• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

राजनीति मात्र हुँदैन बालुवाटारमा


  • बालकृष्ण बस्नेत
  • बुधबार, पुस ८, २०७७
  • 34.9K
    SHARES

तस्वीरहरु- राजन काफ्ले, प्रधानमन्त्रीको सचिवालय ।

२०७७ साल पुस ७ गते मंगलबार । दिउँसभर बालुवाटार भित्र बाहिर गर्ने राजनीतिकर्मीको लहर देखिन्थ्यो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वाधिक राजनीतिक गर्मागर्मी भएको दिनमै गनिन्छ पुस सात।

देशकै सर्वाधिक जनमत भएको नेपाल कम्युनिष्ट पार्टीको दुई तिर केन्द्रीय समिति बैठक भएको दिन ।

प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली विहान करिब १० बजेदेखि नै आफू समर्थक केन्द्रीय सदस्यहरुमाझ पछिल्लो राजनीतिक अवस्था बुझाउन तल्लीन देखिनुहुन्थ्यो ।

आफ्नै पार्टीको एउटा समूहले बबरमहलस्थित कार्की प्यालेसमा ओलीविरुद्ध कारवाही गर्दै बेग्लै बैठक चलाइरहेको थियो । बालुवाटारको बैठकले कसैलाई कारवाही त गरेन । तर, केन्द्रीय समितिमा थप मनोनयन गर्दै ओलीले आफू विरुद्ध भएको घेराबन्दी र प्रतिनिधिसभा विघटनसम्मको बाध्यता सुनाइरहनुभएको थियो ।

हिजोसम्म एकै भएर चुनावी मैदानमा उत्रेका, पहिलो शक्ति बनेको पार्टीका नेताहरु दुइ तिर बैठक बसेका थिए । औपचारिक घोषणा त ढिलोचाँडो होला, तर नेकपा प्रष्टै रुपमा २ तिर भएको, नेपाली राजनीतिक सरगर्मी बढाएको दिन बन्यो पुस ७ ।

०००

पुसको ठिहिर्याउँदो दिनमा पनि गर्माएको यो बालुवाटारमा राजनीतिकर्मी मात्र होइन, कानुनव्यवसायी, पत्रकार, शिक्षकसहितका बुद्धिजिवीको आउने जाने चलिनै रहेको छ। विभिन्न हलभित्र आफ्नै खालको व्यस्तता छ। पार्टी अब के हुन्छ ? सरकार अब के हुन्छ ? मुलुुकको भविष्य अव के हुन्छ ? भन्ने जिज्ञासा तीमध्येका सहभागीमा हुनु स्वभावै हो।

बाहिरबाट हेर्दा प्रधानमन्त्री ओली कति राजनीतिक उखरमाउलोको भूमरीमा पर्नुभएको होला भन्ने सोच्नु सामान्य हो । आम अनुमान विपरित, पुस ७ गतेको दिन पनि बालुवाटारमा राजनीति मात्र भइरहेको थिएन । राजनीतिक भेटघाट र ओहोरदोहोर मात्र हुँदै थिएन । यस्ता सामाजिक, मानवीय कामहरु भएका थिए, त्यसले बालुवाटारप्रति पहिले-पहिले हेरिने दृष्टिकोणलाई नै परिवर्तन गरेको थियो ।

अझ त्यहाँ प्रमुख अतिथिमा रहनुभएका प्रधानमन्त्री ओलीको सामान्य तर मानवीय ओतप्रोतको प्रस्तुति देखेर सहभागी अचम्म र गौरव महसुस गरिरहेका थिए ।

०००

एकैछिन अघि राजनीतिक तात्तिएको ठाउँमा एकैछिनमा मानवीय धर्मको कुरा मात्र होइन, व्यवहारमा काम भइरहेको थियो । सडकमा खाना नपाएका, वेसहारा, समाजले बहिस्कार गरेका नेपाली दाजुभाई, दिदीबहिनीहरुको उद्धारमा पठाईदैथियो । यसअघि उद्धार गरिएका व्यक्ति हलमै थिए । २ जना बंगलादेशी नागरिकलाई पनि उद्धार गरेर मानवोचित व्यवहार गरि राखिएको थियो । उनीहरुलाई ५ वर्षसम्म हेरविचार गरेर बंगलादेशमै फर्काउनका लागि सम्बन्धित देशका राजदूतसहितलाई त्यो हलमा बोलाइएको थियो ।

त्यति मात्रै होइन, देशभर उद्धार कार्यक्रमका लागि ३५ जना स्वयंमसेवी त्यहाँ हाजिर थिए । पुस ७ गतेबाटै मेची महाकाली यात्रा, राष्टिय उद्धार कार्यक्रम सुरु हुने दिन थियो । त्यो सबै कार्यक्रमको संयोजन गरेको थियो, मानव सेवा आश्रमले ।


त्यहाँ १३ वर्षसम्म फलामे सांग्लोमा बाँधिएका सप्तरीका उमाकान्त चौधरीको उद्धार, उपचार र पारिवारिक पुनर्मिलनको भिडियो देखाइयो । मानव सेवा आश्रमले हालसम्म सडकमा आश्रित ११ सय भन्दा बढी व्यक्तिलाई उद्धार, उपचार, पारिवारिक पुनर्मिलनका कथा सुनाइएका थिए।

आश्रमले देशभर २२ वटा केन्द्रमार्फत देशभरका सडक मानवको उद्धारमा काम गर्दै आएको छ । र, अब २०७८ सालभरी सडक मानवरहित बनाउने सरकारी अभियानमा आश्रम प्रमुखताका साथ लागेको छ ।

सोही क्रममा आश्रमका संरक्षक राधिका शाक्य र प्रधानमन्त्री ओलीले संयुक्त रुपमा अध्यक्ष रामजी अधिकारीसहित स्वयंसेवीलाई विदाई गर्नुभएको हो ।

०००
कार्यक्रमका सहभागीले जब बालुवाटारमा सामाजिक र मानवीय पक्षमा थुप्रै काम भइरहेको चाल पाए, खुलेर अभिव्यक्ति राख्न थाले । साहित्यकार एवं समाजसेवी स्नेह सायमी, गायिका आनी छोइंग, जेसुम अभियानका संयोजक साहित्यकार अनिता लामासहितले आश्रमका स्वयंसेवीको प्रशंसा गरे ।

‘यो बालुवाटारमा राजनीतिको मात्र कुरा हुँदो रहेनछ । मानव सेवाको पनि कुरा हुँदो रहेछ । म त छक्क परें,’ दिउंसभरको राजनीतिक सरगर्मीबाट आफूले गरेको अनुमान विपरित काम भएको देखेपछि साहित्यकार सायमीले आश्चर्य राख्नुभएको थियो ।

कलम रोए शब्द बन्छ, कवि रोए कविता
धर्मी मरे श्रद्धाञ्जली, पापी मरे रमिता
मानवता नै पहिलो श्रेणी, त्यसैका लागि सजगता
छोडी स्वार्थ गरौं सेवा, तब मिल्छ अमरता

यही कविताको भाव अनुसारै आफू र आफूजस्तै स्वयंसेवीहरुको समूहले देशब्यापी काम गरिरहेको र त्यसमा प्रधानमन्त्री ओलीको सहयोग र राधिका शाक्यको संरक्षकत्व पाएको आश्रमका अध्यक्ष अधिकारीले सुनाउनुएको थियो ।

जेसुम अभियानका संयोजक लामाका अनुसार पुस ७ को दिन मात्र होइन, बालुवाटारभित्र यो अवधिमा मानवीय सेवामा समर्पित, सामाजिक क्षेत्रका कैयन् कामहरु भइरहेका छन् । कतिपय समाचारमा आउँछन्, कतिपय आउँदैनन् ।

बालुवाटारले त्यो बाहिर ल्याउन प्रचार पनि गर्दैन।सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले २ महत्व र अर्थपूर्ण भनाई राख्नुभएको थियो ।

पहिलो, समाजसेवा, मानवसेवाको काममा राजनीति नहोस् । म यो चाहँदिन भन्दै झण्डै २ घण्टाको अवधिभर एउटै राजनीतिक अभिव्यक्ति दिनुभएन ।

दोस्रो, आश्रमका स्वयंसेवीहरुले प्रचारका लागि, वर्ष व्यक्ति हुन वा सम्मानका लागि उद्धारको काममा नलागेकोमा खुशी प्रकट गर्नुभयो। ‘तपाईहरु यी सबै भन्दा माथि हुनुहुन्छ । मानवतालाई तपाईहरुले विक्रिमा राख्नुभएको छैन । तपाइहरु लाग्नुस् । सरकारको साथ सदैव छ,’ ओलीले भन्नुभएको थियो ।

आफ्नो धर्मपत्नी शाक्यमार्फत यति राम्रो अभियानमा जोडिन पाएकोमा आफूलाई खुशी लागेको समेत सुनाउनुभयो । त्यस क्रममा उहाँका भावुक अभिव्यक्ति सुनेर सबैका आँखा रसाएका थिए ।

‘मेरा आफ्नै छोराछोरी त छैनन् । त्यसैले आफ्नै छोराछोरीलाई गर्ने माया कस्तो हुन्छ थाहा छैन । तर, यो चाहिँ पक्का हो, मेरै छोरा छोरी भएको भएपनि तिनिहरुलाई गर्ने भन्दा बढी नै माया म तपाईहरुलाई गर्थैं । किनकि तपाईहरुले समाजको लागि त्यति धेरै काम गरिरहनुभएको छ,’ स्वयंसेवीलाई मफलर र राष्टिय झण्डाको लोगो लगाएर विदा गर्ने क्रममा प्रधानमन्त्रीले ओलीले भन्नुभयो ।

उहाँले आफू देशको प्रधानमन्त्री भएका कारण मानवताको रक्षा गर्नु, मानवलाई जीवन दिनु आफ्नो कर्तव्य भएको समेत सुनाउनुभएको थियो ।

उहाँका धर्मपत्नी शाक्यले मानवीय सेवाका लागि धन मात्र भएर नहुने मन चाहिने बताउनुभयो । आश्रममा यस्ता मन भएका, त्यसमा पनि प्राय सबै युवा पंक्ति देखेर आफू साह्रै खुशी भएको सुनाउँदै यात्रामा जान लागेका अभियन्तालाई आवश्यक सामाग्रीसहित उपहार समेत दिनुभएको थियो ।

०००

पुस ७ गतेको यो एउटा अभियान मात्र थियो ।

बालुवाटारबाट चाहे त्यो लकडाउनका बेला विपन्नलाई गरिएको उद्धार होस् वा उपचार नपाएर छट्पटिएकाहरुको उपचार, सबैमा विभिन्न तवरले काम गरिरहेको पाउँदा हलका अधिकाँश सहभागीलाई नौलो लागेको थियो । यस्तो सामाजिक कामको अग्रपंक्तिमा प्रधानमन्त्री ओलीको धर्मपत्नी शाक्य रहनुभएको छ ।

लकडाउनका बेला काठमाडौंको सडकबाट उद्धार गरिएका सानुकान्छा महर्जन को उद्धार भएको थियो, जुन एक दृष्टान्त मात्र हो । जुन घट्नाबारे खुलानेपालले यसअघि नै समाचार विवरण बनाएको थियो ।

यो समाचार पनि हेरौं-

सानुकान्छा महर्जन : सडकदेखि आश्रमसम्म (तस्वीर कथा)

हामीलाई केही चाहिँदैन : राधिका शाक्य

शाक्यकै विशेष चासोमा साहित्यकार झमककुमारी घिमिरेलाई काठमाडौंमा सरकारले घर बनाइदिएको छ । यो हस्तान्तरण प्रक्रियामा छ ।
महाकवी लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानलाई डिल्लीबजारस्थित उहाँकै निवास पुननिर्माण भब्य भइरहेको छ ।

यस्ता कैयौं काम भइरहेका छन् । जुन काम तल्लो स्तरको राजनीतिक खिचातानी गर्ने आँखाले हेर्न चाहँदैन । प्रधानमन्त्रीलाई काम गर्न दिँदैन । घेराबन्दीमा मात्र राख्छ । र, बालुवाटारमा राजनीति मात्र भएको देख्छ ।

जेसुम अभियानका संयोजक साहित्यकार अनिता लामाले कार्यक्रममै भनिदिनुभयो- ‘आजकाल बालुवाटारमा बाहिर देखिने राजनीति मात्र हुँदैन । पहिले पहिलेको बालुवाटार होइन ।’

हो । आजकाल यहाँ राजनीति मात्र हुँदैन । मानव सेवा हुन्छ । समाज सेवा हुन्छ । साहित्य, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनको काम समेत भइरहेको हुन्छ ।

चाहे त्यो अन्य दिनहरु हुन् वा पुस ७ जस्तै राजनीतिक महामारीकै दिन किन नहोस् ।

प्रतिक्रिया