• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

आत्मसम्मान गिराउने ती होली

केही वर्षअघिदेखि होली धेरै हदसम्म सुध्रिदै आएको देखिन्छ । पहिले जस्तो अहिलेका युवतीहरुले होलीको नाममा महिनादिन अघिबाट अपमानजन्य व्यवहार सहनुपर्ने अवस्था छैन ।


  • उषा थपलिया
  • आइतवार, चैत्र १५, २०७७
  • 15.3K
    SHARES

पहाडमा जन्मेहुर्केकोले गाउँमा छईन्जेल होलीको उल्लासले खासै छोएन । तराईमा बाल्यकाल गुजारेर विहेपश्चात गाउँ भित्रिनुभएकी एक भाउजुले फागु पुर्णिमाको दिन होली भन्दै अविर लगाईदिने उपक्रम चाँही चल्थ्यो हरेक वर्ष । त्यसैको आधारमा फागुपुर्णे र अविरबीचको साईनोसम्म खुट्याउँन सक्ने भएका थियौं हामी । विशेष परिस्थितिका कारण माध्यमिक शिक्षाकालागि ८ कक्षादेखि काठमाडौं आएर कान्ति इश्वरी माध्यमिक विद्यालयमा भर्ना भईयो । छात्रामात्र पढ्ने भएकाले स्कुलभित्रका सवै परिवेश र अनुभुति नौला थिए । त्योभन्दा पनि नौलो होलीको दौरान झेल्नुपर्ने लोला हुने गर्दथ्यो । स्कुल पोशाकका केटीहरुलाई एक महिना अघिदेखि ताकीताकी घरका छतबाट लोला प्रहार हुन्थे । लोलाको पानी उस्तै कालो मैलो । सडकगल्लीका कुन घरबाट लोला आएको हो, त्यसको भेउ नै नपाईने । उजुर–बाजुर त झन् टाढाको कुरा भैहाले । लोला शरिरमा बज्रिएर यताउता हेरिन्जेल प्रहारवाला घरभित्र अलप भईसक्थ्यो । रिसको पारा जति माथि चढेपनि चुपचाप सहेर हिड्नृको विकल्प थिएन । पुर्णिमाभन्दा दुईसाता अघिदेखि त लोला आतंक नै छाउने गर्दथ्यो । जोगिने मौकै नपाईने । एक साताअघि बसन्तपुरमा फागुपुर्णेको चीर गाढेपछि त छानीछानी केटीहरुलाई लोला हान्ने आधिकारीक प्रतियोगिता सुरु भएसरह नै भईदिन्थ्यो वेकामे केटाहरुकालागि । स्कुलदेखि निवाससम्म पुग्दा मैला पानीले नभिजेको दिनै नहुने । छात्राहरुको त्यही अप्ठेरो वुझेर होलीमा एकसाता विद्यालय बन्द हुने गर्दथ्यो । चालु गरिएपनि छात्राहरु स्कुल नआउने भएकाले विदा नदिई विद्यालयलाई सुखै थिएन ।
क्याम्पस पढ्न थालेपछि होलीको विकृतरुप झन् बढी झेलियो । निवास डल्लुदेखि प्रदर्शनीमार्गस्थित ल क्याम्पस पुग्न गल्लीरहित कुनै बाटो थिएन, न त त्यो रुटमा यातायातका साधन नै संचालित थिए । खैरो पारीमा सुन्तला रङ्गको खद्दरको साडी क्याम्पसको पोशाक थियो । अधिकांश मान्छेहरु त्यो साडीलाई पद्मकन्या(पिके) क्यापम्सकै पोशाक ठान्ने गर्दथे । त्यतिबेला पिके क्याम्पस, केही छात्राहरुका फरकखाले चरित्रका कारण चर्चामा आईरहन्थ्यो, जसकाकारण क्याम्पसको पोशाकमा देखिने सबै छात्राहरुलाई युवावर्ग विश्मयको आँखाले हेर्ने, जिस्काउँने, होच्याउँने गर्दथ्यो । त्यही कारण होली सुरु हुनुभन्दा एक महिना अघिदेखि पिकेका छात्राहरुमाथि लोला वर्षिन सुरु हुन्थ्यो । मिल्दोजुल्दो साडीको रङ्गले गर्दा हामी पनि पिकेकै छात्रामा दरिन्थ्यौं । ‘ए, पिके आयो हान् हान्…….’ भन्दै छत र बरण्डाबाट लोला वर्षाएर केटाहरु घरभित्र लुक्दथे । संगै कलेज आतेजाते गर्ने म र मेरी साथी अपमान र तिरस्कार भावमा खुम्चिएर अघि बढ्दथ्यौं । कहिलेकाँही रिसले मुरमुरिदै छिँडीको ढोका ढक्ढक् गर्दथ्यौं, कराउँथ्यौं तर न ढोका खुल्थ्यो न त हाम्रो आवाज कसैले सुन्दथ्यो । झन् लाचार भएर आफ्नो बाटो नलागी सुख नहुने । लोलाबाट बच्न कलेजको साडी छोडेर अन्य पोशाकमा जाने उपक्रम सुरु हुन्थ्यो । स्कर्ट, पाईन्ट लगाएका केटीहरु पहिलो निशानामा पर्ने हुनाले कुर्ता सुरुवाल छनौटमा पर्दथ्यो । त्यो हाम्रो मात्र नभएर अधिकांश युवतीहरुको होली लक्षित पोशाक रणनीति हुने गर्दथ्यो । तर होलीको साता दिन अघिदेखि भने पोशाक जे लगाए पनि लोलाबाट छलिएर घर पुग्ने संभावना विल्कुलै नरहने ।
लोलाकै कारण छात्राहरुले एक साता कलेजबाट विमुख हुनु पर्दथ्यो जबकी छात्रहरु भने नियमित कलेज गएर अध्ययन गरिरहेका हुन्थे । महिला भएकै कारण भोग्नुपरेको विभेद, अपमान र ज्यादती सहि नसक्नु लाग्दथ्यो तर आफैभित्र ज्वाला दन्काउनु बाहेक अरु उपाय केही नहुने । कलेजसमेत जान नसकेपछि अन्य कामकालागि बाहिर जाने कुरै हुन्न्थ्यो । एकवर्षको होली अझ बढी चोटिलो भैदियो मेरालागि । होली आउन साता दशदिन बाँकी नै थियो । दाईको विहे आउनै लागेकोले त्यसैको चटारो चलिरहेको थियो । विहेसम्वन्धी एउटा जरुरी कामले बाहिर नगई नहुने भयो । शनिबारको दिन अझ बढी लोला खाईएला भन्ने पीरलोले सुरक्षात्मक उपायस्वरुप पानीले नभिज्ने ज्याकेट लगाएर बाहिर निस्केको थिएँ । लोलाहरु वर्षिरहेका थिए तर जिउमा परेको थिएन । मरु गणेशस्थान पुग्नै लाग्दा पानी भरिएको प्लाष्टिकको झोला टाउकामा बज्रियो । झोलाभरीको फोहोर पानीले टाउकोदेखि गोडा कतै ओभानो रहेन । रिस र आत्माग्लानीले त्यही ढलुँला जस्तै भयो । एकापसमा जोडिएका घरहरु, कुनचाँही घरबाट प्लाष्टिक फालियो भन्ने पनि एकिन भएन । तैपनी एउटा घरको दुई तलामाथि पुगेर कराएँ । मान्छेको नामोनिशाना थिएन । एकछिन हकारेर फर्किएँ । त्यही हालतमा कामतर्फ जाने कुरा भएन । फोहोर पानीको सिकसिकोले जिउँ भारी भएर आयो, एलर्जी स्वरुप शरीरभरी डावरहरु फैलिन थाले । आँखामा आँगोको राप र मनमा हिनभावनाले ग्रस्त हुँदै घर फर्किएँ । विदाको दिन भएकोले दाई घरमै हुनुहुन्थ्यो । छिट्टै फर्केको बारे प्रश्न आईहाल्यो । आफ्नो हालत बताएँ । मेरा कुरा सुनेर दाई हाँस्नु भयो । ‘अहिले मेरो सट्टा हुनेवाला भाउजुको यस्तो हविगत भएको भए के तपाई यसरी नै हाँस्नुहुन्थ्यो त ?’ आफ्नालागि जन्मदातालेभन्दा उच्च योगदान गर्ने र सँधै सम्मानभाव दर्शाउने दाईमाथि त्यो कटाक्ष जवरजस्त फुत्कियो । मनमा दुःख लागेपनि हाँसेरै प्रतिक्रिया जनाउने उहाँको बानीबारे म अनभिज्ञ थिईन तर त्यति मनन गर्ने विवेकसमेत मैले गुमाएको थिएँ । होलीमा केटामान्छेबाट आफुले पाएको सास्ती र त्यसमा दाईको हाँसो थपिएपछि संयम हुन नसकेको परिणाम थियो त्यो । पुरुष भएकै कारण सायद मैले त्यतिवेला दाईलाई पनि तिनै वद्मास केटाहरुकै पंक्तिमा लगेर उभ्याई दिएँ । ती दुवै रापतापले केही समय मलाई चेतनासुन्य नै बनायो । नुहाएर कोठाभित्र पसेपछि म दिनभर नै बाहिर निक्लिन ।
त्यतिवेला आफ्नो बसाई वरपरको वातावरणले पनि होलीमा थप प्रताडित बनाउँथ्यो । नेपाल टेलिभिजनका समाचारबाचक, फिल्म निर्माता एवं गीतकार स्व. गगन विरहीको डल्लुस्थित घरमा बस्दथ्यौं हामी । पोखरी र फुलैफुलको बगैचा भएको कम्पाण्ड अति नै सुरम्य थियो । सामुन्ने केहीपरको चारतले घरमा घरभेटी एकल महिला मात्र थिईन् । त्यति ठूलो घरमा भाडावाल जति सवै कलेज पढ्ने केटाहरु मात्र बस्दथे । केटाहरुको हुल छतमा जम्मा हुँदा त्यो घर, घर नभएर बोईज होस्टल झै लाग्दथ्यो । त्यसको सांकेतिक नाम हामीले बोईज होस्टल नै राखेका थियौं । कम्पाउण्डमा निस्कनासाथ तिनीहरुबाट लोलाको प्रहार आईहाल्थ्यो । हान्ने लुकिहाल्थ्यो, अरुहरु हामीले हैन भन्दै टक्टकिन्थे । हान्नेले नै मैले हैन भनेको पनि हुनसक्थ्यो, त्यत्रो हुलमा कसरी चिन्नु ? उनीहरुको यस्तो रवैयाले कम्पाउण्डमा समेत निक्लन नपाउने कैदीबन्दी जस्तै हुन्थ्यौं हामी । पसलमा किनमेल गर्ने, लुगा धुने, सुकाउने आदि सवै काम होली नसिद्धिएसम्म दाजुभाईमै भर पर्नु पर्दथ्यो । बहिनी र म भने झ्यालका रेलिङबाट बाहिरी संसार चिहाउँथ्यौं । केटीहरुमाथि त्यो अत्याचार हरेक वर्ष दोहोरिन्थ्यो तर सरकारको ध्यान त्यतातिर पटक्कै नजाने । त्यो हदको ज्यादती चुपचाप सहेर कोठाभित्र खुम्चिनुपर्दा ‘यो देशमा जन्मिने हामी छोरीहरु कति निरिह ?’ भन्ने प्रश्नमा घोत्लिदै आफैप्रति निस्पृहभाव समेत उत्पन्न हुने गर्दथ्यो । विकृति यति बढी थियो कि होलीको विदामा घर जान हिडेकी मेरी दिदीमाथि त झन् मरेको सर्प समेत फ्याँकिएको रहेछ ।
होलीको दिन आफु आफुमा रम्ने उद्देश्यले घरमा वस्ने सवैजना छतमा जम्मा हुन्थ्यौं । संगितप्रति दाईको खुवै लगाव रहने हुनाले उहाँकै अग्रसरता हारमोनियम, मादल, गितार लगायतका वाद्यसामाग्रीसाथ छतमा सांगितिक माहौल जम्दथ्यो । गाउने, नाच्ने क्रमसंगै एकआपसमा अविरको टिका लगाएर, बनेका परिकारहरु बाँडेर शालीन शैलीमा होली मनाईन्थ्यो । त्यतिवेला पनि अन्य घरका छतबाट केटीहरुलाई लक्षित गर्दै लोला आईरहेकै हुन्थ्यो । होली मनाउने क्रममा हामीले दिन खोजेको सकारात्मक सन्देशको पनि कुनै अर्थ हुन्थेन । होली सकिएपछि अन्धकार कालकोठरीबाट मुक्त भएको कैदीवन्दी झै आजाद महसुस गर्दथ्यौं हामी । भोलीपल्ट बाहिर निस्कँदा विभिन्न ठाउँमा तराईबासीहरुले होली मनाएको देखिन्थ्यो । आफ्नो समूहभित्र मात्र रंग अविर दलेर र नाचगान गरेर उल्लासपूर्ण तरिकाबाट उनीहरु रमिरहेका हुन्थे । अरु कसैलाई कुनै असर पारेका हुँदैनथे । पर्व मनाउने क्रममा उनीहरुले देखाएको सभ्य र सुसंस्कृत पारा तारिफयोग्य र मनोरञ्जक लाग्दथ्यो । तराईबासीको अनुशाषित शैलीलाई पछ्याउनुको साटो होली पर्वलाई विकृत, उच्श्रृङ्खल तथा परपिडन बनाउन राजधानीका ठिटाहरुले अपनाएको रवैया बास्तवमै घटिया र सजाँययोग्य नै हुने गर्दथे । आक्कलझुक्कल केही व्यक्तिलाई पुलिसले पक्रिएका समाचार सुनिए पनि ती सवैतिर व्याप्त ज्यादतीविरुद्ध सरकारले प्रभावकारी कदम चालेको थाहा भएन । तसर्थ फागुन महिना सुरुहुनु अगावै होलीको सम्झनाले केटीहरुमा विरक्तिभाव जगाई हाल्दथ्यो ।
केही वर्षअघिदेखि होली धेरै हदसम्म सुध्रिदै आएको देखिन्छ । पहिले जस्तो अहिलेका युवतीहरुले होलीको नाममा महिनादिन अघिबाट अपमानजन्य व्यवहार सहनुपर्ने अवस्था छैन । युवावर्ग सभ्य, सुसंस्कृत हुँदै गएको सुचकको रुपमा यसलाई लिन सकिन्छ । पुरानापुस्ताका युग नसुहाउँदा पक्षहरुलाई सुधार गर्दै जाने दायित्व बोकेका युवावर्गलाई आफै विकृति र विसंगतितर्फ लाग्ने छुट कसैगरी पनि मिल्दैन, न त कुनैपनि बहानामा समाजमा विद्वेष बढाउने, आतंक मच्चाउने र मानवीय मुल्य मान्यतामाथि प्रहार नै जायज ठहर्छ । चाडपर्वहरु त झन् आफैमा हार्दिकता, मेलमिलाप र एकात्मकता छर्ने आयामहरु हुन् । होली तराईबासीले विशेष र मौलिक पर्वको रुपमा मनाउने हुँदाहुँदै देशका अन्य भागमा समेत यस पर्वलाई आत्मसात गर्नु, मनाउनु नराम्रो होईन । यसले तराई र अन्य क्षेत्रबीच एकात्मकता अभिबृद्धि र सकारात्मक सन्देश प्रवाह गर्न मद्दत पु¥याउँछ । विगतमाभन्दा धेरै सुधार आएपनि राजधानीको होली अझै विकृतीमुक्त भैसकेको छैन । मादक पदार्थ सेवन, हुलहुज्जत, समूह–समुहवीच हुने झगडा÷कुटपीट, जवरजस्ती अरुलाई रङ्ग र पानी छ्याप्ने लगायतका विकृती अहिले पनि कायम छन्, ती सबै हट्नु जरुरी छ । अहिले कोरोनाकालको होलीमा थप सतर्कता अपनाउँँदै संयमपुर्वक घरभित्रै होली मनाऔं ।

सबैमा होलीको हार्दिक शुभकामना !

 

 

प्रतिक्रिया