• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

चेपाङ समुदाय : ‘महिलाको भागमा पीडा मात्र’


  • सरिता पौडेल
  • शुक्रबार, पुस १०, २०७७
  • 23.2K
    SHARES

चितवन । चितवन जिल्लाको राप्ती नगरपालिकास्थित कोराकको समिटारमा अधिकाश चेपाङ समुदायको बस्ती छ ।

तत्कालीन कोराक गाविस हाल राप्ती नगरपालिका वडा नम्बर १० मा पर्छ । पूर्व पश्चिम राजमार्गको खुरखुरेबाट उत्तर लागेपछि गाडीमा झण्डै आधा घन्टामा समिटार पुगिन्छ । शनिवार दिउंसो १ बजेतिर हामी त्यहाँ पुग्दा बुद्धिमाया प्रजा कोदो टिप्दै थिइन् । लहलह पहेलै देखिएको कोदो पाकेर झर्ने अवस्थामा थियो ।

मैले सोधे– दिदी यो कोदोको नाम के हो ? दिदीको जवाफ थियो झपी कोदो । कोदो पकाएर जाँड बनाएपछि झ्याप्प लाग्ने भएकाले झ्यापी भनेको होला होइन, दिदी पहेला दाँत देखाउंदै गललल हाँसिन् । केही बेरको हाँसी मजाकपछि बुद्धिमायाले घरमै बसेर गफ गरौ भन्दै हामीलाई घरमा लगिन् ।

बाँसका खहटा र माटोले पोतेको घरमा बुद्धिमायाको परिवार बस्छ । ५२ बर्षकी बुद्धिमाया टुहुरी हुन् । साहुको घरमा काम गर्दागर्दै,१३ बर्षको उमेरमा भागेर मंगल चेपाङसंग विहे गरी चितवन आएकी हुन् । विहेपछि बुद्धिमायाले कहिल्यै सुख पाइनन् ।

सधै भरी उनलाई दवाव र अभावले सताइरह्यो । विहे भएको २बर्षपछि सन्तान जन्मियो , लगातार २ छोरी जन्माइन् । सासु ससुरा र गाउंले छोरी मात्र पाइ भन्दै असाध्यै हेला गरे । कुनामा बसेर छोरीको मुख हेर्दै धेरै रोए गहभरी आसु पार्दै बुद्धिमायाले विगत सम्झिइन् । उनका श्रीमान सधै घरबाहिर हुन्थे कहिलेकाहि घरआउंदा उनको गर्व रहन्थ्यो ।

उनले तेस्रो सन्तानको रुपमा छोरा जन्माइन् अब त सबै कष्ठ हरायो भन्ने सोचेकी बुद्धिमायाको जिन्दगी सोचेजस्तो भएन । फेरी छोरा जन्मियो तर त्यो छोरा उचीत स्याहार सुसार र औषधीउपचारको अभावमा ५ बर्षमा खस्यो । श्रीमान कहाँ के गर्छ उनलाई उत्तोपत्तो थिएन । एकैपटक आर्मीले प्रकेर लगेपछिमात्र उनी झस्यागं भइन् । सानैमा विहे गरेकी बुद्धिमायाको जवानी अभावमै वित्यो ।

मंगललाई गैडा चोरी शिकारकोे मुद्धा लाग्यो । १५ बर्ष जेल र १ लाख रुपैया जरिमाना सजाय सुनाइयो । कमाउने श्रीमान नै नभएपछि बुद्धिमायाको दुखको पहाड चुलियो । पहिलो पटक जेल परेर साढे २ बर्षमा छुटेका श्रीमान फेरी समातिए । अर्को १५ बर्ष जेल सजाय सुनाइएपछि जेलमा मात्र १८ बर्ष विताए ।

श्रीमान जेल पर्दा बुद्धिमायाको १ महिनाको गर्व थियो । फेरी उनको चरित्रमाथि गाउंलेले प्रश्न उठाउन थाल्यो “१ महिनाको गर्व थियो, लोग्ने जेलमा छ स्वास्नीको भुडि दिनदिनै बढ्दै छ भन्दै तथानाम भन्थे छिछि दुरदुर गर्थे, असाध्यै अपहेलना सहे ।” बच्चा जन्मिएको ३ दिनपछि लोग्नेले जेलबाटै १ बोरा चामल तेल मसला पठाइदिएपछि मेरो चरित्रमाथि त बोल्न छोडे तर गैडा चोरका सन्तान भन्दै अर्को विभेद शुरु भयो ।

बुद्धिमायाले ६ वटा बच्चा जन्माइन् ५ बटा अहिले पनि छन् । यी सबैलाई उनी एक्लै दाउरा बोकेर मेला पात गर्दै पालनपोषण गरिन् । “आफु त स्कुल टेकिन, छोराछोरीलाई अक्षर चिन्ने बनाइदिएको छु । कसैले ५ त कसैले ६ कक्षा सम्म पढे । स्कुलमा गैडाचोरका सन्तान भनेर खिस्कि गर्न थालेपछि छोराछोरीको पढाई पनि छुट्यो ।”

जंगलबाट दाउरा ल्याउंदै गुजारा गरेकी बुद्धिमायालाई १ दिन खानेपानीको इन्टेक बरिपरि सफा गर्ने अवसर आयो । त्यसबापत उनले १ हजार पाउथिन् पछि उनको तलब बढेर ३ हुदै अहिले ८ हजार पुगेको छ । त्यसैले घर चलाए । लोग्ने नहुदा गिद्धे नजरले हेर्ने धेरै भए तर म छोराछोरीको भविश्य र आफ्नो लगनशीलतामा कहिल्यै डगमगाइन उनले सुनाइन् ।

लोग्ने जेल परेपछि जग्गा जमिन सबै बेचेर सकियो । “मुद्धा लड्दा भएको जग्गा सबै सकियो उनले भनिन् १८ कट्ठामा अहिले ४ कठ्टा बाँकी छ”खेतीबाली गर्ने जमिन पनि श्रीमानकै मुद्धामामिलामा सकिएपछि बुद्धिमायाको टेक्ने लौरी र समाउने हाँगो भयो ।

बुद्धिमायाले समुहमा ऋण गरिगरि कुखुरा गाई भैसी बाख्रा पालेकी छन्। छोरालाई अटो किनिदिएकी छन् त्यसैको कमाईबाट घरको गुजारा चलाउंछिन् । मुक्तिनाथ बैंक र सहकारीमा ऋण छ यताबाट उता उताबाट यता गर्दै किस्ता बुझाउंछु । मंगल भने गत चैतमा जेलबाट छुटे । अहिले उनी व्यवसायीक गाई फार्म खोल्ने तरखरमा छन् ।

यो गाउंमा बुद्धिमायाजस्ता धेरै महिला छन् । जो लोग्ने गैडा तस्करको आरोपमा जेलमा छन् तिनका श्रीमती र छोराछोरीको विचल्ली छ । यस्तै अर्की महिला हुन् सुनमाया प्रजा । उनको घर बुद्धिमायाको घरको बारीपट्टी चिप्लेटीमा पर्छ । बाटोको सिरानमा लस्करै ४ वटा घर छन्। तिनै घरको माथिपट्टी सुनमाया प्रजाको घर छ । म त्यहाँ पुग्दा सुनमायाकी जेठी बुहारी बन्चरोले दाउरा चिर्दै थिइन् ।

घरमा रेडियो घन्किरहेको थियो । दाउराको भारी मिलाउंदै गरेकी सुनमायामा मेरो नजर पर्यो । सुनमायाका श्रीमान पनि गैडाको तस्करीमा १५ बर्ष जेल परेर फर्केका हुन् । “कमाउने उमेर सबै जेलमा सड्यो अव मर्ने बेलामा के कमाउन सक्नु उनले सुनाइन् १ भारी दाउरा बेचे ३ किलो कनिका आउँथ्यो ्रत्यसैले बालबच्चालाई खोले पकाएर खुवाउंथे ।”

१५ बर्षमा विहे चन्द्रबहादुर प्रजासंग विहे गरेकी सुनमायाको जवानी एकल वित्यो । चन्द्रबहादुर गैडाको खाग तस्करीको अभियोगमा १५ बर्ष जेलपरेपछि सुनमायाले असाध्यै दुख र पीडा खेप्नुपर्यो । एकातिर गैडाचोरको सन्तानको आरोप अर्कोतिर गरिबी । कति रात भोकै सुतिन् ।

दाउरा बोक्दा हड्डी सबै मक्किइसकेको छ । आफ्ना ८ वटा र बहिनीका ३ वटा सन्तान थिए । बहिनी ज्वाई दुवै गैडाकै तस्करको आरोपमा जेलमा भएकाले बहिनीका छोराछोरीको जिम्मेवारी पनि उनैमाथि आएको थियो । परदेश गएको लाग्नेले बरु टन्न लिएर आउंछ जेल हुनेले के ल्याउनु जीन्दगी सबै भताभुगं भयो” सुनमायाको ५ कट्ठा जमिन छ ।

परिवार ठुलो छ मुस्किलले ६ महिना खान पुग्छ , ६ महिना दाउंरै बेचेर खाने हो । लोग्ने जेल पर्दा साना छोराछोरी अहिले बिहे गरी नातीनातीना भइसकेका छन् । चन्द्रबहादुर अहिले सजाय पुरा गरि जेलबाट त छुटे तर उनीहरुको आयआर्जनका लागि सरकारले केही व्यवस्था गरेको छैन ।

कोराकमै गैडातस्करको कुख्यात नाम हो राजकुमार चेपाङ । २०४२ मा शक्तिखोरबाट आएर यहाँ बस्ती बसालेका थिए राजकुमारको परिवारले। उनको परिवारका सबै भाई गैडा तस्करको अभियोगमा जेलमा छन्। घरमा भएका उनीहरुका श्रीमतीहरु कुनै नौलो मान्छे देख्न वित्तिकै अहिले पनि आत्तिन्छन् ।

राजकुमारको घर पुग्दा उनकी श्रीमती घाँसदाउरा गर्न जंगल गएकी थिइन् । गैडा चोरको श्रीमतीको परिचय बनाएर बस्नुपर्दा उनी असाध्यै पीडामा छिन् । घर छोडेर जाँउ कता जाँउ अब त कसैले लादाँ पनि लादैन उनले भनिन् । राजकुमार र मोतिमायले प्रेम विवाह गरेका हुन् ।

‘म घरमै बस्थें, बुढो सधै बाहिरतिरै हिड्नुहुथ्यो, के के गर्नुहुन्थ्यो थाहा थिएन’, उनले भनिन्, ‘पछि पो एक्कासी थाहा पाए, उहाँ गैंडा मार्ने काममा लाग्नुभएको रहेछ।’ श्रीमान जेल परेपछि मोतिमायाका दुखका दिन शुरु भए । छोराछोरीलाई पढाउने खर्च नहुँदा साइला जेठाजुले खर्च व्योहोरिदिएको उनले बताइन्। ३५ वर्षीया मोतीमाया बिहान बेलुकाको छाक टार्न दिनभर ऐलेनी खेतबारीमा मेहनत गर्छिन्र्।

लोग्ने घरमा नभएपछि अबला नारीलाई सबैले हेप्ने रहेछन् शारिरिक मानसिक यातना धेरे सहेकी छु । “आर्यआर्जनको बाटो छैन , घाँस दाउराका लागि जंगल जान्छु कोही आएर आक्रमण गर्ने हो कि भन्ने डर लाग्छ उनले सुनाइन् ।” वीरगञ्जमा रहेका श्रीमानलाई उनले भेटेको एक वर्ष भयो। त्यसपछि कोरोनाका कारण गएकी छैनन् । जस्तो छ गरि खाउ गल्ती गरियो भन्नुहुन्छ उनले भनिन् ।

श्रीमान जेल परेपछि केहीले भने दोस्रो विहे गरेका छन् । यीनैमध्येकी एक हुन् कान्छीमाया प्रजा , कान्छी विरवलकी जेठी पत्नी हुन् । लोग्ने जेल परेपछि लान्छना सहन नसकेर उनले दोस्रो विहे गरेकी छन् । बीरवलले भने जेलबाट छुटेपछि अहिले कान्छी विहे गरी मिश्रीको काम गरेर गुजारा चलाइरहेका छन् ।

व्यर्थमा जेल जिवन

यसै गाउंकी चिप्लेटीकी डिलमाया प्रजा र कल्पना चेपागं गल्ती विनै ५ बर्ष जेलमा बस्ने महिला हुन् । न उनीहरुले खागको तस्करी गरेका थिए न त सहयोग नै कान्छी श्रीमती लिएर भागेका काजिमान प्रजालाई खोज्दै पोखरा पुगेका उनीहरु प्रहरीको फन्दामा परे । चन्द्रबहादुर कल्पनाका दाजु र डिलमायाका श्रीमान हुन् । विना कारण जेल परेपछि कविताको घर नै विग्रियो । लोग्नेले घरबाट निकालिदियो ।

छोराछोरीसंग टाढा भएर बस्नुपरेको छ घर पनि विग्रियो सम्पत्ती पनि सकियो । “दाजुकै कारण जेल पर,े अहिले फेरी सर्वोच्चले मुद्धा उल्टाएको छ रे तारेख धाँउंदै छु ।” हामी वन वन्यजन्तु र पर्यावरण संरक्षण गर्नुपर्छ भनेर लागेका मान्छे हौ तर घरको मुलीले गल्ती गरेकाले परिवार नै जेलमा सड्नुपर्यो । कति लान्छना सहनुपरेको छ ।” बाबुआमा दुवै जेल परेपछि छोरी सुनिताले पढ्न पाइनन् ।

“सबै झोला बोकेर स्कुल जान्थे म दाउरा बोकेर बेच्न जान्थे दुधे बालखलाई काखमा च्याप्दै सुनिताले सुनाइन् ।” संरक्षण गर्ने अभिभावक नै नभएपछि बालबच्चाको विचल्ली भयो । डिलमायाको १२ कठ्ठा जग्गा बेचेर अहिले ६ कठ्ठा मात्र छ । मुद्धा लड्दा सबै जमिन सकियो अब पाखोबारी गरि ६ कठ्ठा होला डिलमायाले भनिन् । लोग्नेको गल्तीले जीन्दगी पनि उजाडियो घर पनि भताभुगं भयो”

गैंडा मुद्दामा ५० प्रतिशत चेपाङ

यस गाउंमा मात्र गैडातस्करको अभियोगमा कमाउने पुरुष प्रकाउ परेपछि दुख पाएका २१ जना महिला छन् । चितवन जिल्ला कारागारमा अहिले पनि गैंडा मुद्दामा १ जना महिलासहित ६८ जनाले सजाय भोगिरहेका छन्। उनीहरूमध्ये २१ जना चेपाङ समुदायका छन्।। कारागार प्रमुख कमलप्रसाद काफ्लेकाअनुसार २०६९ साल ताका यहाँ १६० जनासम्म गैंडा मुद्दाका कैदी थिए। उनीहरूमध्ये करिब ५० प्रतिशत चेपाङ समुदायका थिए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार गैरकानुनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिउँचितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरिद गर्ने, बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा गैंडाको खाग वा कस्तुरीको बिना, हिउँचितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्नेे व्यक्तिलाई पाँचदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँचदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अर्णनाथ बरालले चेपागं समुदायको आयआर्जन सुधारका लागि स्थानीय तहलाई अनुरोध गरिएको बताउनुभयो । “राष्ट्रिय निकुञ्ज संरक्षण गर्ने निकाय हो, उहाँले भन्नुभयो स्थानीय सरकारले जनताका आवश्यकता परिपुर्तिका लागि कार्ययोजना ल्याउनुपर्छ , हामीले सोही अनुरुप सम्बन्धीत निकायलाई अनुरोध गरेका छौ।”

राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि चोरीशिकारमा लागेर जेलबाट छुटेकाहरुका लागि राहत प्याकेजका कार्यक्रम गर्ने गरेको छ । वन्यजन्तुको तस्करी र चोरी शिकार घटाउनमा त प्रशासनले महत्वपुर्ण भूमिका त खेलेको छ तर विभिन्न परिस्थितीले गैंडा सिकारीको मतियार बन्न पुगेकाहरुका सन्तान र तिनका परिवारको अवस्था भने दिनप्रतिदिन विग्रदै गएको छ ।

प्रतिक्रिया