• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

यसरी त हुँदैन, बा !


  • कुसुम ज्ञवाली
  • शनिबार, चैत्र १४, २०७७
  • 29.7K
    SHARES

वेपत्ता सिमाको पिलर संगै
रातारात सीमा काटेर हराएको थियो
बा को आधाजसो खेतको नागरिकता

हेरौला! के गरिखान्छ बुधन थारुले?
वारीकै आफन्तले मच्चाएका थिए कुहिना
कलेटी ओठले छोपेर दाँत किट्दै
नयाँ सीमास्तम्भ नेर उभिएर
बा एक साथ हेरिरहन्थे
आफ्नै नामको सग्लो लालपूर्जा
र लुटिएको पुर्ख्यौली जमिन।
माया मारेर ज्यानकै
पारीका बन्दुकैनेर
विरामी बा बाघ झै गर्जेका थिए
अन्यायका बिरुद्दमा
समानता र स्वाभिमानका खातिर
बस्,
बा को ‘गल्ती’ यत्ति थियो।

बा ले तानेर बिवशताका ठेलागाडा
जेठालाई पढाएका थिए कृषी
हात परेपछि पनि ठुलै साठीपिकेट
टारीखेत कमाउन सकेनन् दाईले
मल हाल्न सकेनन्
गोरु-हली जोड्न सकेनन्
खेत जोत्न जानेनन्
बिऊको जोहो मिलाउन सकेनन्
त्यसपछि
हलो, जुवा र अनौ त्यागेर
भ्रमखेति गर्न दाई झरेका थिए सहर
अहिले जोतिरहेका छन्
क्रान्तिका उत्तरआधुनिक गफ!
र अझै उल्टै सिकाउछन् बुढा बालाई
के गरेको यस्तो
यसरी त हुदैन, बा!

बा ले बोकेर मरणान्त गरीवीको ढाकर
माईलीलाई पढाएका थिए ब्यबस्थापन
हात परेपछि पनि ठुलै साठीपिकेट
तारतम्य मिलाउन सकिनन् दिदीले
बिबाद निफन्न सकिनन्
साधन स्रोत जोड्न सकिनन्
हाक्न सकिनन् नेतृत्व
निकाल्न सकिनन् परिणाम
त्यसपछि
जिम्मेवारी, योजना र आशा त्यागेर
सुद्द दलाली गर्न दिदी झरेकी थिईन सहर
अहिले हाकिरहेकी छन्
खुसहालीका छलिमारा गफ!
र अझै उल्टै सिकाउछिन् बुढा बालाई
के गरेको यस्तो
यसरी त हुदैन, बा!

बा ले तोक्मा लगाएर अभावको बोझमा
कान्छीलाई पढाएका थिए प्रविधी
हात परेपछि पनि ठुलै साठीपिकेट
ईमानको अनिकाल थेग्न सकिनन् कान्छीले
तथ्याङ्क सम्हाल्न सकिनन्
नेटवर्क जोड्न सकिनन्
उत्पादन बढाउन जानिनन्
जीवनज्योति बनाउन सकिनन् सुचना
त्यसपछि
ईडियम्, कम्प्युटर र ल्याव त्यागेर
जग्गा दलाली गर्न झरेकी थिईन् सहर
अहिले जोतिरहेकी छन्
पौराणिक बिभेदको आयातित गफ!
र अझै उल्टै सिकाउछिन् बुढा बालाई
के गरेको यस्तो
यसरी त हुदैन, बा!

हामीले हाम्रा बालाई बा भन्दा
बा होईन बुधन थारु भन्न सिकाउन
टाई लगाउने काकाले
आधुनिकताको तालिम दिनुभो
खाजा भत्ता दिनुभो
देश देखाउन घुमाउन लैजानु भो
हामी सहर नपसेका पटक्कै सुध्रेनौ
काकाले हामीलाई हनुमान भन्नु भो
हामीले बादर भनेको अपमान बुझेनौ
हामीले महावली देवता भनेको
सम्मान बुझ्यौ

हामीले धेरै देखे पनि ‘मेरा बा’ भन्छौ
विभत्स देखे पनि ‘मेरा बा’ भन्छौ
अफ्ठेरो देखे ‘मेरा बा’ भन्छौ
कहिलै भन्न आएन बुधन थारु
बाले हामीलाई नामले भनेनन्
मलाई कान्छो भने
दिदीलाई माईली भने
दाईलाई ठुले भने
आमालाई हेटौडे भने
हामी त्यसैमा गहिरो माया सुन्यौ
हामीले गहिरो स्नेह सुन्यौ

हाम्रा सपनाहरु थिए
बाका कुनै थप सपना थिएनन्
बस् हाम्रा सपनाको छाया
बाका सपना थिए
हाम्रा योजना थिए
बाका आफ्नै कुनै योजना थिएनन्
बस् हाम्रा योजनाको छाया
बाका योजना थिए
यसो भन्दा आमा
आगनमा मुख छोपेर हास्नुहुन्थ्यो
बस् बाको अजेय-खुसी त्यतिमा फक्रन्थ्यो।

बा ले हाम्रा साठिपिकेट हेरेर
आफू स्कुल जान नपाएको
बेदना भुलेर मुस्कुराउँछन्
बाले हाम्रा उन्नति हेरेर
छिमेकी-हेपाई जित्ने सक्ति सन्चय गर्छन्
बा तिर्थ गर्न पनि पराईको ढोका जादैनन्
बाको लडाई
छिमेकको हेपाईको बिरुद्द छ
आफ्नो जमीन अतिक्रमण बिरुद्द छ
पूर्ख्यौली दासताको बिरुद्द छ
तर बालाई धोका दिएर हिडेकाहरु
ढाडमा छुरा रोपेर भागेकाहरु
अझै उल्टै निर्लज्ज भन्दैछन्
के गरेको यस्तो
यसरी त हुदैन, बा!

हाल : क्यानडा

प्रतिक्रिया