काठमाडाैं । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा दुईको मृत्यु हुने गरी भएको झडपको निष्पक्ष छानबिन गर्न नेपाली काँग्रेस बागलुङले माग गरेको छ ।
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र निसिखोला गाउँपालिकाको सिमाना बल्देधुरीमा झडप हुँदा दुई जनाको मृत्यु भएको छ भने केही युवा सम्पर्क बाहिर रहेको घटनाप्रति काँग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।
आज काँग्रेसले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारवाही गर्न र घाइतेको उपचार गर्न सरकारसँग आग्रह गरेको छ । झडपपछि भिरबाट खसाल्दा निसीखोला–७ का अन्दाजी ३७ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईको मृत्यु भएको छ । मृत्यु भएका कुँवर काँग्रेस जिल्ला सदस्य र दमाई सक्रिय कार्यकर्ता हुन् ।
जिल्ला सभापति दिपेन्द्रबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा काँग्रेस जिल्ला सदस्य कुँवर र सक्रिय कार्यकर्ता दमाईमाथि सुनियोजित रुपमा साङ्घातिक हमाल गरी योजनाबद्ध रुपमा हत्या गरिएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
घटनाको विषयमा विभिन्न समाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएको भिडियो र तस्बिरले प्रमाण दिएको र सुनियोजित रुपमा अपराधिक मानसिकताबाट प्रेरित भई हत्या गरेको विज्ञप्तीमा उल्लेख छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
