हरि दाहाल
गाउँको पनि छेउका मान्छे
केही नजानेका मान्छे
भन्ने पनि छ्न् ।
तर,
तिनै गाउँका मान्छेले
हातैले आगो समात्छ्न्
झुलो–चक्मक– दल्सी ढुङ्गो
ठोसेर आगो पार्छन्
पहरो खोपेर पानी झार्छन्
बरफ पगालेर पिउँछ्न्
क्विन्टल बोक्छ्न्
बिसाउने चौतारो
आफैं बनाउँछ्न्
हाँसेर बोल्छन् ।
भोकोलाई खुवाउँछ्न्
नाङ्गोलाई लवाउँछ्न्
अशक्तलाई काँधमा बोक्छ्न्
स्याललाई लखेट्छ्न्
बाघ पालेर पनि बस्छ्न् ।
कुलो भत्काउँदैनन्
पोखरी पुर्दैनन्
पँधेरोमा नाग पूजा गर्छन्
नाग रिसाउँछन् भनेर
फोहोर मैला गर्दैनन्
च्यार्तुङ मिच्दैनन्
मन्दिरको भेटी सम्पत्ति
चोरे खुस्किइन्छ भनेर
परपर हुन्छ्न् ।
अक्सिजनको स्रोत
बरपीपल रोप्छ्न्
कहिल्यै मास्दैनन् ।।
ढुङ्गेधारामा बगेको
टललल टल्किने
चोखो पानी
अजुली भरी
थापेर पिउँदा
तिर्खाको के कुरा ?
भोक मेट्छ ।
कसेको पटुका
खुकुल्याउँछ
आङ तान्छ
जिउ तन्काउँछ
नाम्लोले थिचेको थाप्लो
सुम्सुम्याउँछ
पसरका पसर पसिना
झट्कारेर टक्ट्क्याउँछ
गर्जिन्छ फेरि
मुसुक्क हाँस्छ ।
बाटाका दल्सी ढुङ्गा
पैतालाको भारले फुटाउँछ
भारी थर्थराउँछ
आफू पिटिक्कै हल्लिदैन
तर
निहुँरिएर भारी बोक्छ
आगो फुक्छ
धान रोप्छ
कोदालो खन्छ
खेत जोत्छ
दाउरा चिर्छ
भात खान्छ
घाँस काट्छ
कामका अगाडि
निहुरिन्छ ।
मकैका घोगा
धानका बाला
लिचिका झुप्पाको
आमनेसामने हुँदा
उँचो हुन्छ ।
अँगेनाको फिलुङ्गो
हातैले समातेर
चुल्होमा सार्छ
सुर्ती सल्काउँछ
आगो त हत्केलामा खेलाउँछ
जादू गरेको हैन
आगोले गाउँलेलाई चिनेको छ
गाउँलेले आगोलाई बुझेको छ ।।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
