कसले अनियमितता गर्नुभएको छ छानविन गरी कारबाही गर्न पत्र पठाउने निर्णय भएको बताउनुभयो । स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारका लागि चाहिने औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न २०७६ चैत १२ मा ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनल (ओम्नी समूह) सँग सम्झौता गरेको थियो ।
सम्झौता अनुसार ओम्नी समूहले १६ गते पहिलो लटमा सामान पनि ल्याएको थियो, तर महँगोमा सामान खरिद भएको भनेर विरोध हुनुका साथै थप सामग्री ल्याउन नसकेपछि चैत १९ मा सम्झौता रद्द भएको थियो । लेखा समितिले गरेको अध्ययनमा भने खरिद प्रक्रिया नियमसंगत नभएको पाइएको छ । समितिको आज बसेको बैठकमा उपस्थित स्वास्थ्यमन्त्री ढकालले भने हाहाकार भएकाले तत्काल सामग्री मगाउनु परेको बताउनु भयो ।
ओम्नी समूहले सामान ल्याउन नसक्नेपछि सम्झौता रद्द गरेर धरौटीसमेत जफत गरेकाले भ्रष्टाचार भयो भन्नु गलत हुने उहाँको दावी छ । समितिले स्वास्थ्य मन्त्री ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
