काठमाडौं । आज बस्ने तय भएको नेकपा केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको थियो ।
तर गृहकार्य गर्नुपर्ने भएको भन्दै आजको बैठक स्थगित गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज स्थायी कमिटीको बैठक नबस्ने जानकारी दिनुभयो । ‘आज बैठक नबस्ने भयो, एक-दुई दिनपछि बस्छ,’ थापाले भन्नुभयो ।
बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो ।
बुधबारको बैठकपछि नेताहरुले बिहीबार पनि बैठक बस्ने जानकारी दिएका थिए ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
