• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

त्रिदेशीय क्रिकेटमा आज नेपालले मलेसियासँग खेल्दै


  • खुला नेपाल
  • सोमवार, बैशाख ६, २०७८
  • 9.1K
    SHARES

फाइल तस्वीर

काठमाडौँ – त्रिदेशीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेलमा सोमबार मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । प्रतियोगिताको उद्घाटन खेलमा शनिबार नेदरल्यान्ड्सलाई ९ विकेटको अन्तरले पराजित गरेको नेपालले मलेसियाविरुद्ध पनि जीतको शृंखला कायमै राख्ने अपेक्षा गरिएको छ । खेल त्रिवि क्रिकेट मैदानमा दुई बजेपछि शुरू हुनेछ ।

कोरोना भाइरस (कोभिड १९) महामारीबाट प्रभावित मलेसिया र नेपाली दुवै टोली १३ महिनापछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फर्किएका हुन् ।

नेपाल र मलेसियाले पछिल्लोपटक १७–२३ फागुन ०६७ मा थाइल्यान्डमा भएको एसियाली क्रिकेट काउन्सिल (एसिसी) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सँगै खेलेका थिए । उक्त प्रतियोगिताअन्तर्गत भएको भेटमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो ।

टी–२० क्रिकेटमा नेपालले मलेसियासँग समग्रमा अहिलेसम्म आठ खेल खेल्दा पछिल्लो पराजय मात्रै दोस्रो थियो । नेपालले त्यसअघि सन् २००९ को एसिसी ट्रफीअन्तर्गत भएको प्रतिस्पर्धामा ६ विकेटको पराजय व्यहोरेको थियो । त्यसबाहेकका ६ खेलको नतिजा नेपालले आफ्नो पक्षमा पारेको थियो । सोमबारको भेटअघि नेपाली टोलीलाई यो इतिहासले पनि प्रेरित गर्नेछ । त्यसमाथि शनिबार बलियो टोली नेदरल्यान्ड्सलाई ९ विकेटको भारी अन्तरले पराजित गरेकाले पनि नेपाली खेलाडीहरू उच्च मनोबलमा छन् ।

त्यसको तुलनामा मलेसियाको सुरुवात भने सुखद हुन सकेन । मलेसिया आइतबार भएको खेलमा नेदरल्यान्ड्सँग १५ रनले पराजित भएको छ । दोहोरो राउन्ड रोविन लिग प्रणालीमा प्रतिस्पर्धा हुने यो प्रतियोगिताको फाइनल पुग्न यो खेलमा दुवै टोलीलाई जितको नतिजा महत्वपूर्ण रहेको छ ।

विशेषगरी नेदरल्यानड्सविरुद्ध जस्तै नयाँ र युवा खेलाडीबाट प्रतियोगिताका बाँकी खेलमा पनि निरन्तर उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ । नेदरल्यान्ड्सविरुद्धको खेलबाटै टी–२० अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि एक सय १६ रनको साझेदारी गरेपछि नेपालले सहज जित हात पारेको थियो । अस्ट्रेलियन प्रशिक्षक देव वाटमोरको नेतृत्वमा पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भइरहेको नेपालले थप सफलता आत्मसात् गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया