• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

ओली-नेपालबीच आज पनि भेट


  • खुला नेपाल
  • बिहिबार, बैशाख ९, २०७८
  • 7.2K
    SHARES

काठमाडौँ । फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच आज पनि भेट हुने भएको छ।

बिहीबार दिउँसो २ बजेपछि होटल मेरियटमा भेट हुने माधव नेपाल पक्षमा एक सांसद एवम् केन्द्रीय सदस्यले बताए।

‘दिउँसो २ बजे पछि भेट हुने तयारी छ। आजको भेट पनि हिजोकै निरन्तरतमा हो,’ उनले भने।

हिजोको भेटमा एमाले वरिष्ठ नेता माधव नेपालले फागुन २८ गतेको निर्णय सच्याएर पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने अडान राख्नुभएको थियो भने ओलीले भने गुटगत निर्णय नमान्ने बताउनुभएको थियो।

भेटमा प्रधानमन्त्री अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपाललाई पार्टीमै आएर आफ्ना असन्तुष्टि राख्न आग्रह गर्नुभएको थियो।

नेपालसँगको भेटमा प्रधानमन्त्री ओलीले समानान्तर गतिविधि नगर्न समेत भन्नुभएको थियो।

सर्वोच्चको फैसलापछि ब्युँतिएको नेकपा एमालेमा दुई पक्षबीच पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ।

अध्यक्ष ओलीले नेपालसहितका नेताहरूलाई पार्टीबाट निलम्बन गरेका छन् भने नेपाल पक्षले समानान्तर कमिटी बनाइरहेको छ

यसअघि आजै नेपाल पक्ष नेताहरूले ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट पेस गरेका थिए।

नेता माधवकुमार नेपाल, भीम रावल र घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट पेश गर्नुभएको हो।

केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुनको समेत विपरित भएको भन्दै उनीहरू सर्वोच्च गएका हुन्।

प्रतिक्रिया