भुजङ्ग प्रयातमा एक पद्य
चरीले जसै बोल्दछ्न् मिष्ट भाका
उषाले चियाई भनी खोल आँखा
प्रभा मुस्कुराई लगाएर लाली
खुले पुष्पका पत्र बास्ना उछाली ।।
सृजना सरोवर
मुक्तक
झुपडीमा बेरोजगारीको बर्षात हुन्छ
भोको पेटले हिउँदको शुरुआत हुन्छ
नाङ्गो आङ फैशन होइन बाध्यता हो
झुकेको शिर र हात अौकात हुन्छ !!
बैद्यनाथ ठाकुर, प्रगतिनगर–३, वीरगन्ज
मुक्तक
उसैको रङ्ग हेरेर रुप हेरेर
बिताईयो दिनहरु खुब हेरेर ।
मुटुमा छुरा रोपि अनि हिँडी
पागल हुन्छु उस्को कर्तुत हेरेर।
भास्कर काजी, रुँघा– ७, रुकुम
मुक्तक
माया गरेको छु निभाउन नि जान्दछु
यदि रिसाएमा रिझाउन नि जान्दछु
जे गर्नु परे पनि गर्छु समय अनुसार
माया नगरेमा सिकाउन नि जान्दछु ।
सरिता तुलाधर, विराटनगर
मुक्तक
तराई हेर्यो तराई राम्रो हिमाल झन राम्रो ।
त्यसैमा पनि नेपाली हाम्रो पबित्र मन राम्रो ।।
डॉडा र पाखा मुनाल डॉफे गुरॉस फूलदा
बतास चली घुपी र सल्लो हरियो वन राम्रो ।।
घनश्याम पौडेल, पोखरा
मुक्तक
दृढ विश्वास गुमाएर नीति फेर्छ मान्छे
वेदनामा कुटिल बन्न ढोका घेर्छ मान्छे
हत्या र हिंसाको बिरोधमा लाग्छु भन्दै
निमुखाका सुख खोस्ने फेटा बेर्छ मान्छे।
सिर्जना खनाल, भैरहवा, रुपन्देही
मुक्तक
अरुको रोदनमा हाँस्ने गर्दछ
फाइदा हेरी नाता गाँस्ने गर्दछ
स्वार्थको पराकाष्टमा पुगेपछि
सहोदरलाई पनि नास्ने गर्दछ
यज्ञलाल सुवेदी, बुटवल, रुपन्देही
मुक्तक
सन्तानको खुसी तोड्न नसकोस् कसैले
अहंकारको मुठी जोड्न नसकोस् कसैले
सारा देवी भाकेर पुकार्छिन् मेरी आमा
सच्चाईको बाटो मोड्न नसकोस् कसैले
अम्बिका खरेल उप्रेती, विराटनगर– १२
मुक्तक
मनले हैन मुखबाट चुन्नेहरू छन्
सही सत्य बोल्ने मुख थुन्नेहरू छन्
चिप्लो मुख धुर्त बानी चिन्न सक्नु पर्छ
नौटङ्की त्यो मायाजाल बुन्नेहरू छन्
केशवप्रसाद ढकाल प्रीतबिज, गोरखा
मुक्तक
पाइँदैन विश्राम घर फर्कने गर्छु गलेर
फोन गर्नुपर्छ हाकिमको आँखा छलेर
परदेशको दुःख यो कहिले सक्ने होला
अरूलाई उजल्याउनु पर्छ दियो झैं बलेर
बासु सापकोटा, दोलखा
मुक्तक
खोई बोलुँ कि नबोलुँ रुने मान्छे सँग
दम्भले मात्र आकास छुने मान्छे सँग
न सोचाई मिल्छ, न ब्यहवार मिल्छ
ढुंगा भन्दा कडा मन हुने मान्छे सँग।
लक्ष्मी स्मृति, विराटनगर– ५
मुक्तक
यस्तै रहेछ जिन्दगी बुझ्न सकेन कसैले
मेरो आँसु खस्यो तर पुस्न सकेन कसैले
माया केहो भन्ने कुरा कहिले सोच्नै सकिन
अस्मिता नै धन थियो लुट्न सकेन कसैले

सोमनाथ लुइँटेल रवि पाल्पाली
बर्दिया गुलरिया ३, हाल युगाण्डा
मुक्तक
उठाएर महल सटाउने उनै हुन्
लगाएर कुरा फटाउने उनै हुन्
हानी शिर माथि बनाएर मुर्छा
गई सञ्जिवनी चटाउने उनै हुन।
मुक्तक
निभ्न लागेको दियो बाल्नु कसरी
रोकिए पाईला आज चाल्नु कसरी
मरुभूमिको बालुवा सरी भयो जीवन
जिन्दगी नै यहाँ अब पाल्नु कसरी
मुक्तक
उकालीले उनकै वैँस ताके पछि
ऊ कालीले मेरै पैसा भाके पछि
कान्छी नल्याए आफै जोगी बनौ त
निरतालीले अर्कै टिपी लागे पछि ।
गुणानिधि लुइँटेल, बाह्रदशी, झापा
मुक्तक
लगाइ नकाब मुहार छोपिएला
के यस्तो चालाले प्यार छोपिएला
अपनाउने हो कि सतर्कता थोरै
एकै मखुन्डोले संसार छोपिएला
कवि काफ्ले, दोलखा
संयोजन : गंगा दाहाल
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य










