काठमाडौँ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले गीति एल्बम ल्याउने भएको छ । दुई वर्षअघि मदन भण्डारीको जन्मोत्सवमा आह्वान गरिएको राष्ट्रव्यापी गीत उत्सवबाट प्राप्त गीतमध्ये उत्कृष्ट १० लाई समेटेर प्रतिष्ठानले एल्बम निकाल्न लागेको हो ।
गीतकार श्याम तमोट, सङ्गीतकार शक्ति बल्लभ र गायिका मधु गुरुङ रहेको तीन सदस्यीय छनौट समितिले उत्सवका लागि प्राप्त ९० भन्दा बढी गीतमध्येबाट गणेश रसिक, डा. कमल थापा, गोपाल दाहाल, रवीन्द्र बुढाथोकी, रमेश शुभेच्छु, जितेन्द्र खाती, देवेन्द्र अर्याल ‘आँसु’, अंशुला कार्की, तुलाधर विश्वकर्मा र सौरभ सुनारका गीत चयन भएका छन् ।
ती छनौट गरिएका गीतहरूमा सङ्गीतकार प्राज्ञ अशोक राईको सङ्गीत संयोजन गर्नुभएको छ । गीतहरूमा विभिन्न गायक गायिकाको स्वर रहने सङ्गीतका प्राज्ञ राईले बताउनु भयो ।
प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाले मदन भण्डारीको जन्मदिन असार १४ को अवसरमा गीति एल्बम सार्वजनिक गरिने योजना रहेको बताए ।
अध्यक्ष डा. सुब्बाका अनुसार यसका साथै ख्यातिप्राप्त सर्जकहरूका १० ओटा राष्ट्र र राष्ट्रियतासम्बन्धी गीतहरूको पनि एल्बम निकाल्ने तयारी भइरहेको छ । त्यो एल्बम पनि असार १४ गते नै सार्वजनिक हुने छ ।
प्राज्ञ अशोक राई, जसले प्रतिष्ठानले ल्याउने एल्बमको संगीति भर्दैछन्
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य

