मुक्तक
बाँच्ने रहर छ अझै धेरै तिम्रो सहारा बनेर !
नआवोस कोह िबाधा अड्चन तगारा बनेर !!
भोलिका दिन यसरी नै बिताउन संसारमा !!!
देखाउन पाउँ म नमुना चम्किला तारा बनेर !!!!
तारा घिमिरे , संखुवासभा खाँदबारी– ३
मुक्तक
सुन्दर फूल नि झरेर जान्छ
समय रोकिन्न सरेर जान्छ
रूपको घमण्ड गर्दछौं किन ?
नश्वर शरीर मरेर जान्छ
केशवप्रसाद ढकाल ‘प्रीतबिज’, गोरखा
मुक्तक
सुनले शृङ्गृत महलकी रानी बनाउँछु
हामी दुई एक हुनुको कहानी बनाउँछु
पीर चिन्ता नलेऊ म ज्यूँदो रहुन्जेल
सबैले आहा भन्ने जिन्दगानी बनाउँछु
बासु सापकोटा, दोलखा
मुक्तक
युवाहरु मिली अब देश बनाउनु पर्छ
आफ्नै भाषा अनि आफ्नै भेष बनाउनु पर्छ
आज हेर आफ्ना हराए अरुका भराए
हाम्रो देश सबैभन्दा बेस बनाउनु पर्छ ।।
बिन्दु पौडेल, दाङ
मुक्तक
घरको अवस्था ज्यादै नै नाजुक देख्दा देख्दै
अनि आफन्तका मनका नुनचुक देख्दा देख्दै
म कसरी खाडीमा रगत नबगाउँ भनिदिनुस्
बाको सिरानीमा साहुको तमसुक देख्दा देख्दै ।
लक्ष्मी स्मृति, विराटनगर–५
मुक्तक
झसङ्ग ब्युँझ्यो र करायो मान्छे
तर्सियो ऊ आफैँ र डरायो मान्छे
गर्ने नगर्ने काम गरेर देशलाई
मुर्झायो चिच्यायो र हरायो मान्छे ।
तिला लेकाली, बेलबारी, मोरङ ।
मुक्तक
रक्षानमा पुर्याउन सक्छ जनलहरले
खरानी बनाउन सक्छ जनसागरले
एउटै ड्याङ्गको मूलाहरु फुर्ती नगर
लडाइँ गर्दैछौ संबैधानिक अक्षरले !!
वैद्यनाथ ठाकुर, वीरगन्ज
मुक्तक
मझधारमा फसेको नाउ
न वार हुन्छ न पार हुन्छ
टुट्दै जोडिँदै गरेपछि
जिन्दगीको के सार हुन्छ
फूलहरु पनि मतलबी हुन्छन्
आजकल बगैंचामा
शीतका थोपाहरुलाई
काँडा कहाँ आधार हुन्छ ।
गिरिराज डल्लाकोटी
मुक्तक
कसैको मन जित्न यति गाह्रो हुन्छ किन ?
उसकै छायाँ मात्रै पनि प्यारो हुन्छ किन ?
लुटिएका खुसीहरूले आफैँ गिज्याउँदा
सपनामा मात्रै घर उज्यालो हुन्छ किन ?
ज्ञानु घिमिरे, काठमाडौं
मुक्तक
दोष जति अर्कालाई मात्र खनाउँछौ तिमी
भ्रम फिँजाई जनतालाई मूर्ख बनाउँछौ तिमी
नमस्कार हजुर भन्दै भोट माग्न नआउ गाउँमा
भ्रष्टाचारको राजनीतिले परै गनाउँछौ तिमी
गजेन्द्र दाहाल, खोटाङ
मुक्तक
अर्काको प्रगति देखेर जल्ने हरूलाई
नुनै नखाए झैं गरी दिनहुँ गल्ने हरूलाई
आश्चर्य लाग्छ मलाई त के भनु र खै बरै
अरूले फेँदै नकाटी आफै ढल्ने हरूलाई ।
शुचिता काफ्ले, काठमाडौं
मुक्तक
बिसौनीमा मलाई देखी फर्केर गयौ
परचक्री जस्तै ठानी आफैँ तर्केर गयौ
लाखौँमा एक छ भन्ने लाग्थ्यो मलाई
मीठो बोली बोल्दा पनि झर्केर गयो।

सिर्जना खनाल, भैरहवा, रुपन्देही
मुक्तक
तल थियो धेरै सर्वहाराको भाषण दियो
माथि उक्लिए पछि सारा संसार बिर्सियो
नेता र जादुगर उस्तै उस्तै हुँदा रहेछन्
जहिल्यै जुँगा मुसार्यो र मञ्चमा उक्लियो
कवि काफ्ले
मुक्तक
थाहै छैन केके हुन्छ मेरो देशमा
नकाव धारी छन् साधुको भेषमा
आफ्नैले भाला रोपिदिन्छ यहाँ
कसरी बाँचौं म यस्तो परिवेशमा ।

बिमला अधिकारी देवकोटा, चितवन, भरतपुर–१२
मुक्तक
रङ्गीचङ्गी फूलको माला एकतामा उन्ने गरौँ
सकारात्मक सोचहरु मनमनै गुन्ने गरौँ ।
जल्छ मन पोल्छ छाती,लहै लहै तातो रापले
त्यसैले त, सही कुरा ध्यानपूर्वक सुन्ने गरौँ ।।

सुन्दरी घिमिरे खतिवडा, खाँदबारी–७ संखुवासभा
मुक्तक
हाम्रो फूलबारी फाँड्दै नहिँड।
उचाली मान्छे भाँड्दै नहिँड।
रगत माग्ने कुनै देश हुँदैन,
सहिदको प्रमाण बाँड्दै नहिँड।।
जेके तिम्सिना, झापा ।
संयोजन : गंगा दाहाल
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य












