काठमाडौं । नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) र सरकारबीच आज पनि वार्ता हुँदै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे वार्ता हुने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । आजको वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा आज कार्यदलस्तरमा निर्णायक छलफल गर्ने भनिएको थियो ।
बिहीबार जसपाको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार सत्ता साझेदारका लागि छलफल अगाडि बढाएको हो। जसपा नेता कर्णका अनुसार प्रधानमन्त्री ओलीले जसपाले राखेका मागहरुमा सरकार सकारात्मक भएको बताएका थिए । सोही आधारमा शुक्रबारको वार्ता टुंगोमा पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई वार्ता टोली बनाएको छ । त्यस्तै‚ एमालेले पनि नेता नेम्बाङ, अर्थमन्त्री पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई सदस्य रहेको कार्यदल गठन गरेको छ ।
जसपाले निलम्वित सांसद टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सर्त राख्दै आएको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीमा छलफल नै नगरी सरकारसँग वार्ता गर्न कार्यदल गठन गरेपछि कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई असन्तुष्ट हुनुहुन्छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
