• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द


  • खुला नेपाल
  • आइतवार, फाल्गुन २३, २०७७
  • 11.4K
    SHARES

फाइल तस्वीर

चितवन । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि एक हप्ता दिउँसो बन्द गरिने भएको छ ।

आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ ।

सडकखण्डमा बिहान १०:३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इञ्जिनीयर सविना रानाभाट जानकारी दिनुभयो । उहाँले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताउनुभयो ।

गत असार पहिलो हप्ता पहिराले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिनुभयो । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ ।

सो अवधिमा नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने छ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ ।

वैकल्पिक सडक प्रयोग गर्न नमिल्नेहरुले धैर्यधारण गरी लेन अनुशासन पालना गरी ट्राफिक प्रहरी र कर्मचारीको अनुशासन पालन गर्न भनिएको छ ।

प्रतिक्रिया