काठमाडौँ । सरकारले नेपाल टेलिकमलाई फाइभजी सेवाको परीक्षण गर्न नि : शुल्क फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको छ ।
रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको हालैको बैठकले सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई फाइभजी सेवाको परीक्षण गर्न फ्रिक्वेन्सी दस्तुर पूर्ण छुट दिने निर्णय गरेको छ ।
सो निर्णयअनुसार नेपाल टेलिकमले आफूले गर्ने फाइभजी नेटवर्कको परीक्षणमा प्रयोग हुने फ्रिक्वेन्सीको लागि सरकारलाई कुनै पनि किसिमको दस्तुर वा राजश्व तिर्नु पर्ने छैन ।
यस बापतमा भने कम्पनीले आफ्नो फाइभजी सेवा नि:शुल्क उपलब्ध गराउनु पर्नेछ ।
समितिले नेपाल टेलिकमले गर्ने फाइभजी सेवाको परीक्षण अवधिभर सेवाग्राहीहरुसँग कुनै शुल्क लिन नपाउने समेत निर्णय गरेको छ ।
यसको अर्थ फाइभजी सेवाको परीक्षण भएको समयअवधिभर नेपाल टेलिकमका ग्राहकहरुले नि:शुल्करुपमा फाइभजी सेवा प्रयोग गर्न पाउने भएका छन् ।
नेपाल टेलिकमले फाइभजी सेवाको परीक्षणको लागि प्रयोग गर्ने फ्रिक्वेन्सी भने नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराउनु पर्नेछ । यस्तो फ्रिक्वेन्सी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड र मूल्य सम्बन्धी) नीति २०७३ अनुसार उपलब्ध गराउनुपर्ने समितिले निर्णय गरेर प्राधिकरणलाई निर्देशन दिएको छ ।
तर नेपाल टेलिकमले फाइभजी सेवाको परीक्षण गर्दा परीक्षण अवधि केवल १ वर्षसम्म मात्र हुने समितिले निर्णय गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले समितिको निर्णयसहितको निर्देशन आएको भन्दै त्यसमा प्राधिकरणले थप छलफल गर्ने बताए ।
‘हामीलाई समितिले गरेका निर्णयहरुसहितको निर्देशन मन्त्रालयबाट आएको छ । फाइभजीको परीक्षणको बारेमा समेत निर्णय भएको छ । त्यस विषय प्राधिकरणले बोर्डबाट छलफल गरेर टेलिकमलाई निर्देशन दिनेछ,’ उनले भने ।
प्राधिकरणले समितिको निर्णयको आधारमा फाइभजी सेवाको बारेमा अन्य मापदण्डहरु तोक्नुपर्ने हुँदा त्यसपछि मात्र फाइभजी परीक्षणको कार्य अगाडि बढ्नसक्ने उनको भनाई छ ।
यसअघि प्राधिकरणले समितिमा फाइभजी सेवाको लागि उपलब्ध हुनसक्ने फ्रिक्वेन्सीसहितको नेपालमा उपलब्ध र प्रयोग हुने सबै फ्रिक्वेन्सीहरुको बारेमा जानकारीसहित सिफारिस गरेको थियो । त्यस बारेमा भने थप अध्ययन गरेर मात्र समितिले निर्णय गर्ने भएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
