• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

यौनजन्य, हिंसा, हत्या र बलात्कारजस्ता जघन्य अपराधीलाई कारबाहीमा ल्याउन दबाब


  • खुला नेपाल
  • शुक्रबार, फाल्गुन २८, २०७७
  • 8.7K
    SHARES

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च) को अवसर पारेर अखिल नेपाल महिला सङ्घले शनिबार राजधानीमा वृहत राष्ट्रिय महिला भेला गर्ने भएको छ । भेलामा दश हजारभन्दा बढी महिलाको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) द्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसमा सङ्घले ‘संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौं’ भन्ने नारासहित उक्त भेला गरिने जानकारी गराएको हो ।

कार्यक्रममा सङ्घका संयोजक सीता पौडेलले नेपाली महिलाको हरेक क्षेत्रमा ३३ प्रतिशतको सहभागिताको ग्यारेन्टीको माग राजनीतिक रुपमा सफल देखिनु नीतिमै तोकिएकै कारण भएको भन्दै अन्य क्षेत्रमा पनि त्यस अवधारणा लागू हुनुपर्ने मागलाई भेलाले वृहत रुपमा उठाउनेछ जानकारी दिनु भयो ।

लैङ्गिक समानताको माग गरिरहँदा राजनीतिक क्षेत्रमा मात्र होइन, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पनि महिलाको सार्थक सहभागिता हुनुपर्ने आवश्यकतालाई व्यवहारमा लागू गर्न भेलामा सहभागी महिलालाई प्रशिक्षत गर्ने लक्ष्यले रहेको उहाँले बताउनु भयो ।

त्यसैगरी अभिव्यक्ति स्वतन्त्रताको नाममा व्यक्तिगत आक्षेप लगाउने क्रम बढेकोले आगामी दिनमा कसैले पनि त्यस्तो अभिव्यक्ति नदिने वातावरण बनाउन सामूहिक आवाज उठाइने संयोजक पौडेलले बताउनुभयो ।

कार्यक्रममा अनेम सङ्घका सचिव सुजिता शाक्यले आर्थिक, राजनीतिक, सामाजिकलगायत सबै क्षेत्रमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चिता हुनुपर्ने र महिला र बालबालिकामाथि हुने यौनजन्य हत्या, हिंसा र बलात्कारजन्य जघन्य अपराधको अन्त्यका लागि सरकारसँग विशेष कार्यदल बनाई अनुसन्धानसहित तत्काल अपराधीलाई कडा कारबाहीको दायरामा ल्याउन माग गर्ने कार्ययोजना रहेको बताउनुभयो ।

अनेम सङ्घका केन्द्रीय सदस्य एवं प्रचारप्रसार संयोजक शर्मिला कार्कीले अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सङ्घले साताव्यापी सन्देशमूलक कार्यक्रम गरिरहेको जानकारी दिँदै आगामी निर्वाचनमा अझै बढी महिलालाई राजनीतिक सहभागीका लागि ऊर्जा प्रदान गर्ने प्रयास स्वरुप भेलाको आयोजना गरिएको बताउनुभयो ।

जनसङ्ख्याको हिसाबमा पनि महिलाको सहभागिता हरेक क्षेत्रमा बढ्दै जानुपर्ने परिपे्रक्ष्यमा नीति निर्माणको तहमा पुग्ने बाटो राजनीतिक पाटो पनि महिलाका लागि महत्वपूर्ण कडी रहेकोले सङ्घले राजनीतिक सहभागितालाई प्रेरित गर्दै जाने कार्कीले बताउनुभयो ।

सो सङ्घले अन्तर्राष्ट्रिय नारी दिवस वि.स. २०३७ सालदेखि विविध कार्यक्रमको आयोजना गरी प्रत्येक वर्ष मनाउँदै आएको छ । नेपाल सरकारले पनि यस दिवसलाई महत्वका साथ मनाउँदै आएको छ ।

प्रतिक्रिया