काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बुधबारको बैठकले संसदीय बोर्ड गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी संसदीय दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो ।
सो बोर्डको प्रमुखमा दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली रहनु भएको छ । बोर्डको सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ रहने निर्णय भएको हो ।
त्यस्तै अन्य सदस्यहरुमा शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल र विमला विकलाई मनोनीत गरिएको छ ।
दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक बोर्डको पदेन सदस्य रहने व्यवस्था रहेको सांसद खेम लोहनीले खुलानेपाललाई जानकारी दिनु भयो ।
सांसद लोहनीका अनुसार अन्य सदस्यहरुमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनि राना, मोहन बानियाँ र राजेन्द्र राई पनि सदस्य रहनु भएको छ ।
आज जारी बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल नै गठन गरिने भएको छ ।
सांसदले अनुशासन उल्लंघन गर्दा कारबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले बोर्ड गठन गरेको हो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
