• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

गुदपाक र पुस्टकारीको नेपाली रेसिपी पुनर्जीवित गर्दै माक्कुसे


  • खुला नेपाल
  • शुक्रबार, फाल्गुन २१, २०७७
  • 14.3K
    SHARES

काठमाडौं । आधुनिक स्वादमा परम्परागत नेपाली रेसिपी पुनर्जीवित गर्ने उद्देश्यले नयाँ नेपाली डेसर्ट ब्राण्ड माक्कुसे बजारमा आएको छ। नेवारी भाषामा माक्कुसेको वर्णन नै गर्न नसकिने अत्यन्तै मीठो भन्ने हुन्छ।

माक्कुसे ब्राण्डबाट हाल परम्परागत पुष्टकारी, गुलाबजल र पिस्तासहितको गुदपाक, मोका (कफी मिश्रित) गुदपाक, चकलेट र गुदपाकबाट बनेको कुकिज, ओटमिल र पम्किन सिडबाट बनेको कुकिज उपलब्ध छन्।

माक्कुसेका उत्पादनहरू परम्परागत नेपाली डेसर्टबाट प्रेरित छन् । उत्पादनहरू दूधको खुवा प्रयोग गरी बनाइएको छ । पहिलेको स्वाद र नयाँ तरिकाको बनावट रहेका यी उत्पादनहरूले पुराना र नयाँ स्वादलाई सन्तुलन गर्ने बताइएको छ ।

‘गुदपाक, पुष्टकारी मीठो स्वादका लागि मात्रै होइन, पोषण पनि उत्तिकै महत्त्व बोकेको छ । हामीले यसको ठेट स्वादलाई कायम गरी आधुनिक तरिकाबाट प्रस्तुत गर्न खोजेका छौँ,’ माक्कुसेका सीईओ तथा सह–संस्थापक अनुस्का श्रेष्ठ भन्नुहुन्छ, ‘हाम्रो उत्पादनहरु विगतको दायराबाट नवीन र उत्साहजनक भविष्यतर्फ लम्किएको छ।’

गुदपाकजस्तो ठेट नेपाली डेसर्ट पछिल्लो समय लोप हुँदै गइरहेको अवस्थामा कच्चा पदार्थको गुणस्तर र स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै गुणस्तरीय उत्पादनमा जोड दिएको अनुस्काको भनाइ छ । काभ्रेबाट दैनिक ताजा खुवा ल्याएर माक्कुसेको उत्पादन तयार गरिने बताइएको छ ।

मिस वर्ल्ड नेपाल २०१९ को विजेतासमेत रहेकी अनुस्का मिस वल्र्डमा सहभागी भएर फर्केपछि विश्वमाझ नेपाललाई चिनाउने भोक आफूमा जागेको र सोही चाहनालाई पछ्याउँदै माक्कुसेको स्थापना गरेको बताउँछिन्। हाल माक्कुसेलाई अनुस्काले नै नेतृत्व गरिरहनु भएको छ ।

अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनपछि नेपाल फर्केर व्यवसायमा लागेकी अनुस्का विदेशमा आर्जन गरेको सीप र ज्ञान स्वदेशमा सदुपयोग गर्नुपर्नेमा विश्वास राखेको बताउनुहुन्छ ।

परम्परागत डेसर्टलाई बजारमा ल्याएर व्यवसायमा जम्न सजिलो थिएन, झन् माक्कुसे सुरु गर्नै लाग्दा कोभिड–१९ का कारण समय जटिल पनि बन्यो । यो चुनौतीलाई सामना गर्दै विभिन्न क्षेत्रमा सफल युवा तथा महिला उद्यमीहरूको समूहले पोषण तथा सरसफाइ ध्यानमा राखेर गुणस्तरीय उत्पादन गर्न सफल भएको छ ।

‘जब हामी कुनै खास देशको मिठाइहरू सोच्दछौं त अनकौं तस्बिर दिमागमा आउँदछ । नेपाली मिठाईका बारेमा सोच्दा तपाईको दिमागमा कस्तो चित्र आउँछ ?’ अनुस्का भन्नृुहुन्छ, ‘हामी विश्वास गर्दछौं कि माक्कुसे यसको जवाफ हुन सक्छ ।’

माक्कुसे, नेपाली डेर्जट ब्राण्ड नेपालमा मात्र नभई विश्वमै नेपालको मिठाईको अद्वितीय पहिचान बनाउन सफल हुने बिश्वास माक्कुसे टिमको छ।

माक्कुसेको सामाजिक संजाल र लोकप्रिय नेपाली ईकमर्स ग्यापु मार्केटप्लेसको मोबाइल एप तथा वेबसाईट (gyapu.com) मा अर्डर गरी माक्कुसे नेपालभर डेलिभरी मगाउन सकिन्छ।

ग्यापुमार्फत नै बिदेशमा रहेका व्यक्तिले सोही देशको डेबिट/क्रेडिट कार्ड प्रयोग गरेर नेपालमा रहेका आफन्तलाई माक्कुसेका उत्पादन उपहार पठाउने ब्यवस्थासमेत मिलाइएको छ ।

प्रतिक्रिया