काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि महिलाहरुको समान सहभागिता जरुरी रहेको बताउनु भएको छ । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले महिलाहरुको समान सहभागितालाई जोड दिनु भएको हो ।
‘नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको छ । ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ, ‘देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरुको समान सहभागिता अत्यन्त जरुरी छ।’
उहाँले लैङ्गिक समानता र महिला विकासका लागि राज्यको तर्फबाट भएका नीतिगत, कानुनी, संरचनागत एवम् प्रक्रियागत सुधारको फलस्वरुप राजनीति र प्रशासनको क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व उल्लेखनीय रुपमा बृद्धि भएको बताउनु भएको छ । ‘शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सूचकहरुमा पनि सकारात्मक सुधार भएका छन्,’ प्रधानमन्त्रीले भन्नु भएको छ, ‘नेपालको लैङ्गिक विकास सूचकांकमा भएको सुधारबाट पनि यस क्षेत्रमा नेपाल सरकारले गरेको लगानी र थालेको प्रयासले राम्रो प्रतिफल दिएको मान्न सकिन्छ।’
सरकारको प्रयास गरिरहे पनि समाजको न्युन चेतनाका कारण समाजमा महिलामाथि हुने उत्पीडिनहरु कायमै रहेको प्रधानमन्त्री ओलीले बताउनु भएको छ । त्यसलाई निमिट्यान्न पार्न सामाजिक जागरुकता आवश्यकता पर्ने उहाँले उल्लेख गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले विभिन्न प्रकार र स्वरुपका लैङ्गिक विभेद तथा हिंसाका घटनाहरुलाई जरैदेखि निर्मूल गर्न सरकारले शून्य सहनशीलताको नीति लिई अपराधीलाई कडा कारवाही र पीडितलाई उचित क्षतिपूर्ति समेतको कानुनी व्यवस्था गर्दै नैतिक शिक्षा र सचेतनाका कार्यक्रमहरु निरन्तर गरिरहेको बताउनुभएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
