काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई भेट्नो कुहिएर झरेका दुई वटा फल भएको भन्दै कटाक्ष गर्नु भएको छ ।
काठमडौंमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि प्रचण्डलाई आफूहरुले अध्यक्ष र नेपाललाई वरिष्ठ नेताको पदमै राखेकाले फर्किएर आउन आग्रह गर्नुभयो । ‘भेट्नो कुहिएर झरेका दुई वटा फलले रुखै मै हुँ भनेर दावी गर्न मिल्छ?’ उहाँले प्रचण्ड-माधव पक्षलाई लक्षित गर्दै भन्नुभयो, ‘जसको घर हो, ऊ निवेदन हाल्न जान्छ ? मेरो घर हो भनेर ? हामीले बनाएको पार्टी मेरो हो भनेर हामी निवेदन हालिरहन पर्ने छैन।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘निर्वाचन आयोगबाट एउटा पत्र पाएँ । उहाँहरुले एउटा निवेदन हाल्नु भएको रहेछ । असली हामी हौँ भन्दै । यो बरमझियाको बुढाको पेडा पसल हो ? सक्कली र नक्कली ? पेरिसडाँडामा १२–१५ जना बसेर पत्रकार सम्मेलन गर्नु भएको छ ।’
प्रचण्ड-माधवप्रति कटाक्षको वर्षा गर्नु भएका प्रधानमन्त्री ओलीले नेकपामा खिया लागेका दुई वटा नटबोल्ट फुत्किएपछि पार्टी गतिशील बनेको दावी गर्नुभयो । उहाँले भन्नभयो, समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुईटा नटबोल्ट फेर्दा गाडी अगाडि।’
‘हामीले फेरेको पनि होइन, आफैं फुक्लिए नटबोल्ट’ उहाँले हाँस्दै भन्नभयो, ‘खिया लागेको दुईटा नटबोल्ट के खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि गयो ।’
प्रचण्ड माधवको ध्यान कुर्सीमा मात्रै भएको उहाँले आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले पार्टीलाई सुदृढ बनाएर आँधी तुफानको साथ अब काम गर्ने दाबी गर्नुभयो । अब पार्टीले आफ्नो परिवारलाई नभएर जनताको पक्षमा काम गर्ने दाबी गर्नुभयो ।
अध्यक्ष प्रचण्डले पार्टीको काम नगरि गुट सञ्चालन गरेर काम गर्न नदिएको ओलीको आरोप थियो । पार्टी एकताको काम तीन महिनामा सक्नुपर्ने भएपनि प्रचण्डले पार्टीको काम नगरेको तथा सरकारलाई काम गर्न नदिएको उल्लेख गर्नुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
